पोखरामा विना सूचना ट्राफिक कारबाही, २ सय कारबाहीमा एकै दिन डेढ लाख राजश्व

पोखरामा विना सूचना ट्राफिक कारबाही, २ सय कारबाहीमा एकै दिन डेढ लाख राजश्व

Bike (1)

पोखरा, ९ माघ / ट्राफिक तथा नेपाल प्रहरी सिठी फुक्दै आएपछि नयाँ बजारमा एकैछिन हंगामा नै भयो । भ्यान सँगै लिएर आएको प्रहरीले धमाधम मोटरसाइकल उठाउने तथा गाडीमा चेनलक गरेपछि आफ्ना सवारी साधन जोगाउन सोमबार नयाँबजारमा दौडधुप नै चल्यो ।

एक्कासी ट्राफिक तथा नेपाल प्रहरीले त्यसै यसो गरेको भने होइन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालय र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखराका फुटपाथ सफाचट पार्नका लागि यस्तो गरेको हो । पैदलयात्रुका लागि बनाइएको फुटपाथमा मोटरसाइकल तथा गाडी रोकेर कब्जा गरिएपछि धमाधम कारबाही थालिएको हो ।

‘पैदलयात्रु हिँड्नका लागि बनाइएको फुथपाथमा मोटरसाइकल तथा गाडी रोकेर कुरुप बनाइएपछि हामीले यो अभियान थालेका हौं,’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने । मोटरसाइकल तथा गाडीमात्रै होइन फुटपाथ कब्जा गरेर व्यापार गर्नेलाई समेत कडाइ गरिएको हो ।

पोखराका विभिन्न स्थानमा आफ्नो मोटरसाइकल तथा स्कुटर राखेर आआफ्नो काममा लाग्नेले यतिबेला हैरानी खेपिरहेका छन् । ‘बिहान आफ्नै अफिस अगाडि राखेर दिउँसो फर्किँदा मोटरसाइकल नै छैन,’ सहकारीका कर्मचारी शशी कोइरालाले भने, ‘हरायो भनेर हारगुहार गर्दै हिँडे । पछि थाहा पाएँ प्रहरीले पो लगेको रहेछ ।’

पोखराका मुख्य स्थानहरु पृथ्विचोक, सभागृहचोक, सिर्जनाचोक, नयाँबजार तथा न्युरोड र चिप्लेढुंगा आसपासमा फुटपाथ र नो पार्किङमा पार्क गरी राखिएका सवारी साधन उठाएर धमाधम चौकी लगिएको छ ।

बिना सूचना कारबाही गरिएको गुनासो

बिना सूचना प्रहरीले सवारी साधन उठाएर लगेको भन्दै पीडितले प्रहरी कार्यालयदेखि महानगरपालिकासम्म गुनासो लिएर पुगेका छन् । पहिलेदेखि नै पार्किङ गर्दै आइएको स्थलबाट बिना सूचना सवारी साधन हराउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको नयाँबजारका रामबहादुर श्रेष्ठले बताए ।

आफ्नै अफिस अगाडिसमेत आफ्ना सवारी साधन रोक्न नदिएको भन्दै गुनासो महानगरपालिकासम्म पुगेको छ । पूर्वाधारको निर्माण नगरी बिना सूचना उठाउनु र जरिवाना तिराउनु कुनै विकल्प नभइ सर्वसाधारणलाई दुख दिने कार्य भएको उनीहरुको गुनासो छ ।

महानगरले नो पार्कीङ बोर्ड नराखेको, आवश्यक पूर्वसूचना नदिएको उनीहरुको गुनासो थियो । प्रहरीले भने सूचित गराउँदै आएको बताएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख वसन्त शर्माले बिगत दुई तीन दिनदेखि नै प्रहरीले यसरी पार्कीङ नगर्न अनुरोध गरिरहेको र अटेर गरी पार्किङ गर्नेलाइ जरिवाना गरिएको बताए ।

पैदलयात्रु हिँड्ने फुटपाथमा सवारी साधन राख्नु हुँदैन भन्ने कुरा सूचित गराउने कुरा नभइ विवेक प्रयोग गर्नुपर्ने कुरा भएको प्रहरी नायव निरीक्षक सही शिव थापाले बताए ।

आफ्नै पसल तथा कार्यालयबाट सवारी साधन उठाउने तथा चेनलक हुन थालेपछि व्यवसायीहरु गुनासो लिएर महानगरपालिका पुगेका छन् । विकल्पसहित कारबाही थाल्न उनीहरुको माग छ ।

पोखरामा सडकै पार्किङस्थल ताकेर शुल्क उठाउने जिम्मा महानगरपालिकाले निजी कम्पनीलाई दिएको छ । ठेक्कामा दिइएको पार्किङलाई समेत व्यवस्थित बनाउन वान साइड पार्किङलाई जोड दिइएको छ ।

कुनै ठाउँमा मोटरसाइकलका लागि छुट्याइएको छ भने कुनै ठाउँमा मोटरसाइकलका लागि । तर, तोकिएको ठाउँभन्दा बाहिर पार्किङ गरे प्रहरीले कारबाही बढाएको छ ।

एकै दिन १ सय ९५ कारबाहीमा, डेढ लाख राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालयले फुटपाथ तथा नो पार्किङ जोनमा रोक्ने झन्डै २ सय सवारी साधनलाई कारबाही गरेको छ । कतिपय सवारी साधनलाई उठाएर ट्राफिक तथा प्रहरी कार्यालय पुर्‍याएर कारबाही गरिएको थियो भने कतिपय तस्थानमै कारबाही गरिएको हो ।

कारबाहीमा परेका सवारी साधनबाट एकै दिन १ लाख ५३ हजार राजश्व संकलन भएको ट्राफिकमा सही शिव थापाले बताए । यसरी उठाएर लगिएका सवारी साधनमार्फत उठाएर लगेको २०० र जरिवाना शुल्क १००० रुपैयाँ लिने गरिएको छ ।

सोमबार १ सय ६५ सवारी साधनलाई कारबाही गर्दा १ लाख ३४ हजार राजस्व उठेको थियो । जुन सवारी साधन पार्किङ गर्न तोकिएको छ सोही ठाउँमा पार्किङ गर्न अनुरोध गर्र्दै नियम विपरित गरे आफूले छोड्न नसक्ने बताए ।

पोखराका फुटपाथ सबैभन्दा बढी व्यवसायीबाट कब्जा हुने गरेको छ । अटो क्षेत्रको रुपमा चिनिएको नयाँ बजारमा सोरुमका मोटरसाइकल राख्न फुटपाथ प्रयोग गरिने गरिएको छ ।

मोटरसाइकल तथा गाडीका बिक्रेता, गाडीका ग्यारेज लगायतले नयाँबजारको फुटपाथ बढी कब्जा हुँदा प्रदलयात्रुले सास्ती खेप्पु परेको हो । न्युरोड, चिप्लेढुंगा, सभागृहचोक लगायतका क्षेत्रमा पनि निर्माण समाग्री तथा विभिन्न व्यावसायिक प्रतिष्ठानले फुटपाथ कब्जा गर्दा हैरानी खेप्नु परेको हो ।

अहिले फुटपाथमा रोक्ने सवारी साधनलाई प्रहरी र फुटपाथमा राखिएका सामाग्रीलाई महानगरले उठाउन थालेको हो ।

पोखरामा सडकका फुटपाथ साना व्यवसायीले व्यापार थलो बनाएपछि पोखरा उपमहानगरपालिकाले सडकबाट हटाएर ठाउँ तोकेर व्यवस्थापन गरेको थियो । अहिले फेरि फुटपाथमा साना व्यापारीले कब्जा जमाउन थालेका छन् ।

मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही

ट्याक्सी मिटरमा चलाउने पर्ने नियम उल्लंघन गर्नेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले मिटरमा नचल्ने ट्याक्सीमाति दिनहुँ कारबाही गरिरहेको छ ।

पोखरामा केही दिनअघिमात्र ट्याक्सी मिटरमा चलाउने सहमति भए भएको थियो । तर, ट्याक्सी व्यवसायीले अटेरी गरिरहेका छन् । सोमबार प्रहरीले त्यस्ता ३ ट्याक्सीलाई पनि कारबाही गरेको छ । आइतबार पनि यस्ता तीन ट्याक्सी कारबाहीमा परेका थिए ।

समाधान दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds