ओलीले किन रोजे डा. खतिवडा नै अर्थमन्त्री ? ‘राइट म्यान, एट राइट टाइम, इन राइट प्लेस !’ कारण यस्तो

ओलीले किन रोजे डा. खतिवडा नै अर्थमन्त्री ? ‘राइट म्यान, एट राइट टाइम, इन राइट प्लेस !’ कारण यस्तो

Ministers-4

‘सरप्राइज’ मात्र होइनन् ‘अर्थमन्त्री’ युवराज ! धसिएको अर्थतन्त्रले पाउला त प्राण ?

काठमाडौं । अन्ततः सबैका अनुमान फेल खुवाउँदै अर्थविद् डा युवराज खतिवडा अर्थमन्त्री बन्न सफल भएका छन् ।
अर्थमन्त्रीकै दौडमा रहेका नेताहरु जिल्लिए पनि सर्वसाधारणहरुमा भने सकारात्मक सन्देश दिएको छ अर्थमन्त्रीमा अर्थविद्कै आगमनले ।

नवनियुक्त अर्थमन्त्री डा खतिवडाले अर्थमन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनी नेपालका ३२ औं हुन् । पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । निनकि राष्ट्रिय सभा सदस्यमा मनोनित भएका उनको सपथ रोक्न सर्बोच्च अदाललतले आदेश दिएको छ । यता भने अर्थमन्त्रीको जिम्मेवारी उनले सम्हालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ‘तीव्र विकासको आकांक्षा’ पूरा गर्ने व्यक्तिका रुपमा डा खतिवडालाई यो जिम्मेवारी दिन चाहेको घटनााक्रमले पुष्टि गरेका छन् ।

अब डा खतिवडाले प्रधानमन्त्री ओलीको मुख्य आर्थिक मार्गनिर्देशकको भूमिका खेल्ने अपेक्षा गरिएको छ । यतिबेला नेपालको अर्थतन्त्र ट्विन डिफिसिटमा चलेको छ ।

सरकार ३५ अर्ब ४७ करोडको बजेट घाटामा छ । सरकारले बजेटअनुसार खर्च गर्न सक्ने हो ठूलो पुँजीको अभाव हुन सक्छ । सरकारको चालु खाता पनि ७५ अर्ब ७१ करोडले ऋणात्मक छ ।

यतिबेलाको रसातलमा धसिएको अर्थतन्त्रलाई त्राण दिने कुरा ‘नेताको शृंखला’मा हुर्किरहेका व्यक्तिबाट मात्र सम्भव छैन भन्ने बहस चलिरहेकै बेला डा खतिवडा अर्थमन्त्री बनेका हुन् ।

निरन्तरतामा ‘क्रमभंग, ‘छलाङ’ मार्नै पर्ने चुनौती !

उनको आगमनलाई ‘क्रमभंग’ मान्नेहरु पनि छन् । यसले उनको काँधमा नेपालको अर्थतन्त्रले ‘छलाङ’ मार्नै पर्ने चुनौती पनि थपिदिएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरका रुपमा र राष्ट्रिय योजना आयोगमा समेत सफलतापूर्वक भूमिका निर्वाह गरेका डा खतिवडा नेपालको अर्थ तथा राजनीतिक क्षेत्रमा धेरैको मन जित्न सफल पात्रका रुपमा चिनिन्छन् । तर, धेरैलाई लागेको थिएन, उनी अर्थमन्त्री बन्दै छन् भनेर ।

सोमबार १४ गते साँढे ४ बजेतिर राष्ट्रपति भवन शितल निवासमा ओली सरकारका लागि थप ४ मन्त्रीहरुले सपथ लिँदै गर्दा मात्र अर्थमन्त्री डा खतिवडा नै बनेका रहेछन् भन्ने दुनियाँलाई विश्वास भयो ।

अर्थमन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेलकै चर्चा भने सपथ खानु अघि पनि चलिरहेकै थियो । पूर्वअर्थमन्त्रीका रुपमा रहेका एमाले नेताहरु विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम पनि क्रमशः चर्चामै थियो ।

‘सरप्राइज’ र सन्देश !

एमाले भित्र अर्थमन्त्रीका रुपमा ‘सफलता’ को पगरी गुथ्न सफल पूर्व अर्थमन्त्रीका सफलताका पछाडिको कुञ्जी (की) व्यक्तित्व को थियो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रैसँग थाह थियो भन्ने यो ‘सरप्राइज’ले दिएको एउटा सन्देश हो ।

उनी ‘अर्थमन्त्री’ बनेलगत्तै उनलाई लिएर केही तर्कहरु बहसमा आएका छन् । सपथ समारोहमै सुनिएका विभिन्न आवाजहरु यहाँ विश्लेषण गर्न लायक पनि छन् ।

यस्ता बहसमा ‘जीवनभर नेता बनेर हिँड्ने मान्छेका लागि अपमान’, भन्नेहरु पनि कमी थिएनन् । नेताहरुकै पक्षमा बोल्नेहरुले भनेको सुनियो, ‘नत्र नेता बन्न किन लाग्ने ? कर्मचारी हुँदै आए भइगयो नि त !’

वास्तवमा डा खतिवडाको अर्थमन्त्रालयमा आगमनले अब ‘नेता’ बन्ने योग्यता बदलिएको सबैभन्दा बलियो सन्देश पनि दिएको प्रतिक्रिया दिनेहरु पनि समारोहमा भेटिए ।

‘जुन क्षेत्रमा जो अब्बल छ, त्यही नेता’ भन्ने जमाना हो आजको ।

यसर्थमा उनीमाथि विश्वास गर्ने र आलोचना गर्नेहरु दुवैको आँखामा उचित जवाफ उनको कामहरुले दिन सक्नु पर्ने चुनौती यतिबेला उनका सामू छ ।

आखिर अर्थमन्त्रालय भनेको योग्यता क्षमताको माग गर्ने निकाय हैन र ? अर्थसम्बन्धी ज्ञानै नभएपनि ‘नेता’कै पगरी गुथेको भरमा मन्त्री भइरहने परम्परामा ओली सरकारले ‘ब्रेक’ लगाइदिएपछि ‘सडेन चेन्ज’ स्वीकार गर्ने बानी नपरेका हामीहरु तरंगित हुनु पनि आश्चर्य होइन भन्नेहरु पनि सपथ समारोहमा भेटिए ।

प्रतिपक्षी दल सम्बद्ध आवाजहरु भने सर्वाेच्चले दिएको ‘स्टे अर्डर’लाई ‘अटेर’ गर्दै प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई पनि ‘देखाइदिएको हो ?’ भनेर पाखुरा सुर्किदै औंला ठड्याइरहेका छन् ।

सेयर मार्केटमा ‘आगलागी’ पनि भएको संयोग परेकै दिन डा खतिवडा अर्थमन्त्री बनेका छन् । तरंगहरु पनि त्यसरी नै छचल्किरहेका छन् ।

ओलीका आँखामा किन परे खतिवडा ?

अर्थमन्त्रीको अन्तिम टुंगो लगाउने क्रममा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल गए राति एउटा भूमिकामा देखिए ।

महासचिव ईश्वर पोखरेललाई मनाउन ओलीका सन्देश वहाककै रुपमा उनी पोखरेलको घरमा गए । त्यहाँ उनले मन्त्रालय फेर्ने संकेत दिएका थिए । यो सन्दर्भले नै ओलीले डा खतिवडालाई नै चाहेको स्पष्ट संकेत दिएको देखिन्छ ।

यतिबेला डा खतिवडाबारे धेरै शब्द थोपर्नु पाठकहरुले पनि पक्षपात गर्यो भन्ने आरोप व्यहोर्नु पर्ने हुन जान्छ । डा खतिवडा मात्रै प्रधानमन्त्री ओलीका आँखामा पर्नुका पछाडि धेरै कारणहरु छन् ।

यस अघिका गर्भनर तथा योजना आयोगको भूमिका बेगर नै पनि डा खतिवडा ओलीका नजरमा परेका घटनाक्रमहरु छन् ।

एमाले–माओवादी संयुक्त चुनावी घोषणा पत्र बनाउने समूहमा उनको सक्रियताले नै उनले आउने सरकारमा नयाँ भूमिका पाउन सक्ने अनुमान गरेको भावी १ नम्बर प्रदेशको खाका कोरिरहेका डा खतिवडासँगै संलग्न अर्थविद् तेजबहादुर खतिवडा बताउँछन् ।

उनका यस्तो केही परिघटना छन्, जसले नेतृत्वको मन जित्न सफल भएको थियो । तीव्र विकासको आकांक्षा धान्न अर्थमन्त्री मात्र हैन भौतिक पूर्वाधार मन्त्री पनि त्यस्तै ल्याउन आवश्यक

प्रधानमन्त्री ओलीको ध्येय आफूले घोषणा गरे अनुरुप नेपाली जनतालाई समृद्धि दिनु त्यति सहज छैन । यतिबेला नेपालको अर्थतन्त्र दोहोर घाटामा चलेको छ ।

ढुकुटी रित्तिएको अवस्था छ । नेपालले इतिहासमै पहिलो पटक संघीयता अवलम्बन गरेको छ । ७ प्रदेशका ७ मुख छन् । स्थानीय तहदेखि केन्द्रसम्म अवसरको खोजी तीव्र छ ।

ओलीकै भाषामा भन्ने हो भने ‘नेपाललाई विकास मात्र होइन कि तीव्र विकास चाहिएको अवस्था छ । यो तीव्र विकासको चाहना ओलीको होइन कि देशको हो ।

यसलाई कसरी पूरा गर्न सकिन्छ ? यतिबेला भौतिक पूर्वाधार विकासलाई पनि तीव्र गतिका साथ अघि बढाउनु पर्ने छ । पूर्वाधार र पुनर्निर्माणमा पनि त्यस्तै पात्र प्रधानमन्त्री ओलीले छान्नु पर्नेमा कुनै दुई मत छैन ।

अर्थविद्का सुुझावः बिग पुस नै चाहिन्छ– तेज ढकाल

नेपालका पूर्व अर्थमन्त्रीहरुले बजार पिट्ने गरेको तथ्यांक हेर्दा उनीहरुले आफ्नो सफलता र असफलताको एउटै मात्र कसी ‘राजश्व जति धेरै उठ्यो त्यति नै धेरै सफलता’ भन्ने एउटा परम्परा नै बसालेको देखिन्छ ।

ट्विन डिफिसिट अर्थतन्त्र र राजश्व उठाएकै भरमा ‘सफल’ ठान्ने अर्थमन्त्रीहरु भन्दा फरक तरिकाले आज अघिको अर्थतन्त्रको बेडा चलेको पाइएन । तर, अर्थतन्त्र भनेको राजश्व मात्रै होइन । राजश्व एउटा इन्डिकेटर वा पक्ष मात्रै हो ।

तर नेपालको अर्थतन्त्र यतिबेला ट्विन डिफिसिटबाट गुज्रिरहेको छ । व्यापार घाटा र सरकारी ढुकुटी हेर्दा प्रधानमन्त्री नै अत्तालिने अवस्था छ ।

बैंक तथा वित्तीय क्षेत्रहरु अत्यन्त अराजकतातिर उन्मुख छन् । अर्थविद् तथा उद्यमी तेज ढकालका अनुसार नेपालको अर्थतन्त्र यतिबेला हिलोमा धसिएको गाडी सरह छ । यसलाई ३ तहका प्रक्रिया पूरा गरेर मात्रै माथि उठाउन सकिन्छ ।

यस्तो अवस्थाको अर्थतन्त्रलाई माथि उकास्ने थेउरीबारे विगत ३ वर्षदेखि फरक खाले बहस गर्दै आएका अर्थशास्त्री ढकाल नेपालका शास्त्रीय अर्थशास्त्री भन्दा फरक मत राख्दै आएका विज्ञ हुन् ।

यस्तो अवस्थाको अर्थतन्त्रलाई माथि उठाउन फिजिकल स्टिमुलस, किक स्टार्ट एन्ड बिग पुस थेउरीले मात्रै काम गर्ने उनको धारणा छ । ‘यो अवस्था भनेको साँच्चिकै क्रिटिकल अवस्था हो,’ ढकालले भने ।

फिजिकल स्टिमुलस, किक स्टार्ट एन्ड बिग पुस थेउरीबारे स्पष्ट पार्दै उनी भन्छन्, ‘जसरी हामीहरु शारीरिक व्यायम गर्नु अघि शरीरलाई ‘वार्म अप’ गर्छौं, त्यसरी नै अर्थतन्त्रको सिंगो संरचना (शरीरलाई) फिजिकल स्टिमुलस अर्थात् ‘वार्म अप’ गर्न जरुरी छ ।

त्यसपछि अवस्थालाई कमाण्डमा राख्दै चिसोमा स्टार्ट हुन नसकेको बाइकलाई किक स्टार्ट गरेझै अर्थतन्त्रको जाम भएको जिन्दगीलाई पनि नीतिगत, कार्यक्रमिक र बजेटको साइजबाट किक स्टार्ट हान्न सकिन्छ ।’

उनका अनुसार हिलोमा फसेको गाडीलाई झैं अर्थतन्त्रका सबै इन्डिकेटर, प्लेयरहरु तथा वस्तुगत अवस्थालाई ठिक पोजिसनमा लिदै सबै तिरबाट ‘बिग पुस’ नै गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा डा खतिवडा अर्थमन्त्री बनेका छन् ।

देउवाको आर्थिक विरासत कहालीलाग्दो

यतिबेला सरकार ३५ अर्ब ४७ करोडको बजेट घाटामा छ । सरकारले बजेटअनुसार खर्च गर्न सक्ने हो ठूलो पुँजीको अभाव हुन सक्छ ।

सरकारको चालु खाता पनि ७५ अर्ब ७१ करोडले ऋणात्मक देखिएको छ । आर्थिक वर्षको यो ७ महिनामा पुँजीगत खर्च मात्रै २० प्रतिशत भएको छ, राज्यमाथि एकाएक एक सय २५ अर्बको वित्तीय भार थपिएको छ ।

यता भूकम्प पछिको पुनिर्निर्माणको गति चिप्लिएकै अवस्थामा छ भने देशैभरका निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायीहरुले अर्थमन्त्रालयको सानो गल्तीले गर्दा झनै १५ अर्ब भन्दा माथिको भुक्तानी राज्यबाट पाउन सकेका छैनन् ।

राष्ट्रिय गौरवका आयोजनाहरुको जस लिन लायक कुनै प्रगति भएको देखिदैन । बैंकिङ क्षेत्र कृत्रिम तरलता अभाव चुलिएको झन्डै ५ महिना बढी भइसकेको छ भने सेयर मार्केट केही महिनादेखि निराश नै देखिन्छ । देउवाबाट ओलीले बुझेको अर्थतन्त्रको तस्वीर यस्तै यस्तै छ ।

डा खतिवडाका अर्थशास्त्रीय मान्यता र भावी सफलता ! बलियो नियमनसहित कतिपय क्षेत्रमा राज्यको हस्तक्षेपकारी नीति हुनु पर्छ भन्ने मान्यता राख्ने डा युवराज खतिवडा अर्थमन्त्री भएपछि ‘गिरोह’ भन्नलायक अर्थतन्त्र भित्रका मुट्ठीभर खेलाडीहरु सतर्क भएका छन् ।

खतिवडासँग अर्थतन्त्रको विषयगत ज्ञानका साथै दातृ निकायसँग पनि राम्रो सम्बन्ध छ । डा खतिवडा मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि हुन्।

उनले सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेका हुन्। उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए।

त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भए। राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।

योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै सन् २००२ मा सदस्यका रुपमा नियुक्त भएका थिए। राष्ट्र बैंकका क्याडर रहेका खतिवडा लामो समयसम्म अनुसन्धान विभागको प्रमुख भए।

अर्थतन्त्र र विकासका बारेमा उनका चार वटा पुस्तक प्रकाशित छन्। खतिवडालाई निजी क्षेत्रले खरो अर्थशास्त्रीका रुपमा लिने गर्छ। सर्वसाधारणसँग जोडिने सबै क्षेत्र बलियो नियमनमा बस्नु पर्छ भन्ने मान्यता राख्ने खतिवडाले घरजग्गामा अधिक ऋण प्रवाह भएका कारण ‘लिक’ बाहिर गइसकेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याएका थिए।

बलियो नियमनमा बसेर उचित मुनाफा मात्र लिनु पर्छ भन्ने मान्यता खतिवडाको रहेको हुँदा उनीसँग खेलोफड्को गर्ने शेयर तथा घरजग्गा कारोबारीहरु डराउँछन्। बचत तथा ऋण सहकारीहरुलाई नियन्त्रण गर्दै कृषि तथा पशु सम्बन्धि सहकारीहरुलाई बढावा दिनु पर्ने मान्यता खतिवडाको छ।

उनी कृषिमा आधारित साना तथा मझौला उद्यमबाटै देशको आर्थिक बृद्धि ३ देखि ४ प्रतिशत बिन्दुसम्मले बढाउन सकिने मान्यता राख्छन् । सेवा क्षेत्रको विकासमा पनि खतिवडाको जोड छ ।

विसं २०१९ सालमा जन्मेका खतिवडाले नेपाल राष्ट्र बैंकको १५ औं गभर्नरका रुपमा काम गरिसकेका छन् । खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए ।

यसअघि उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख (२०५५–२०५८) भएर काम गरेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर शिक्षक तथा २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा काम गरेका थिए ।

खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका छन् ।

वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् ।

खतिवडा वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए ।

खतिवडा प्रभावित अर्थशास्त्रीहरु

पछिल्लो समय नेकपा एमालेका अधिकांश आर्थिक नीतिहरु लेखेका खतिवडा केही निश्चित उद्योगहरु राज्यकै लगानीमा चलाउनु पर्ने धारणा राख्छन् ।

औषधिजस्ता अत्यावश्यक उद्योग राज्यले चलाउनु पर्ने मान्यता राख्ने डा। खतिवडा नेपाल टेलिकमजस्ता संस्थाहरुलाई निजीकरण गर्नु पर्ने मान्यता राख्छन्।

प्रत्यक्ष वैदेशिक लगानीबीना नेपालको पूर्वाधार निर्माणमा ठोस केही पनि गर्न नसकिने धारण खतिवडा राख्छन्। नेपालको हित हुने क्षेत्रमा एफडिआइ भित्र्याउने नीति सरकारको हुनु पर्ने उनको धारणा छ।

नेपालको कानुनु मानेर आएका र त्यसै अनुसार काम गरेका कम्पनीलाई लाभांस लैजान रोकतोक हुन नहुने धारणा राख्ने खतिवडा जालझेल गर्ने कम्पनीको विपक्षमा उभिने गरेका छन्।

उनी गभर्नर भएकै बेला एनसेलको लाभांस लैजान रोक लगाइएको थियो। एनसेलले चुक्ता पूँजी नपुर्याइ लाभांस लैजान खोजेपछि गभर्नरका रुपमा उनले त्यसलाई रोकेका थिए।

ब्यवसायी अजयराज सुमार्गीले पूर्वस्वीकृति नलिकनै विदेशबाट पैसा ल्याएपछि खतिवडाले गभर्नरका रुपमा त्यो पैसा ल्याउन रोकेका थिए।

के होलान् खतिवडाका चुनौती ?

साधारण खर्च नै धान्न अप्ठेरो अवस्थामा पुगेका बेला देशको बाह्य क्षेत्र पनि यतिखेर ऋणात्मक छ। पुस मसान्तसम्म देश ६ अर्ब ६६ करोड रुपियाँ शोधनान्तर घाटामा छ।

उच्च आयातका कारण मूल्य बृद्धि पनि बिस्तारै उक्लिन थालेको छ। आयात धान्न नसक्दा मुलुक अहिले ७५ अर्ब ७१ करोड रुपियाँ बराबरको बाहिरी क्षेत्रसँग घाटामा छ ।

सरकारले राजस्वको लक्ष्य पूरा गर्न नसक्दा खर्च र आम्दानीमा बेमेल देखिएको छ । सरकारले आइतबारसम्म चार खर्ब रुपियाँ राजस्व संकलन गरेको छ भने चार खर्ब ७९ अर्ब रुपियाँ खर्च गरेको छ ।

फागुन मध्यसम्म आइपुग्दा सरकारले बाषिर्क लक्ष्यको ५५ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।

यही कारण ४९ अर्बले बजेट घाटामा छ । सरकारले वार्षिक लक्ष्य ३ खर्ब रहेकोमा पुँजीगततर्फ आजसम्म ७२ अर्ब रुपियाँ मात्रै खर्च गर्न सकेको छ ।

सञ्चालन खर्च समावेश हुने चालु खर्च भने तीन खर्ब ७५ अर्ब रुपियाँ छ । प्रादेशिक र स्थानीय सरकार सञ्चालनका लागि मात्रै करिब १० खर्ब पुँजी आवश्यक पर्ने मानिएको छ ।

गाडी र यसका पार्टपुर्जा तथा पेट्रोलियम पदार्थ तथा भारतसँग किनिएको बिजुलीका कारण ब्यापार घाटा अस्वभाविक रुपमा बृद्धि भइरहेको छ । खतिवडा गभर्नर हुँदा पनि शोधनान्तर घाटा उच्च थियो। त्यस बेला उनले सुन आयातमा कोटा लगाउने नीति लिएका थिए।

अनौपचारिक क्षेत्रलाई औपचारिकीकरण गर्न बैंकहरुलाई तल्लो तहसम्म पुर्याएका थिए। उनको आगमनले यी सबै पक्षबाट ‘लिक’ बाहिर रहेको अर्थतन्त्रलाई ‘लिक’ मा ल्याउनु पर्ने छ।

उनको आगमनलाई नेपाली अर्थजगत्ले भने सकारात्मक रुपमा लिएको छ । राइट मेन इन राइट प्लेस एट राइट टाइमका रुपमा व्याख्या गरिएको छ।

निर्माण सञ्चारबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ