लेखनाथमा प्रदेशसभा राख्न माग, लेखनाथ सबै हिसाबले उपयुक्त छ, किन उपेक्षा ?

लेखनाथमा प्रदेशसभा राख्न माग, लेखनाथ सबै हिसाबले उपयुक्त छ, किन उपेक्षा ?

lekhnath

पोखरा, १० पौष / प्रदेश नम्बर ४ को राजधानी कहाँ भन्ने विवाद यहाँ रहेन । प्रादेशिक राजधानी निर्विकल्प पोखरा बनेपछि प्रदेश सरकारका लागि चाहिने संरचना कहाँ राख्ने भनेर सरकारलाई सिफारिस भइसकेको छ ।

प्रादेशिक संरचना कहाँ कसरी व्यवस्थापन गर्ने भनेर सिफारिस गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाइसक्यो । तर, साविकको लेखनाथ नगरपालिकाका बासिन्दाको चित्त भने बुझेको छैन । लेखनाथबासीको एउटै गुनासो छ, ‘लेखनाथमाथि उपेक्षा गरियो ।’ समाधान दैनिकका लागि अमृत सुवेदीको न्युज छ ।

मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभा, मन्त्रालय, तिनका सचिवालय र निवाससमेत सिफारिस पठाउँदा पुरानो पोखरामै सबै संरचना खुम्च्याइएको भन्दै लेखनाथबासीले उपेक्षाको महसुस गरेका हुन् । प्रादेशिक संरचना राख्न उपयुक्त ठाउँ हुँदाहुँदै पनि पुरानो पोखरामै खुम्च्याइनु दुखद् भएको उनीहरुको बुझाइ छ ।

साविकको लेखनाथमा प्रदेश सभा लगायत प्रादेशिक संरचना राख्नुपर्ने माग उनीहरुले राखेका छन् । लेखनाथवासीको मागलाई सरकार समक्ष पु¥याउन कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित संसदले नेतृत्व गर्दैछन् ।

–प्रदेशका कुनै पनि संरचना नराखिनु लेखनाथबासीलाई विभेदकारी भयो । सबै संरचना पुरानो पोखरामै खुम्च्याउँदा झन् अस्तव्यस्त हुन्छः खगराज अधिकारी

‘साविकको लेखनाथमा जग्गा पनि प्रशस्त छ । साविकको नगरपालिकाको भवन पनि यत्तिकै छ । बाटोघाटो लगायत सबै पूर्वाधार पनि पुगेका छन् भने लेखनाथमा प्रादेशिक संरचना राख्नुपर्छ भन्ने तथ्यगत कारण हो,’क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीले भने ।

महानगरमा भए पनि विकासको अनुभूत गर्न नसकेका बताउँदै प्रदेश सभा लेखनाथमा राख्नुपर्ने अधिकारीले बताए । ‘प्रदेशका कुनै पनि संरचना नराखिनु लेखनाथबासीलाई विभेदकारी भयो,’ अधिकारीले भने, ‘सबै संरचना पुरानो पोखरामै खुम्च्याउँदा झन् अस्तव्यस्त हुन्छ ।’

सिफारिस समितिले तत्कालका लागि व्यवस्थापन गर्न मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभा, तिनका सचिवालय र मन्त्रालय कहाँकहाँ राख्ने भनेर सरकारलाई प्रतिवेदन बुझाएको कास्कीका सिडिओ तारानाथ अधिकारी बताउँछन् ।

प्रादेशिक संरचनाको व्यवस्थापन गर्दा मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभा र मन्त्रालयबीचको दुरी, ट्राफिक र सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखेर सिफारिस गरिएको समितिले बताएको छ । प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्दा कहाँ गर्ने निर्णय गर्न सक्छ । तर, सम्भावना हुँदाहुँदै पनि अस्थायी संरचनाकै लागी पनि लेखनाथलाई उपेक्षा गर्ने सोच नै गलत भएको निस्कर्ष उनीहरुको छ ।

–प्रदेश सभा र अन्य सचिवालयमात्रै होइन लेखनाथ क्षेत्रमा सिंहदरबारजस्तै सबै मन्त्रालय एकै ठाउँमा रहने गरी संरचना निर्माण गर्न सकिन्छः दीपक कोइराला

वाम गठबन्धनको आह्वान तथा क्षेत्र नम्बर १ अन्तर्गतका गाउँपालिका तथामहानगरपालिकाका निर्वाचित अध्यक्ष, वडाध्यक्ष र निर्वाचित सांसदको नेतृत्वमा साविकको लेखनाथ नगरपालिकामा प्रदेश सभा राख्न दबाबदिन सोमबार कार्यक्रम गर्न लागेको पोखरा–२६ का वडाध्यक्ष नारायण बरालले जानकारी दिए । प्रतिनिधि सभाका सांसद खगराज अधिकारी, प्रदेश सभा १ का दीपक कोइराला र प्रदेश सभा २ का मनबहादुर गुरुङले लेखनाथबासीको मागको नेतृत्व गर्ने भएका हुन् ।

लेखनाथ क्षेत्रमा प्रादेश सभा र मन्त्रालयहरु राख्ने सांसदहरुले निर्वाचन घोषणापत्रमै उल्लेख गरेका थिए । ‘प्रदेश सभामात्रै होइन प्रदेशका अरु कार्यालय पनि लेखनाथ क्षेत्रमा हुनुपर्छ भन्ने हाम्रो माग हो,’ प्रदेश सांसद दीपक कोइरालाले भने, ‘सबै मन्त्रालयहरु बनाउन पनि पुग्ने ठाउँ छ ।’ लेखनाथमा प्रदेश सभा राख्न उपयुक्त हुँदैन भन्नु गलत कुरा भएको उनको भनाइ छ । ‘पोखरामा प्रदेशका संरचनालाई न्याय हुने खालको स्पेस नै छैन ।

त्यसको एकमात्र विकल्प लेखनाथ हो । यो टाढा पनि छैन,’ कोइरालाले भने । बाटो, पार्किङ, सुरक्षा, सचिवालय सबै हिसाबले साविकको लेखनाथ नगरपालिकाको कार्यालय प्रदेश सभाका लागि उपयुक्त भएको उनको भनाइ थियो । ‘प्रदेश सभा र अन्य सचिवालयमात्रै होइन लेखनाथ क्षेत्रमा सिंहदरबारजस्तै सबै मन्त्रालय एकै ठाउँमा रहने गरी संरचना निर्माण गर्न सकिन्छ,’ कोइरालाले भने, ‘पोखराको निकास र त्यो क्षेत्रको विकासका लागि पनि लेखनाथ क्षेत्र उत्तम विकल्प हो ।’

साविकको लेखनाथ नगरपालिकामा प्रदेश सभा राख्न सिफारिस समितिले छलफल र स्थलगत निरीक्षण पनि गरेको थियो । तर, प्रदेश सभा राख्न पुग्ने संरचनानरहेको र अन्य मन्त्रालय, विभाग र सचिवालयसँगको दुरीका हिसाबले तत्काल उपयुक्त नरहेको निश्कर्ष सिफारिस समितिको थियो । नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश सभा रहने गरी समितिले केन्द्रमा सिफारिस गरिएको हो ।

सिफारिस अनुसार मुख्यमन्त्रीको निवास क्षेत्रीय सिँचाइ, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय रहने भएको छ ।क्षेत्रीय प्रशासकको आवास रहेको ठाउँमा प्रदेश प्रमुखको निवास, पर्यटन कार्यालयको नयाँ भवनमा प्रदेश सभामुख र तारागाउँ रिसोर्टमा उपसभामुखको निवास रहने गरी सिफारिस गरिएको छ ।

बढीमा १२ मन्त्रालय रहने यो क्षेत्रमा कुन कार्यालयमा कुन मन्त्रालय रहने भन्ने पनि सिफारिस भइसकेको छ ।यहाँ कुनकुन मन्त्रालय रहन्छन् भन्ने विषयमा भने सरकारले टुंगो लगाइसकेको छैन । नम्बर प्रदेशमा प्रत्यक्षमा प्रदेशसभाका ३६ र समानुपातिकमा २४ सभासद गरी ६० सांसद यो प्रदेश सरकारमा रहनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ