‘अहिलेको निर्वाचनमा वाम गठबन्धनले बहुमतले नै जित्ने मैले देखेको छु ।’: किरण गुरुङ

‘अहिलेको निर्वाचनमा वाम गठबन्धनले बहुमतले नै जित्ने मैले देखेको छु ।’: किरण गुरुङ

kiran-gurung

पाेखरा, २४ कार्तिक / प्रतिनिधि सभा निर्वाचन हुँदैछ, प्रदेश सभा निर्वाचन हुँदैछ । प्रदेश सभा निर्वाचनपछि मुख्य मन्त्री को हुने हो ? उत्सुकता चौतर्फी छ । मुख्य मन्त्री नै बन्ने लक्ष्यका साथ पूर्वमन्त्री एमाले नेता किरण गुरुङ प्रदेश सभाको उम्मेदवार बनेका छन् । गुरुङ नेकपा एमाले प्रदेश नम्बर ४ संयोजक पनि हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटक उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा उम्मेदवार छन् ।

यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको क्षेत्रमा यसपालि पनि किरणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । त्यस क्षेत्रबाट एकचोटिमात्र कांग्रेसले जितेको छ भने अरु सधैँ एमालेले नै जित हाँसिल गर्दै आएको छ । गुरुङले यो निर्वाचनमा जीत हाँसिल गरेर मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । कांग्रेसले जीत हाँसिल गरे गुरुङकै प्रतिस्पर्धी धु्रव वाग्ले मुख्यमन्त्रीको दाबेदारको रुपमा चर्चा छ ।

नेता गुरुङसँग मुख्यमन्त्री र यसपालिको निर्वाचनको सेरोफेरोमा रहेर समाधानकर्मी अमृत सुवेदीले कुराकानी गरेका छन् ।

पहिला प्रतिनिधि सभा सदस्य र मन्त्री भइसकेको मान्छे यसपालि पनि केन्द्रतिर नलागेर प्रदेश सभामा उठ्नुको कारण के हो ?

हिजो पार्टीले प्रदेश नम्बर ४ को संयोजक तोकेर संयोजकको जिम्मेवारी दियो । स हिसाबले मैले यो निर्वाचान जितेर प्रदेश सरकार बनेको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी मैले पाउनुपर्छ भन्ने दाबी छ । त्यो स्वाभाविक र प्राकृतिक कुरा हो ।

यहाँले नै पाउनुहुन्छ भन्ने अरु आधार के त ? एमालेकै अर्का नेता पृथ्वीसुब्बा गुरुङको नाम पनि सम्भावित मुख्यमन्त्रीमा चर्चा छ ।

म यहाँको संयोजक हुँ । त्यसैले दाबी स्वाभाविक हो । यो प्राकृतिक कुरा हो कृत्रिम ढंगले मुख्यमन्त्री हुन्छु भनेको छैन । हिजो पार्टीले मलाई यहाँ जिम्मेवारी नदिएको भए मैले यो दाबी गर्ने थिइनँ ।

पार्टीको वरीयतामा पृथ्वीसुब्बा तपाईंभन्दा माथि हुनुहुन्छ होइन र ?

निर्णय त प्रतिस्पर्धाबाटै हुने हो । कुन प्रदेशमा कोको हुन्छ भनेर पार्टी नेताहरुले छिनोफानो गर्नुहुन्छ । अर्को कुरा के हो भने अहिले उम्मेदवारी जुन पहिलो छ नि प्रदेशको प्रदेश समन्वय कमिटी र प्रतिनिधि सभाको चाहिँ प्रतिनिधि समन्वय समितिबाटै सिफारिस भएका छन् । धेरै भएका त्यहाँ नै प्रतिस्पर्धा गराएर पठाउने ग¥यौं ।

पार्टीको एउटा विधि वा मापदण्डभित्र रहेर प्रतिस्पर्धा हुन्छ, त्यो प्रतिस्पर्धामा जसले जित्छ उही मुख्यमन्त्री हुने हो । वरीयताको कुरा गर्दा पनि उहाँ सचिवको उम्मेदवार हुँदा म उपाध्यक्षको उम्मेदवार थिएँ । नत्र वरीयताका आधारमा पाउने भन्ने हुँदैन । वरीयताकै कुरा गर्दा पनि उहाँ अहिले पार्टी सचिव हुनुहुन्छ, हिजो म उपाध्यक्षमा थिएँ । सिनिएर वा लिडर ले नै पाउनुपर्छ भन्ने छैन ।

२०४८ र २०६४ सालमा अहिलेकै ठाउँबाट चुनाव जित्नुभएकै हो । पटकपटक तपाईंलाई नै भोट किन ?

२०४८ सालको विषम परिस्थितिमा पनि मैले निर्वाचनमा भाग लिएँ र विजय प्राप्त गरेँ । एतिहासिक जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मैले भाग लिएँ । फेरि पनि जनताले विश्वास गरे र मैले जितेँ ।

देशभर नै माओवादी लहर चलेको र हाम्रै पार्टीका ठूला नेता पनि हारिरहेका बेला मैले हाम्रो क्षेत्रबाट सहज रुपमा जितेँ । एमालेको शान राख्न सकेँ । संविधान निर्माणको ऐतिहासिक काम सकिएको छ । खास गरेर अहिले पनि फेरि समृद्ध नेपाल निर्माणको अर्को ऐतिहासिक मोडमा छौं । त्यसमा यो प्रदेशलाई समृद्ध बनाउनका लागि चुनाव लडेको हुँ ।

हामी समाजवाद उन्मुख आर्थिक प्रणाली निर्माण गर्न, समानतामूलक मुलुक निर्माण गर्न र एउटा समृद्ध, वैभव अर्थतन्त्र भएको मुलुक बनाउन म फेरि चुनाव लडेको हुँ । यसैका आधारमा मलाई जिताउनु हुनेछ । हिजो मैले जुन काम गरेँ इमान्दारीपूर्वक, निष्ठापूर्वक त्यसैका आधारमा पनि मलाई जिताउनु हुनेछ ।

२ पटक जितेर पनि आफ्नो व्यक्तिगत लाभ केही भयो होला तर आफ्नो क्षेत्रमा खासै काम गर्नसक्नुभएन भन्ने त्यहाँ मतदाताको आरोप छ । विकासको नेतृत्वदायी भूमिका देख्न पाएनौं, उहाँले लिन सक्नुभएन भन्छन् नि ?

मैले सांसद जितेर व्यक्तिगत लाभ लिएको भए, अहिले धेरै माथि पुग्ने थिएँ । हिजोको व्यवस्था जे थियो, त्यहीअनुसार मैले काम गर्ने हो । आरोप त जे लगाइदिए पनि हुन्छ । मसँग थुप्रो पैसा भएर त्यहाँ विकासमा लगाउने भन्ने होइन ।सबैभन्दा पहिला आफ्नो गाउँ आफैं बनाऔं अभियान अन्तर्गत देशमै सबैभन्दा पहिलो कच्ची बाटो बनाउने भनेको भीमाददेखि डोजर लगाएर स्याङ्जासम्म जोड्ने काम भएको हो ।

त्यहाँका तीन बाटोलाई क्षेत्रीय मार्ग बनाउन मेरो महत्वपूर्ण योगदान रहेको छ । विद्युत, खानेपानी धेरै कुरा भएको छ । पुल बनिरहेका छन् । नभएका पनि होइनन् ।

प्रदेश नम्बर ४ मा चुनावी नतिजा कस्तो आउला ? अनुमान के गर्नुभएको छ ?

प्रदेशमा स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्नुपर्ने हो तर के रह्यो भने तेस्रो पार्टी कमजोर भएका कारण एमाले दोस्रो भयो । अन्य ठाउँमा हेर्दा तेस्रो पार्टी बलियो हुँदा एमाले पहिलो भएको छ ।

अहिलेको निर्वाचनमा वाम गठबन्धनले करिबकरिब दुई तिहाइ बहुमतले नै जित्ने मैले देखेको छु ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ