गण्डक न्युज पोखरा, १३ पुस / राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम अघि बढिरहेको छ । अहिले जग्गा सम्याउने काम तीब्र रुपमा अघि बढेको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सांसद रविन्द्र अधिकारीले बुधबार विमानस्थल क्षेत्रको निरीक्षण गरे । विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक भएर लामो समय अगुवाई गरेका सांसद अधिकारीले अब निर्माण कार्यले तिब्रता पाउने बताए ।
चिनियाँ कम्पनी पनि छिटो काम सक्काउन उद्दत रहेको भन्दै उनले स्थीर सरकारको अभावमा आईपरेका समस्या अब भने समाधान हुने उल्लेख गरे । यद्यपी, जति सरकार बदलिएपनि कुनै प्रभाव नपरेको र सहज ढंगले काम यहाँसम्म आईपुगेकोमा उनले सन्तोष व्यक्त गरे ।

पछिल्लो समय अधिगह्रण गरिएको ६० रोपनी जग्गाको मुआब्जा वितरण काम मात्र बाँकी रहेको अवस्था छ । नेपाल र चीन सरकारले पूरा गर्ने प्रक्रियामध्ये नेपालतर्फबाट केही सुस्तता छाएको चिनियाँ कम्पनीको गुनासो छ ।
सरकारी स्वामित्वको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले ४५ जना चिनियाँ प्राविधिक/कामदार खटाएको छ । दर्जनजति नेपाली कामदार कार्यरत छन् । कामदारको संख्या न्यून भएपनि नेपाली चुनावमा व्यस्त रहेका बखत समेत उनीहरुबाट काम रोकिएन ।

गत साउनदेखि कर्मचारीका लागि अस्थायी शिविर बनाउन सुरु गरेको कम्पनीले उक्त काम भ्याएर विमानस्थल निर्माण थालनी गरेको हो । चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल २०७८ साल असार २६ गतेभित्रै पूरा गर्ने गरी काम अघि बढाईएको छ ।
हाल चार डोजर, छ एक्साभेटर/लोडर, तीन रोलर, २२ वटा डम्प ट्रकले काम गरिरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । अर्थवर्कको काम भईरहेको छ ।

उनका अनुसार जमिन सम्याउने कूल काममध्ये २.६ प्रतिशत सकिएको छ । आगामी मे सम्म ८० प्रतिशत काम सक्ने लक्ष्य रहेको उनले सुनाए । वर्षाको समय अघि नै माटोको काम सकिसक्ने उनको भनाई छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म काम भईरहेको छ ।
कम्पनीले चीनबाट कैदी समेत ल्याउने तयारी गरिरहेको उनले खुलाए । ईञ्जिनियर सञ्जीव खड्काले जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढ्ने बताए । अबको केही दिनमा धानवमार्ग, ट्याक्सी वे र टर्मिनल भवन बन्ने ठाउँको छनक आउनेछ ।
सीएएमसीईले पोखरा विमानस्थल निर्माण गर्न २०७१ वैशाख २९ गते ठेक्का पाएको थियो । वि.सं २०३२ मा छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो ।
पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । ओलीले नै २०७२ चैत दोस्रो साता आफ्नो चीन भ्रमणकै क्रममा सम्झौता गरेका थिए ।
केही महिनाअघि मात्रै विमानस्थल वरिपरि रिङरोड निर्माणका लागि थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ रोपनी जमिन विमानस्थलका लागि थप अधिग्रहण गरिएको थियो । २५ सय मिटर धावनमार्ग हुने विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० मोडलका वा ती सरहका जहाजले उडान र अवतरण गर्न सक्नेछन् ।
अहिले जग्गा सम्याएपछि सात मिटर फिलिङ हुने र त्यसपछि विजयपुर माथि डाँडा समेत कटान गर्नुपर्ने जरुरत पर्ने देखिएको छ । विमानस्थलको निर्माण सुरु भएपनि अन्तराष्ट्रिय हवाई रुट पर्मिट, बिमान कम्पनी सँगको सहमति लगायतका बिषयतर्फ प्रवेश नै भईसकेको छैन ।

सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो