लेखनाथ, २९ पौष / जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा-लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ ।
प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो । त्यसबाट राष्ट्रिय प्रसारणमा कति विद्युत पठाउन सकिन्छ भनेर जाइकाले अध्ययन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीपकुमार थिकेले जानकारी दिए ।
बेगनास तालको पम्प स्टोरेजको अध्ययन बढाउन जाइकासँग समन्वय गर्ने जिम्मा थिकेले पाएका छन् । ‘पिक आवर’मा करिब चार घण्टा चलाउन प्राधिकरणले उक्त आयोजना निर्माण गर्न लागेको हो । गत कात्तिकमै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणलाई आयोजनाको अध्ययन अनुमति दिएको थियो । अनुमति पाएलगत्तै जाइकाको टोलीले अध्ययन थालेको हो ।
विद्युतको अत्यधिक माग हुने समयमा बेगनासबाट रुपामा पानी खसाल्ने र अन्य समयमा त्यसलाई बेगनासमै पठाउने प्राधिकरणको योजना छ । प्रक्रिया अगाडि बढेको यो पहिलो पम्प स्टोेेरेज आयोजना हो । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रीका रुपमा काम गर्नेछ ।
तामाकोशी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत माग पूरा गर्न सकिँदैन । सुख्खा समयमा तामाकोशीबाट एक सय मेगावाट उत्पादन हुँदैन । कुलेखानी ड्याम मात्रै अहिले पिक समयमा चलाउन मिल्ने आयोजना हो ।
‘पिकिङ रन अफ दी रिभर’ आयोजना पनि धेरै नभएका कारण अहिले ठूलो परिमाणमा बिजुली आयात गर्नुपरिरहेको छ ।जलाशयुक्त आयोजना कागजमै सीमित छन् । त्यसको विकल्पमा पम्प स्टोरेज आयोजना निर्माण गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।
बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गरिनेछ । रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने हुनाले यसले दुवै तालको अहिलेको अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरणको दाबी छ ।
उक्त आयोजनाबाट उत्पादित बिजुली चार किलोमिटर टाढाको दुई सय २० केभीको लेखनाथ सब-स्टेसनमा जोडिने छ । आयोजनाको लागत १३ करोड डलर अर्थात् करिब १४ अर्ब रुपैयाँ छ ।
केही वर्षअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्राध्यापक डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले गरेको अध्ययनबाट उक्त आयोजनाबाट सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।
स्रोत : अनलाइनखबर
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो