पोखरामा सेतीमाथि पृथ्वी र भूपी शेरचन राजमार्ग जोड्ने पुल निर्माण हुँदै

पोखरामा सेतीमाथि पृथ्वी र भूपी शेरचन राजमार्ग जोड्ने पुल निर्माण हुँदै

pul

पोखरा | यहाँको वडा नं. ३ नारायणस्थान र वडा नं. ११ फूलबारी जोड्ने सेती नदीमाथि पुल बन्ने भएको छ । पुलले पृथ्वी राजमार्ग र भूपी शेरचन राजमार्ग जोड्नेछ । नयाँ पत्रिकाका लागि पोखराबाट गोविन्द सुवेदीले लेखेका छन् ।

सडक विभाग पुल शाखा पाल्पा तान्सेनको परियोजनाअन्तर्गत ११ करोड २३ लाख १६ हजार रुपैयाँको लागतमा पुल निर्माण हुने ठेकेदार कम्पनी हिराचन मुक्तिनाथ जेभीले जनाएको छ ।

सो मोटरेबलपुलको लम्बाइ ८० मिटर हुनेछ । पुल आगामी दसैं सम्ममा प्रयोगमा ल्याउने गरी ठेक्का दिएको पोखरा लेखनाथ–३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजूले बताए ।

पुल निर्माण भएपछि पृथ्वी राजमार्गबाट पोखराको मुख्य बजार प्रवेश नगरी सीधै भूपी शेरचन राजमार्गमा सवारी पठाउन सकिनेछ । यसले सवारी चाप धेरै हट्ने प्रजूको भनाइ छ । पृथ्वी राजमार्गको सम्पर्कका रूपमा पुललाई उपयोग गर्न सकिने उनले बताए ।

‘पृथ्वी राजमार्गबाट भूपी शेरचन राजमार्ग जाने–आउने सवारीसाधन पोखराको मुख्य बजार प्रवेश नै गर्नुनपर्ने गरी विकल्प तयार हुनेछ,’ उनले भने, ‘यसले पोखराको सवारी व्यवस्थापनमा धेरै सहज हुनेछ ।’

मुख्य चोकमा ट्राफिक व्यवस्थापनमा सहज

पोखराबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई सेती पार गर्न अहिले चाइना पुलकोे विकल्प छैन । एउटा मात्र पुलले अहिले सवारी चाप थेग्न मुस्किल भएको छ ।

चाइना पुलको विकल्पमा अर्को पुल तयर हुँदा मुख्य चोकमा समेत सवारी व्यवस्थापन गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनकुमार मल्लले बताए ।

उनका अनुसार पुल निर्माणले पोखराको मुख्य पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकमा सवारी चाप कम हुनेछ ।

हाललाई भूपी शेरचन राजमार्गबाट पृथ्वी राजमार्गमा सवारी प्रवेश गराउन ती चोकको विकल्प नहुँदा पनि सवारी व्यवस्थापनमा केही जटिलता रहेको ट्राफिक प्रमुख मल्लले बताए । त्यसैगरी महेन्द्र पुलमा रहेको पुलको चापलाई समेत अब बन्ने पुलले कम गर्नेछ ।

सेतीमाथि थप मोटरेबल पुल बन्दै

पोखराको चाप थेग्न सेती नदीमा थप पुल जरुरी रहेको सडक विभाग पश्चिम पुल सेक्टर आयोजना नम्बर ४ का इन्जिनियर नवराज बास्तोलाले बताए ।

उनका अनुसार यहाँका चाइना पुल, महेन्द्र पुल र नयाँबजारमा रहेको अर्काे सानो पुल जीर्ण छन् । त्यसलाई थेग्ने गरी महेन्द्र पुलकै विकल्पको पुल, नयाँबजारमा अर्को पुलका लागि प्रस्ताव पनि भएको छ ।

पुल निर्माणमा ढिलाइ

पुल निर्माणको जिम्मा लिएको हिराचन मुक्तिनाथ जेभीले अघिल्लो कात्तिकमा निर्माण सम्झौता भए पनि काम थाल्दा ढिलाइ भएको जनाएको छ ।

डिजाइन पास, माटो परीक्षणलगायतका काममा ढिलाइ हुँदा समयमा सुरु हुन नसकेको ठेकेदार कम्पनीका कोर्डिनेटर ओम गौचनले बताए । दुई वर्षभित्र सक्ने भनिए पनि आगामी दसैँमा मात्र सकिने उनको भनाइ छ ।

अहिले नारायणस्थान फूलबारी जोड्न आर्क ट्रस्ट पुल बनाइनेछ । सिद्धार्थ राजमार्गमा प्रदेश नम्बर ४ र ५ लाई जोड्ने राम्दी घाटको पुलजस्तै डिजाइनको पुल यहाँ बन्ने ठेकेदार कम्पनीका कोर्डिनेटर ओम गौचनले जानकारी दिए ।

उनका अनुसार यसको ट्रस्ट अहिले चितवनमा निर्माण भइरहेको छ । सडक सीधा तर ट्रस्ट भने अर्थ वृत्ताकारको हुनेछ । देख्दा अकर्षक हुने पुलको जम्मा चौडाइ ११ मिटर हुनेछ ।

त्यसमा दुईतर्फ डेढ–डेढ मिटर चौडाइको फुटपाथ रहनेछ । आठ मिटरमा दुईतर्फी सवारी आउजाउ गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ