बाह्र बर्ष बित्यो… खै राहत ?

बाह्र बर्ष बित्यो… खै राहत ?

Leela gurung

रञ्जन अधिकारी । २०६२ फागुन १५ गतेको दिन अझै ताजै छ लीला गुरुङलाई । सदा झै चिप्लेढुंगाको सडकपेटीमा लहरै फलफूल फिजाँएर बसेकी थिईन् । दिउँसो साढे १ बजेतिर एउटा मोटरसाइकल आयो । ठ्याक्कै उनी पछाडि सडक छेउमा झोला छाडेर हिँडे । केहि छिनमै ड्याम्म पड्कियो । त्यसपछि केहि पत्तो छैन । एकैचोटी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बेडमा आफूलाई पाईन् । ट्याक्सीले ल्याएर हस्पिटलमा छाडेको पछि थाहा भयो ।

तत्कालिन सशस्त्र माओवादीले पोखराको व्यस्त बजार चिप्लेढुंगामा सुरक्षा फौजको गाडीलाई लक्षित गरी बम विस्फोटा गराएको थियो । तर, यसको शिकार उनी सहित ११ जना सर्वसाधारण भए । जहाँ दुई सुरक्षाकर्मी पनि घाईते हुन पुगे ।

इलाम चपेता गाविस २ घर भई पोखरा ४ मा बस्दै आएकी लीलासँगै तनहुँकी लक्ष्मी थापा, पोखरा ६ का कृष्णप्रसाद ढुंगाना गम्भिर घाईते भएका थिए । प्रेम राना, सीता कुँवर, कोपिला मैनाली, रुपक श्रेष्ठ, पोखरामा फलफुल व्यापार गर्दै आएका सिराहाका परशुराम खड्का, कुमार ताम्राकार, सागर गुरुङ, सोनाम छोङ्मेन र अबिजुल्ला मिया माओवादीको शिकार बने । घाईते हुनेहरु अधिकांश फुटपाथमा तरकारी व्यापार गरी बसेका र किनिरहेका ग्राहक थिए ।

सबैभन्दा बढी चोट लीला नै लाग्यो । तत्काल उनको हात काट्नुपर्ने सुझाव डाक्टरले दिए । तर उनले मानिनन्, पछि हात काट्नु परेन । तर अझै पनि बमको छर्राका कारण दुखाई खपिनसक्नु हुन्छ । ‘न सरकार, न त माओवादी । म कसैको परिनँ । मलाई औषधि उपचार खर्च पनि दिइएन । दुई महिना सम्म प्रहरी र प्रशासनकहाँ धाउँदा धाउँदा केहि सीप लागेन ।’ लीलाले दुःखेसो पोखिन् ।

पोखरामा ठूलो भाइसँग बस्दै आएकी लीलाले बिहे गरेकी छैनन् । १७ वर्षदेखि पोखरामा फुटपाथमै व्यापार गर्दै आएकी थिईन् । यस घटनासँगै उनी थला परिन् । ह्विलचेयरमा नै उनले ६ वर्ष ७ महिना कटाईन् । त्यसपछि पोखरा सस्तोबजारमा २०६९ सालमा फलफुल तरकारी पसल गरिन् ।

‘औषधि धान्नै मुस्किल पर्छ । सधैं खाईरहनुपर्छ । ह्विलचेयरमै बसेर सस्तोबजारमा २०६९ सालमा व्यापार सुरु गरेँ । सस्तो बजारमा पनि तीन चार लाख हिनामिना भयो । बस्न दिएनन् । अहिले पाँच महिना भो, हङकङबजारमा झरेको छु ।’ लीलाले भनिन् ।

राज्य र सशस्त्र माओवादीको द्वन्द्वको चेपुवामा परेका लीला जस्ता द्वन्द्वपीडितले अझै पनि राहत पाउन सकेका छैनन् । औषधि उपचार खर्च मात्र दिए पनि आफूहरुलाई राहत मिल्ने लीलाको भनाई छ । ‘राहत दिनुपर्छ । सामानहरु हरायो । सरकारले केहि दिएको छैन ।’ उनको गुनासो छ ।

नियमित जाँच गर्नुपर्ने भन्दै उनले डेढ महिना सुतेर बल्ल अलिअलि उठेर काम गर्न आएको बताईन् । गाउँघर सँगै रहेका पोखरामा शिक्षण गर्दै आएका डिल्लीराम कार्कीले सर्वसाधारण पीडितलाई राज्यले झनै पीडा दिएको बताउँछन् । ‘माओवादी घाईते भएका भए वा सेना प्रहरी घाईते भएका भए केहि भईसक्थ्यो । कोहिकसैको हुन नसकेका नेपाली नागरिकलाई सरकारले हेरेन ।’ कार्कीले भने ।

सात वर्षपछि २०६९ बैशाखमा रामजी बराल (जिवन) स्थानीय शान्ति समितिको अध्यक्ष रहँदा जिल्ला प्रहरी कार्यालयलाई सर्जमिन गरि पठाईदिने व्यहोराको पत्र पठाउनु बाहेक अहिलेसम्म कुनै समितिले केहि पनि गरेको छैन । पूर्वाञ्चाल सेवा समाजले ५ हजार सहयोग गर्नुबाहेक उनले आजसम्म एक पैसो पनि पाएकी छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ