कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? एमाले र माओवादीले उम्मेदवार टुंग्याए

कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? एमाले र माओवादीले उम्मेदवार टुंग्याए

party

पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ ।

नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजीत बनेका थिए भने २०७० मा एमालेका उम्मेदवार मान बहादुर जिसीलाई पराजीत गरेका थिए ।

प्रदेशतर्फ (क) मा तिलक रानाभाट र (ख) मा जिल्ला सभापति कृष्ण केसी उम्मेदवार बनेका छन् । बाँकी उम्मेदवार बुधबारसम्म टुंगिने काँग्रेस श्रोत बताउँछ । श्रोतका अनुसार २ नम्बर क्षेत्रमा प्रतिनिधीसभाका लागि देवराज चालिसे वा सोभियत बहादुर अधिकारीमध्ये एकजना उम्मेदवार बन्नेछन् भने ३ नम्बरमा शुक्रराज शर्मा वा शारदा पौडेल उम्मेदवार बन्नेछन् । चालिसे र शर्मा उम्मेदवार बन्ने लगभग अन्तिम अवस्थामा पुगेको श्रोतको भनाई छ ।

प्रदेशतर्फ २(क) मा रंगिला आचार्य, (ख) मा नरेशशंकर पालिखे वा विन्दुकुमार थापा, ३ नम्बर क्षेत्रको (क) मा रामचन्द्र त्रिपाठी र (ख) मा मनोज गुरुङ उम्मेदवार बन्ने लगभग निश्चित छ । साना दलहरु पनि उम्मेदवार टुंग्याउने र गठवन्धनमा सघाउने तयारी गरिरहेका छन् ।

मनोनयन दर्ता गर्ने समय एकदिन मात्रै बाँकी छँदा वाम गठबन्धनले लगभग उम्मेदवार टुंग्याईसकेको छ भने काँग्रेसले १ नम्बर क्षेत्रमा मात्रै उम्मेदवार टुंगो लगाएको छ ।

लामो समयको छलफल र बैठकपछि कास्कीमा वाम गठबन्धनले ९ मध्ये ८ उम्मेदवार टुंग्याएका छन् । प्रतिनिधीसभाका ३ सहित ६ सीट पाएको एमालेले क्षेत्र नम्बर १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ नम्बर क्षेत्रमा जगत विश्वकर्मालाई टिकट दिएको छ । दुई अधिकारी जिल्लाबाटै सर्वसम्मत सीफारिस भएका थिए । विश्वकर्माको क्षेत्रमा भने भोटिङ मार्फत ३ जनाको नाम सिफारिस भएको थियो । जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम केन्द्रमा पुगेपनि सुरुदेखि नै जगतलाई अघि सारिएको एमाले श्रोतको दावी छ ।

सर्वसम्मत सिफारिसमा परेका रवीन्द्र अधिकारी यसअघिका २ वटै संविधानसभाको चुनावमा विजयी उम्मेद्वार हुन् । २०६४ मा तत्कालीन नेकपा माओबादीका उम्मेदवार रामजी बराललाई २ हजार ८ सय १० र २०७० मा काँग्रेसका उम्मेदवार शोभियतबहादुर अधिकारीलाई २ हजार २ सय १० मतले पछि पारेका थिए । अर्का उम्मेदवार खगराज अधिकारी चाहीँ पहिलो संविधानसभा चुनावमा माओबादीका उम्मेदवार देवप्रसाद गुरुङसँग पराजीत भएका ब्यक्ति हुन् । दोश्रो संविधासभा चुनावमा सांसद नभएपनि उनी स्वास्थ्य मन्त्री बनेका थिए । जगत भने समानुपातिक सांसद हुन् ।

प्रदेशतर्फ ३ सीट पाएको माओबादीले १(क) मा दीपक कोइराला, २ (ख) मा राजकाजी गुरुङ र ३ (क) मा रामजी बराल उम्मेदवार बनेका छन् । दिपक र झलपाणी तिवारीका बिषयमा धेरै बहस चलेको थियो । तिवारीले प्रत्येक्षमा उम्मेदवार बन्न समानुपातिकबाट नाम झिकेका थिए । त्यसपछि उम्मेदवार छनौट झनै रोचक बनेको थियो । यद्यपी कोइराला जिल्ला अध्यक्ष समेत भएकाले उनको पल्ला भारी भएको श्रोत बताउँछ ।

वाम गठबन्धनमै एमालेले प्रदेशतर्फ ३ सीट पाएको थियो । एमालेले क्षेत्र नम्बर १ (ख) मा जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापाको नाम टुंगिएको छ । ३ नम्बर को (ख) मा भने अझैपनि टुंगिएको छैन । श्रोतका अनुसार राजीव पहारी वा देवका पहारीमध्ये एकले टिकट ल्याउने बुझिएको छ । प्रत्येक्षतर्फ पनि कम्तिमा एकजना महिला उम्मेदवार हुनुपर्ने माग बढेपछि देवकालाई टिकट दिन लागिएको एमाले श्रोत बताउँछ ।

  • प्रकाश ढकाल / DNAnepal

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ