रमिलाको शव खोज्दा अर्कै युवतीको शव भेटियो !

रमिलाको शव खोज्दा अर्कै युवतीको शव भेटियो !

ramila-rai-deadbody_

विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरेर सप्तकोसी नदीमा शव फ्याँकेको वयान दिएका बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङविरुद्ध सोमबार म्याद थप गरिएको छ ।

व्यक्ति बेपत्ता पारेको कसुरमा तत्कालिन एमालेको बेलबारीका पूर्व अध्यक्ष समेत रहेका गुरुङविरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

नदीमा फालेको लामो समय भइसकेका कारण बगाएर अन्यत्र पु¥याएको हुनसक्ने भएकाले शव भेटिने सम्भावना पनि कम रहेको प्रहरीले जनाएको छ ।

हत्या गरेर कोसी ब्यारेजबाट शव सप्तकोसी नदीमा फालिदिएको बयान अनुसन्धानका क्रममा गुरुङले दिएपछि प्रहरीले गत शुक्रबारबाट खोजी गर्ने काम भइरहेको छ । तर फागुन १७ गते रातिबाट बेपत्ता भएकी रमिलाको शव फेला पर्न सकेको छैन ।

शवको खोजीमा अर्को शव भेटियो !

बरु उक्त शवको खोजी गर्ने क्रममा अर्कै एक युवतीको शव फेला परेको छ । प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा शनिबार अर्को शव फेला पारेर अनुसन्धानका लागि सप्तरी प्रहरीको जिम्मा लगाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०/३२ वर्षीया पहाडे मूलको जस्तो देखिने युवतीको शव पानीभित्र सडेको अवस्थामा फेला परेको हो ।

घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरीरका केही भाग माछाले खाएकोले नचिनिने र निर्वस्त्र अवस्थामा रहेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए । उनले सप्तरीमा काहीँ पनि यस अघि महिला वा युवती बेपत्ता भएको र हराएको भन्ने कुनै निवेदन भने नपरेको बताए ।

चिनजानका कोही पनि सम्पर्कमा नआएका कारण पहिचान खुल्न नसकेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको जानकारी उनले दिए ।

उनका अनुसार पुलमा अड्कीएर रहेको आशंकामा रमिलाको शव भेटिन्छ कि भनेर कोसी ब्यारेजका ५२ वटै ढोका खुल्ला गरेर खोजी गर्ने क्रममा अलि तल युवतीको शव फेला परेको हो ।

पहिचान नखुलेकी युवतीलाई पनि कोही कसैले कहीँबाट हत्या गरेर ल्याएर सप्तकोसी नदीमा फालिदिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव निर्वस्त्र अवस्थामा भेटिएका कारण बलात्कारपछि हत्या गरेर फालेको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ ।

फागुन १७ गते राति बेलबारीका नेकपा नेता गुरुङले आफ्नै घरमा मुख र नाक थुनेर हत्या गरेपछि बोरामा पोको पार्दै बा १५ च ७९१६ नम्बरको गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएपछि रमिलाको शव नदीमा फालिदिएको बताएको एसपी केसीले बताए ।

‘सीसी टिभीका केही फुटेजले पनि उक्त गाडी फागुन १७ गते राति इटहरीबाट पश्चिम लागेको देखाउँछ,’ उनले भने, ‘भोलीपल्ट विहान ४ बजेतिर गोठगाउँबाट पूर्व लागेको पुष्टि हुन्छ ।’

कोसी ब्यारेजमा रहेको सीसी टिभी फुटेजमा पनि राति १ बजेतिर गुरुङको उक्त गाडी पुल प्रवेश गरेको देखिन्छ । गुरुङले कोसी ब्यारेजको २९ नम्बर गेटबाट शव नदीमा फालिदिएको बताएको प्रहरीले जनाएको छ ।

गत शनिबार गुरुङलाई पनि शवको खोजीका लागि कोसी ब्यारेज पु¥याइएको थियो । सोमबार साँझसम्म पनि शव भेटिएको छैन । स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् ।

 यो खबर किशोर बुढाथोकीले अन्नपूर्णपोष्टका लागि लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds