प्याराग्लाइडिङ व्यवसायीले डेढ करोड तिर्न बाँकी, नतिरे उडान बन्द गर्ने महानगरको चेतावनी

प्याराग्लाइडिङ व्यवसायीले डेढ करोड तिर्न बाँकी, नतिरे उडान बन्द गर्ने महानगरको चेतावनी

fewa-paragliding

पाेखरा, ९ कार्तिक / प्याराग्लाइडिङ व्यवसायीले ३ वर्षदेखि पोखरा लेखनाथ महानगरपालिकालाई कर बुझाएका छैनन् । व्यवसायीले महानगरपालिकालाई डेढ करोड रुपैयाँ कर वापत बुझाउन बाँकी छ । ‘३ वर्षदेखि व्यवसायीले कर तिरेका छैनन्,’ महानगरपालिका कर अधिकृत शिवहरी शर्माले भने–‘ व्यवसायीको संस्थाको नवीकरण गरिएको छैन्, रोक्का गरिएको छ ।’ उनका अनुसार ३ वर्षदेखिको १ करोड ५० लाख रुपैयाँ कर बुझाउन बाँकी छ ।  समाधान दैनिकमा खबर छ ।

पटक पटक ताकेता गर्दा पनि व्यवसायी कर तिर्न नआएको महानगरले बताएको छ । व्यवसायीले अब कर नतिरे महानगरले प्याराग्लाइडिङ उडानमै रोक लगाउने भएको छ । व्यवसायीले कर तिर्न अटेर गरेका कारण महानगर कडा रुपमा प्रस्तुत हुन लागेको हो । कर अधिकृत शर्माले व्यवसायीलाई बोलाएर छलफल गरिने र कर नतिरे उडान रोकिने बताए । ‘एक दुई दिनमा उनीहरुलाई बोलाउछौ र बस्छौ, त्यसपछि कडा कदम चाल्न बाध्य हुन्छौ ।’

पोखरा लेखनाथ महानगरपालिकाको राजस्व परामर्श समितिको बुधबार बसेको बैठकमा गम्भीरताका साथ छलफल भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिक बजेटको समीक्षा गर्दै कर नउठेका क्षेत्रमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । पहिलो चौमासिकमा कर संकलनको लक्ष्य भन्दा कम भएको निष्कर्ष निकाल्दै कर संकलनका लागि कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख एवं राजस्व परार्मश समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले प्याराग्लाइडिङ व्यवसायीसँग बक्यौता रकम उठाउने निर्णय गरेको हो । व्यवसायीले कर तिर्नुपर्छ उनले भनिन–‘लामो कर नतिर्ने कुरा त हुदैन्, अब महानगरपालिकाले कर नतिर्ने सबैसँग कडाइका साथ प्रस्तुत हुन्छ ।’

यसैबीच प्याराग्लाइडिङ उडान क्षेत्रको अवलोकन गरिएको छ । राजस्व परामर्श समितिको बैठक सकिएपछि पोखरा लेखनाथ महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङ, कार्यकारी अधिकृत दीर्घनारायण पौडेल, वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापा, महानगरपालिका लेखा अधिकृत वसन्तराज सिग्देल र कर अधिकृत शिवहरी शर्माले सहितको टोली सराङकोट पुगेर प्याराग्लाइडिङ उडान भइरहेको क्षेत्रको अवलोकन गरेको उपमेयरका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए ।

प्याराग्लाइडिङ व्यववसायीले कसरी उडान गरि रहेका छन् भन्ने विषयमा जानकारी लिने उद्देश्यले अवलोकन गरिएको महानगरका कार्यकारी अधकिृत दिर्घनारायण पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ