लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ सार्वजनिक

लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ सार्वजनिक

Lal-Babu-Pandit-with-his-autobiography

पहिलोपटक सामान्य प्राशसन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लालबाबु पण्डितले देश कसरी सञ्चालित छ राम्ररी बुझे । कर्मचारी, मन्त्री, विदेशी जासुस, कुन नेता, कुन मन्त्री, कुन सचिव कहाँबाट परिचालित छन् ? जनताको काम किन हुन सक्दैनन् ? कति दुःख पाउँछन्, राजनीतिका नाममा को आफू बने, कसले देश सिध्याए ? आफ्नो अनुभवलाई पण्डितले पुस्तकमा लेखेका छन् । यी सबै अर्थ हामी पुस्तकबाट बुझ्न सक्नेछौं ।

गण्डक न्युज, २९ कार्तिक २०७४ / पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ । उनको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा सार्वजनिक भएको छ ।

नेकपा एमालेका नेता पण्डित भूमिगतकालदेखि नै एमालेसँग आवद्ध रहँदै आएका छन् । तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुईवटा कुराले एकाएक चर्चाका पात्र बने । जसकारण पण्डित एमालेको मात्र नेता भएनन्, उनलाई सबैले चिन्छन्, नेता मान्छन् । सामाजिक सञ्जालमा कहिल्यै नकारात्मक प्रतिक्रियाको सामना उनले गर्नुपरेको छैन । यस्तो एकमात्र नेता पण्डित नै हुन् भन्दा अत्याुक्ति नहोला ।

दुई चर्चित काममा पहिलो थियो ग्रीनकार्ड र पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेष गरि डिभीलगायत माध्यमबाट विदेशी मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो ।

त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे । यसले ठूलो बहस पनि निम्त्याएको थियो । त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइसकेपछि पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगे ।

नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो, मुलुक कठिन राजनीतिक मोडबाट गुजिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र व्यक्त गरेका विचारहरु मधेशकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो ।

यो बाहेक सरल व्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रा गर्ने यी व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।

लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाई र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा सम्झौताहिन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको व्यक्तित्व अगाडि ल्याएको रहेछ ।

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको छ।

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’

पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्। ‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ,’ पण्डित भन्छन्, ‘त्यतिबेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरु गरेको थिएँ।’ तिनै कामहरुलाई आफूले इमान्दारिका साथ पुस्तकमा राखेको पण्डित बताउँछन् ।

पण्डितलाई समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ। ‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु।’

नेपालयद्वारा प्रकाशित पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ।

laalbabu cover final

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds