आज कालो नम्बर प्लेटका गाडी ठप्प, निजी सवारी नहुनेलाई सास्ती

आज कालो नम्बर प्लेटका गाडी ठप्प, निजी सवारी नहुनेलाई सास्ती

TAXI (4)

पोखरा, पुस २७ । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी चलाएका छैनन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै ब्यवसायीहरुले विहिबार गाडी बन्द गर्ने निर्णय गरेका हुन् । बुधबार पनि थप १६ जना पक्राउ परेका थिए ।

ट्याक्सी ब्यवसायीको आन्दोलनलाई यातायात ब्यवसायीहरुले पनि समर्थन गरेका छन् । ट्याक्सी व्यवसायीको समर्थन र प्रहरी कारवाहीको बिरुद्धमा पोखराका बस ब्यवसायी पनि आन्दोलित भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पनि मातहतका गाडी नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र केसीले जानकारी दिए । साथै गण्डकी अञ्चलभर कुनैपनि सार्वजनिक गाडी सञ्चालन नगर्ने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

बुधबार पृथ्वीचोकमा तेस्र्याइएका ट्याक्सी हटाउन कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै फिल्डमा उत्रिए । बाटो छेकेर राखिएका ट्याक्सी उचालेर किनारा लगाउन एसपी सिंहले प्रहरी खटाएका थिए । विरोधका लागि जम्मा भएका चालक तथा व्यवसायी एसपी सिंही स्वयंसमेत फिल्डमा कडाइपूर्व उत्रिएपछि ब्याक भएका थिए ।

बुधबार प्रहरीको कडाइपछि ट्याक्सी व्यवसायी मात्र होइन कालो प्लेटमा चल्ने सबै सार्वजनिक यातायातका साधन थन्याउने निर्णय व्यवसायीले निर्णय गरेका छन् ।ट्याक्सीवालालाई अरु यातायात व्यवसायीले साथ दिने निर्णय गरेकाछन् । उनीहरुको बुधबार साँझ बसेको बैठकले बिहीबारदेखि सबै साधन थन्क्याउने निर्णय गरेको ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, गण्डकी ट्रक व्यवसायी समिति लगायत यहाँका सबै यातायातका व्यवसायीले आफ्ना गाडी थन्काउने निर्णय गरेका छन् ।

ट्याक्सी पृथ्वीचोकमा तेसारिदिँदा बुधबार बिहान ९ बजेदेखि मध्याह्नसम्म पोखरा भित्रिने र बाहिरिने यात्रुले यात्रा गर्न पाएनन् । यतिसम्म कि एम्बुलेनसलाई समेत चालकहरुले चल्न दिएनन् । विगत ५ वर्षमा सबै वस्तु तथा सेवाको भाउ बढेको तर आफूहरुको भाडा नबढेको र समायोजन नगराइएको व्यवसायीहरु बताउँछन् । प्रहरीले ज्यादती गरेकाले बन्द गर्नुपरेको ट्याक्सीव्यवसायी समिति अध्यक्ष तिवारी बताउँछन् । ‘सडकमा निकालेर पटकैपिच्छे ५ हजार तिर्ने क्षमता हामीसँग भएन । त्यसैले सबैले आफ्ना साधन थन्क्याउने निर्णय ग¥यौं,’उनले भने । बुधबारको आन्दोलन आफूहरुले भन्दापनि मजदुरहरुले स्वतस्फूर्त गरेको उनले बताए ।

‘हाम्रो काम कानुनको पालना गराउने हो, नागरिकले आफू अन्यायमा परेको भन्छ र हेर्दा अन्यायमै पारिएको पाइन्छ भने प्रहरी प्रशासन चुप लागेर बस्दैन, हामीले उजुरी अनुरुप हेर्दा त्यस्तै पाया,ैं अनि समातेर यातायात व्यवस्था कार्यालयलाई बुझाइदिएको हो,’ एसपी सिंहले भने ।

साँझ यहाँका सबै यातायात व्यसायीका समिति बसेर आन्दोलनमा ऐक्यबद्धता जनाएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिवयोगेन्द्र केसीले जानकारी दिए । सडकमा तेसारेर राख्नुभन्दा ग्यारेजमै थन्क्याउने निर्णय गरेको उनले बताए । ‘हामी मिटरमा ट्याक्सी चलाउनुपर्छ भन्ने पक्षमै छौं तर समायोजन गरेर चलाउनु पर्छ,’ उनले भने, ‘ट्याक्सीमा मिटर नचल्नुमा ५० प्रतिशत व्यवसायी र ५० प्रतिशत प्रशासनको दोष छ, दुबैले करेक्सन गर्नुपर्छ ।’

एमाले, कांग्रेस र माओवादी सम्बद्ध मजदुर संगठनले बुधबार नै विज्ञप्ति निकालेर प्रशासनले जयादती गरेको बताएका छन् । उनीहरुले व्यवसायी संघ÷संस्था र स्थानीय प्रशासनबीचको असमझदारीको कारण आफूहरु दोहोरो मारमा परेका गुनासो गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदूर संघ कास्कीका सचिव अर्जुन खनाल र अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष रेशमबहादुर सिंखडाले संयुक्तरुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी दुई पक्षको असमझदारीको कारण यातायात मजदुर प्रहरी प्रशासनको निशाना बनेको उल्लेख गरेका हुन् । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सबै उपभोक्ताले सहज र सर्वसुलभ सेवाको अनुभूति गरुन् भन्ने चाहान्छांै ।’ उनीहरुले प्रहरी हिरासतमा राखिएका मजदुरहरुको रिहाइको लागि स्वतस्पूmर्त गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताए ।

प्रशासनले गरेका कामको उपभोक्ता मञ्च कास्कीले स्वागत गरेको छ । प्रशासनलाई नियमको पालना गराउन र उपभोक्ताको अधिकारका पक्षमा दरोगरी उभिन मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले आग्रह गरेका छन् । कि राज्यको नियम कानुन मानेर व्यवसाय सञ्चालन गर्नुपर्ने होइन भने व्यवसाय बन्द गर्नुको विकल्प नहुने उनले बताए ।

गण्डकी यातायात समन्वय समितिका समेत अध्यक्ष रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले कसैलाई पनि मनपरी गर्ने छुट नरहेको बताए । नियम कानुनको सबैले पालना गर्नुपर्ने भन्दै मिटर समायोजन या भाडा समायोजन जसता कुराको सम्बोधन आफूबाट हुन नसक्ने प्रष्ट पारे ।

‘हामी कानुनको कार्यान्वयन गर्ने र गराउन सक्छौं, कानुन बनाउन सक्दैनौं, कानुन बमोजिम कारबाही गर्न र गराउन सक्ने हैसियत हामीसँग छ,’ उनले भने ।सिडिओ अधिकारीले यात्रा गर्नपाउने जनताको अधिकार कुन्ठित हुन नदिन आफूले पहल गर्ने भने बताएका छन् । उनले अति महत्वको सार्वजनिक सेवालाई मैले मन लागेन दिइन भन्न नपाउने समेत प्रष्टाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ