पोखरा, २९ माघ / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ।
सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको ओली–प्रचण्डबीच २ घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो।
यो सहमतीलाई लामो समय लिएको एमाले माओवादी पार्टी एकता प्रक्रियामा निर्णायक कदम मानिएको छ। सहमती अनुसार सबै कुरा अगाडि बढेमा एक दुई दिनभित्र, संभवतः मंगलबार नै एकता सम्बन्धमा विशेष घोषणा गर्न दुई अध्यक्ष सहमत भएका छन्।
अति विश्वस्त स्रोतका अनुसार अधिकारी निवासमा ब्रेकफाष्टसहित भएको वार्तामा भोलि एकपटक फेरि ‘वन टु वन’ कुराकानी गर्ने र अन्य नेताहरुको व्यवस्थापन सहित सहमति गर्न बाँकी अन्य विषयलाई पनि टुङ्ग्याउने सहमति दुई नेताबीच भएको छ।
‘रातभरिमा अन्य कुनै कुराले प्रभाव पारेन भने भोलि विशेष घोषणामार्फत् एकता सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने सहमति पनि दुई नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘त्यसपछि पर्सि बस्ने एकता संयोजन समितिको बैठकले दुई नेताबीचको सहमतिलाई औपचारिकता दिनेछ।’
यसैबीच, एमाले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको खुलाएका छन्।
स्रोतहरूका अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नेछन् भने दोस्रो चरणमा प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष बन्नेछन्। दुई दुई वर्षका लागि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमती भएको जनाइएको छ।
निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमती भएको रिपोर्ट थियो। निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको विश्वास गरिएको थियो। जसलाई बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ अस्वीकार गरिरहेका थिए।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि आजै सहमति भएको बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले आज विहान भएको ओली र प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको स्पष्ट पारेका हुन् ।
उनले भने,‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ।’श्रोतका अनुसार रावलले भने झैँ आज पनि दुइ नेताले सात बुंदे सहमति गरेका छन्।
साक्षात्कारमा बोल्दै उनले आज भएको प्रमुख नेताद्धय ओली र प्रचण्डवीचको निर्णायक वार्तामा पनि निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको सुनाए ।
रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे आजको भेटवार्तामा छलफल भएको विश्वास दिलाए । उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।
रावलले भने,‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त ?’
कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने कुरा भएकोले दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो । एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने,‘एकताले ठोस रुप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन।’
उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको सुनाए । उनले भने,‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ, एकताको विभिन्न चरणहरु त पार भैसके नि।’
त्यस्तै रावलले राष्ट्रपति, उपराष्ट्रपति लगायत महत्वपूर्ण पदमा सहमतिकै आधारमा कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे निर्णय लिईनेपनि जानकारी दिए । उनले थपे,‘यो भागबण्डा गर्ने कुरा होईन, नेताहरुलाई जिम्मेवारी दिने कुरा हो।’
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकोले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने पनि उनको भनाई थियो । उनले भने,‘यो कामचलाउ सरकारले आफ्नो अन्तिम घडीसम्म राज्यको ढुकुटी रित्याउने खेलमा लाग्नुभएको छ, राष्ट्रिय सभामा तीन जना सिफारिश गर्ने सवालमा स्वयम् कांग्रेसकै नेताहरुलाई थाहा रहेनछ, हामीसँग त झनै परामर्श गरेन, राष्ट्रिय सभाको जुन उद्देश्य थियो, त्यो अनुसार भएन, सभाको उद्देश्य विपरित नामहरु सिफारिश भएको छ, यो गलत हो, यसमा हामीलाई धेरै दुःख लागेको छ।’
त्यस्तै उनले वर्तमान सरकारले गरेका कतिपय गलत निर्णयहरु पूनरावलोकन गर्ने र निर्वाचन आचारसंहित भए खारेज गर्ने समेतको चेतावनी दिए । उनले भने,‘निर्वाचन आचारसंहिता विपरित गरिएका निर्णयहरु पूनरावलोकन गरिन्छ, अनपर्युक्त निर्णयहरु खारेज गरिन्छ।’
उनले प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने स्पष्ट पारे । ‘प्रदेशको राजधानी त प्रदेश सभाले तोक्ने हो, हामीले भन्ने कुरा हुँदैन्।’ रावलले सरकारले भुकम्प पीडितको लागि एक लाख थप्ने निर्णय पनि गलत ढंगले गरेको आरोप लगाए ।
आफूले यसबारेमा सरकारका मन्त्रीहरुलाई नै सोधेको उनको भनाई थियो । उनले भने,‘कुन आधारमा ? स्रोत के हो भनेर मैले सोधेको थिएँ, तर कुनै स्पष्ट धारणा आएन् ।’
वाम गठबन्धनको मुख्य उद्देश्य भनेको अब मुलुक र जनताको समृद्धि भएकोले त्यसकै लागि आफूहरु केन्द्रित हुने उनको भनाई थियो ।
सम्बन्धित खबर
सीके राउतसँग सम्बन्धविच्छेद अस्वीकार गर्दै श्रीमतीले गरिन् राउतको मानसिक स्वास्थ्य जाँचको माग
देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण, आधा बढी गण्डकीमै
नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर
झ्याप्ले खोलामा पुरिएर मृत्यु हुने ३५ जना सबैको सनाखत, गण्डकीका १३ जना (सूचीसहित)
परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन