फेवाताल सफा गर्ने मेसिन सांसद अधिकारी र मेयरबाट औपचारिक उद्घाटन (भिडियो)

फेवाताल सफा गर्ने मेसिन सांसद अधिकारी र मेयरबाट औपचारिक उद्घाटन (भिडियो)

Fewatal

गण्डक न्युज पोखरा, २५ माघ । जलकुम्भी झार र तालमा रहेको फोहोरलाई झिक्न क्यानडाबाट ल्याइएको मेशिनको बिहिबार औपचारिक शुभारम्भ गरिएको छ । मेसिनको सांसद रविन्द्र अधिकारी र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तालको जलकुम्भी झार झिकेर शुरुवात गरे ।

पोखरा लेखनाथ महानरपालिकाको ९१ लाख २५ हजार र सांसद रविन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम मार्फत जलकुम्भी झार निकाल्ने क्यानडामा निर्माण भएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको हो ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले फेवाताललाई बचाउन मापदण्ड क्लियर, दैनिक सरसफाई, वर्खा याममा आउने माटो, ढुुङगालाई नियन्त्रण गर्न चेक ड्याम निर्माण गर्नुपर्नेमा जोड दिए । ‘फेवालाई स्वच्छ, सुन्दर र सफा बनाउन त्यसको मापदण्ड निश्चित गरेर ड्याम साईडदेखि लेकसाईसम्मको ताल किनारालाई पर्यटकीय र रमणीय बनाउनुपर्छ ।’

प्रदेश सांसद राजीव पहारीले २२ हजार रोपनी क्षेत्रफलको फेवाताल ९ हजार रोपनीमा खुम्चिएको बताउदै अव बोल्ने भन्दा काम गर्ने समय आएको बताए । फेवाताल राष्ट्रिय सम्पदा भएको बताउदै सवै मिलेर यसको संरक्षण गर्नुपर्ने खाँचो औल्याए ।

ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै महानगर प्रमुख मानबहादुर जिसीले फेवाताल संरक्षणका लागी तयार भएको बताए । उनले मेशिनले ताल माथि उत्रेको मात्रै नभइ ६ फिट तलको फोहोर र जलकुम्भी समेत काटेर निकाल्ने बताए । उपप्रमुख मञ्जुदेवी गुरुङले फेवतालको संरक्षणमा महानगर लागेको बताइन् । मेशिनले जलकुम्भी र फोहोर सफा गर्न महत्वपूर्ण भुमिका खेल्ने पत्रकारसंगको कुराकानीमा बताइन् ।

पोखरा वडा नम्वर १३ का वडा अध्यक्ष दर्शन लामाले फेवाताल संरक्षणका लागी मेशिन अनिर्वाय भएको र अव तालको मापदण्ड विपरित बनेका संरक्षणलाई ब्यवस्थित गर्नुपर्ने खाँचो औल्याए । पोखराका फेवाताल, बेगनास ताल लगायतक अन्य तालमा समेत उक्त मेशिनको प्रयोग मार्फत सफाई गरिने छ ।

मिट ग्रुप प्रालिले क्यानडाबाट ल्याएको मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन निकाल्न सक्ने महानगरका प्रशासकीय प्रमुख दिर्घनारायण पौडेलले बताए । कार्यक्रमको संचालन फेवाताल संरक्षण आयोजना प्रमुख एवं इन्जिनियर महेन्द्रबहादुर गोदारले गरेका थिए ।

 

फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गर्ने र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो । २०१७ सालमा नौ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल २०५५ सालमा आइपुग्दा चार सय ४३ हेक्टरमा सिमित हुन पुगेको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ