लेकसाईडमा भारतीय फुटपाथे व्यापारी, फेवाताल फुटट्रयाक पनि भरिए

लेकसाईडमा भारतीय फुटपाथे व्यापारी, फेवाताल फुटट्रयाक पनि भरिए

lakeside-footpath

पोखरा, ९ कार्तिक / लेकसाइडको गौरीघाटमा अचेल हरेक साँझ एउटा दृश्य सधैं देखिन्छ—साइकलमा फलफूल व्यापार । भारतीय नागरिकहरुको ठूलै झुन्ड लेकसाइडका सडक किनारमा साइकलमा व्यापार गर्न सक्रिय भइरहेको छ ।

नगर प्रहरी आउँदैछ भन्ने सुइँको पनि उनीहरु यति छिटो पाउँछन् कि हत्तपत्त समातिन्नन् । पोखरा महानगरपालिकाको सुरक्षा महाशाखाका प्रमुख वसन्त चालिसे भन्छन्, ‘हामीसँग एउटामात्र गाडी छ । राष्ट्र बैंकचोकमा नगर प्रहरीको गाडी देख्नासाथ लेकसाइडमा फोन पुग्छ । उनीहरु लुकिसक्छन् ।’ राष्ट्र बैंक चोकमा बस्ने उनीहरुकै साथीबाट त्यस्तो खबर पुगिसक्ने अनुमान चालिसेको छ ।

पोखरा महानगरले २०६९ सालदेखि नै फुटपाथमा व्यापार गर्न निषेध गरिसकेको छ । महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक लगायतका मुख्यचोकबाट उसैबेला फुटपाथ व्यापारी हटाइएको थियो । फुटपाथ व्यापार हटाउन सस्तो बजारको अवधारणा ल्याएर पृथ्वीचोकमै व्यवस्थापन पनि गरिएको थियो । यो भदौदेखि सस्तो बजार पनि बन्द भइसकेको छ । तर, लेकसाइडतिर भने हालैका दिनमा आएर भारतीय नागरिकको फुटपाथ व्यापार मौलाइरहेको छ ।

स्थानीयले फुटपाथ व्यापार हटाउन वडा र नगरपालिका पटकपटक गुहारिसकेका छन् । तर उनीहरुको मागको सुनुवाइ भएको छैन । पर्यटनकर्मी गणेशबहादुर थापा भन्छन्, ‘राज्यलाई कर नतिर्ने व्यापार गर्न कसैलाई पनि छुट हुनु हुँदैन, यसै पनि फुटपाथ व्यापार गर्ने होइन, बटुवा हिँड्ने ठाउँ हो ।’

पोखरा महानगरपालिका सुरक्षा महाशाखा प्रमुख चालिसे जनशक्ति अभावकै कारण फुटपाथ व्यापार पूर्ण रुपमा हटाउन कठिन भइरहेको सुनाउँछन् । उनका अनुसार महानगरमा अहिले २२ जना नगर प्रहरी छन् । ‘११ जना कार्यालयभित्रकै काममा व्यस्त हुनुपर्छ । बाँकी ११ जनाले कता कता भ्याउने खै ?’ चालिसेले भने । उनले ६४ नगर प्रहरीको माग गरेको पनि सुनाए ।

तर, प्रहरी थप्ने प्रक्रिया नै सुरु नभएको चालिसेले जानकारी दिए ।नगर प्रहरीको संख्या नथपिए फुटपाथ नियत्रण गर्न नसकिने उनले बताए । फेवाताल किनारको फुटट्याकमा पनि खुद्रा पसलेहरु टन्नै देखिन्छन् ।

  • सुरेशराज अधिकारी / Samadhan

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ