पोखरामा अनलाईनबाटै बुक गरेर मिटरमा सय ट्याक्सी गुडाउने युवाको तयारी, तर व्यवसायीले नदिने

पोखरामा अनलाईनबाटै बुक गरेर मिटरमा सय ट्याक्सी गुडाउने युवाको तयारी, तर व्यवसायीले नदिने

Taxi Meter

पोखरा, १ पौष / स्थानीय प्रशासनले मिटर ट्याक्सी चलाउन गरेको दजर्नौ पटकको प्रयास असफल भए पनि पोखरामा अबको एक डेढ महिनामा मिटरवाला ट्याक्सी गुड्ने भएका छन् । पोखरा ट्याक्सी व्यवसायी समितिले ट्याक्सीमा मिटर चलाउन अटेरी गरेपछि पोखराका केही व्यवसायी यो मनोमानी तोड्न तयार भएका छन् ।

पोखरामा केही युवाले समिति नै बनाएर दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् । यसको नेतृत्व गरेका नलबहादुर गुरुङले पोखरामा ट्याक्सीमा लगाइएको सिन्डिकेट तोडेरै छाड्ने बताए । उनका अनुसार तत्काल १ सय ट्याक्सी दर्ता प्रक्रियामा लगिने छ । समाधान दैनिकका लागि गोविन्द सुवेदीले न्युज लेखेका छन् ।

पोखरामा पूर्णरुपमा मिटरमै सस्तो दरमा यात्रु चढाइने छ । ‘हामी तोकिएकै दरमा सत प्रतिशत मिटरमै यात्रु बोक्छौं, उनले भने, ‘हामी जारी विकृति अन्त्य गर्न चाहन्छौं र सुलभ दरमा स्तरीय सेवा दिन तयार छौं ।’

गुरुङका अनुसार अब यहाँ चल्ने ट्याक्सी जिपिएस जडित हुनेछन् । पोखरा भ्याली बाहेक प्रदेशका जुनसुकै ठाउँमा पुग्न अनलाईनमै बुकिङ गरेर जान सकिने गरि सेवा आरम्भ गरिने उनको दाबी छ । त्यतिमात्र होइन टोलफ्री नम्बर राखेर यात्रुलाई सेवा दिने तयारी व्यवसायीको समूहले गरेको छ । यसका लागि विधान नै बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता प्रक्रिया पनि अगाडि बढाइएको गुरुङले बताए ।

कास्कीका सिडिओ तानारानाथ अधिकारीले आफूकहाँ ट्याक्सीको समिति दर्ता गर्न केही व्यवसायी आएको बताए । उनले अहिले भइरहेका संस्थाहरुलाई समेत दर्ता नवीकरण नगर्ने भनिरहेका बेला संस्था दर्ता नभई कम्पनीको रुपमा आउन भनेको जानकारी दिए । ‘उहाँहरु दर्ता गर्न आउनुभएको सत्य हो, संस्था दर्ता गर्ने प्रावधान छैन, उहाँको प्रक्रिया भोलि प्रदेश सरकारले हेर्ने गरी अगाडि बढ्ला, तर व्यवसाय गर्न भने पाउनुहुन्छ, मैले कस्तो प्रविधि हो ल्याउनुहोस् भनेको छु ।’

गुरुङले आफूहरुले सञ्चालन गर्ने ट्याक्सी अबको डेढ दुई महिनामा पोखरामा गुडाउने लक्ष्य राखिएको जानकारी दिए । ‘हेर्नुहोला हामी स्तरीय सेवा दिनेछौं र यात्रुको मन जित्ने गरी छिट्टै सेवा सञ्चालन गर्ने छौं,’ उनले भने ।

पोखरा ट्याक्सी व्यवसाय समितिका पूर्व अध्यक्ष गान्धीराज गिरीले पोखरामा नयाँ ट्याक्सी समिति कुनै हालतमा दर्ता हुनै नसक्ने बताउँछन् । बसको जस्तो पोखरामा दर्ता गर्छु भनेर नसोचे हुने उनको भनाइ थियो । ‘यहाँ गाडीको चाप धेरै भइसकेको छ, दर्ता गरेर कहाँ राख्ने हो, अनि कति प्रदुषित बनाउने हो भन्नेकुरा सोच्नु पर्छ,’ उनले भने, ‘पोखरेलीले यो नसोचे पनि मन्त्रालयले सोचेर पुराना ट्याक्सी विस्थापनका ठाउँमा दर्ताबाहेक नयाँ दर्ता रोकेको छ ।’

२ वर्ष अगाडि तत्कालीन क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाको निर्देशनमा प्रशासनकै सक्रियतामा केही समय पोखरामा मिटरमा ट्याक्सी नगुडेका पनि होइनन् । तर निरन्तरको अनुगमनको अभाव र व्यवसायीको मिचाहा प्रवृतिकै कारण त्यसले निरन्तरता पाउन सकेको छैन । अहिलेका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पोखरामा कानुनको पालना नहुनु र यात्रु ठगिनु आफैमा राम्रो सन्देश नभएको भन्दै तत्काल मिटरमा ट्याक्सी चलाउन प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई निर्देशन दिएका थिए ।

उनको निर्देशन अनुसार सिडिओ अधिकारीले केही सक्रियता पनि देखाए । यात्रु नठगिऊन र तोकिएकै मापदण्डमा यात्रा गर्नपाउने अधिकार सुनिश्चित गर्ने कुरामा प्रशासन अहिले पनि सक्रिय रहेको सिडिओ अधिकारी बताउँछन् । मिटरमा ट्याक्सी चलाउन नमाने प्रशासनमा खबर गर्न उनले आग्रह गरे ।

सरकारले पछिल्लो पटक तोकेको दररेट अनुसार ट्याक्सी चढ्ने बित्तिकै १४ रुपैयाँ मिटरमा उठ्छ । त्यसपछि प्रत्येक २ सय मिटरमा ७ रुपैयाँ ४० पैसाको दरले मिटर चढ्दै जान्छ । पोखरामा एउटा ट्याक्सीले महंगो लियो भनेर अर्कोमा बार्गेनिङ गर्ने सुविधा पनि यात्रुसँग छैन । किनकि चोक चोकमा ट्याक्सी इकाई समिति छन् । यी इकाइहरुको सिन्डिकेटको कारण यात्रु यो सुविधा पाउनबाट वञ्चित छन् । त्यसैले चालक र इकाइकै तजबिजमा भाडा तिर्नु यात्रुको वाध्यता हो ।

ट्याक्सी व्यवसायी समितिका पूर्व अध्यक्ष गान्धीराज गिरी मिटरमा ट्याक्सी चलाउन नसक्ने अझैपनि प्रष्टै बताउँछन् । उनका अनुसार पोखराजस्तो सहरमा राजधानी काठमाडौंलाई आधार मानेर निर्धारण गरिएको भाडादर कायम हुनै सक्दैन ।मिटरमा चलाउन नसक्ने कुरा अघिल्लो २ वर्ष अगाडि नैे विभागमा लेखेर पठाएको उनले बताए । ‘राजधानीलाई हेरेर निर्धारण गरेको भाडादर पोखरामा कार्यन्वयन हुनै सक्दैन,’ उनले भने, ‘बरु स्थानीय तहमा कसरी अगाडि बढ्न सकिन्छ यसमा छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ