पोखरा, माघ २७ गते । उपन्यासकार सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’को शनिबार पोखरामा गृह विमोचन गरिएको छ । कृतिको यसअघि माघ २० गते काठमाडौँमा विमोचन गरिएको थियो ।
कविका रुपमा स्थापित साहित्यकार प्रतीक्षाको उपन्यासको कवि तीर्थ श्रेष्ठले विमोचन गरेका हुन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै लक्ष्मण श्रेष्ठले नथियाले नेपाली साहित्यमा लामो समयसम्म प्रभाव जमाउन सक्ने बताए । उनले वादी समुदायको विवशतालाई उपन्यासकारले गहिराइमा पुगेर अध्ययन तथा प्रस्तुत गरेको बताए ।
विषयवस्तुमाथि पूर्णतयाः न्याय भएको बताउँदै समीक्षक श्रेष्ठले नथिया महिलालाई भोग्या सम्झने लामो समयको ‘कङ्गो’ रुप भएको बताए । त्रिभुवन विश्वविद्यालयमा एमफिलमा पढाइ हुने ‘बडी लिटरेचर’को पाठ्यक्रमको सन्दर्भ पुस्तकका रुपमा समेत नथियाको प्रयोग गर्न उहाँले माग गरे ।
अर्की समीक्षक पत्रकार जमुना शर्माले नथियाले पाठकलाई एकतमासले तान्ने बताईन् । कार्यक्रमका प्रमुख अतिथि तीर्थ श्रेष्ठले पोखराले सरुभक्तको पागलबस्तीपछिको उत्कृष्ट कृति नथिया पाएको बताए । उनले आजसम्म कुनै आख्यानात्मक कृतिका बारेमा केही नलेखेको आफूलाई नथियाले लेख्न घचघच्याइरहेको भन्दै लेख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उपन्यासकार प्रतीक्षाले २०६४ मा सिंहदरबारअघि वादी महिलाहरुले ब्रा र पेटीकोट लगाएर गरेको आन्दोलनबाट प्रभावित भएर १० वर्षअघि मानसिक गर्भाधान भएको उपन्यास लेखनका लागि स्थलगत अनुसन्धान गरेको बताए । १३र१४ वर्षअघिको आफ्नो उपन्यासकार बन्ने सपनालाई पूरा गर्न नथिया लेखेको बताउँदै प्रतीक्षाले उपन्यास आफ्ना लागि कृति मात्र नभई प्यासनको दस्तावेज पनि भएको बताईन् ।
‘यो लेखनलाई लिएर मेरो पागलपन मिसिएको छ, केही अठोट र इरादाहरु मिसिएका छन्, एउटी स्वास्नीमान्छेले लेखनका लागि जुन उत्सर्ग गर्न सक्छे, त्यो मिसिएको छ, चाहेर नचाहेर मैले चुकाएका मूल्यहरु मिसिएका छन् र समर्पणभाव र प्रेमका कोलाजहरु मिसिएका छन्’ उनले वादी लवजमै भनिन्, ‘यसअघि नथिया मेरी मात्र थिई, तपाईँहरु सबैको भयाकी छे ।’
उपन्यासको नाम नथिया नै राख्नुको कारण खुलाउँदै वादी समुदायमा नथिया उतार्ने अर्थात् कुमारीत्व तोड्ने संस्कारको जगमा उपन्यास उभिएकाले यसको नाम पनि नथिया राखिएको बताईन् । ‘यस्तो संवेदनशील विषयमा लेख्न साहस मात्रै होइन, आफूले दुस्साहस नै गरेको’ बताउँदै उनले वादी महिलाहरुले सुनाएका कुराहरु समाजले नपचाउला भनेर पूरै नसमेटेको समेत खुलासा गरिन् ।
कृतिका प्रकाशक बुक हिलका सञ्चालक भूपेन्द्र खड्काले आफूले प्रकाशन गरेको २५ ओटा कृतिमध्ये नथिया आफूलाई सबैभन्दा मन परेको बताए । सचिव अर्जुन अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा साहित्य संयोजक अमृत सुवेदीले स्वागत गरेका थिए ।
उपन्यासकार प्रतीक्षाका यसअघि यद्यपि प्रश्नहरु, बिम्बहरुको कठघरा र बागी सारङ्गी गरी ३ कविता सङ्ग्रह प्रकाशित छन् ।
रुपिन्द्र प्रभावी
सम्बन्धित खबर
तनहुँमा विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने शिक्षिका पक्राउ
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति