श्रीमान् र प्रेमीले बुझ्नैपर्ने महिनावारीको ठिक अघि महिलाको अवस्था

श्रीमान् र प्रेमीले बुझ्नैपर्ने महिनावारीको ठिक अघि महिलाको अवस्था

couple_zV0WzxrKgn

‘त्यतिबेला हाम्रो विवाह भएको सायद दुई वा तीन महिनामात्र भएको थियो । हामी हरेक वा दोस्रो विकेन्डमा फिल्म हेर्न जान्थ्यौं । एक दिन मैले मोना (श्रीमती) लाई अफिसमा अत्यधिक काम भएकाले फिल्म हेर्न जान नसक्ने बताए । यति सुनेपछि उनी अचानक रिसाइन् । त्यो सामान्य रिस थिएन रिसको पारा निकै माथि पुगेको थियो । यति सानो कुरामा पनि किन यति धेरै रिसाएको होला भनेर मलाई अचम्म लाग्यो ।’

यति भन्दै गर्दा सन्तोष हाँसिरहेका थिए । उनीसँगै बसेकी मोना आफ्नो हाँसो लुकाउने कोसिस गरिरहेकी थिइन् ।

दुबैको विवाह भएको एक वर्षभन्दा बढि भइसकेको छ अब उनीहरुबीचको सम्बन्ध निकै प्रगाढ छ । सन्तोष र मोनाको मागी विवाह भएको थियो ।

सन्तोष जुन घटनालाई याद गरिरहेका छन् त्यति बेला मोना प्रि–मिन्स्ट्रुअल स्ट्रेस (पीएमएस) अर्थात् महिनावारी अघिको तनावबाट गुज्रिरहेकी थिइन् ।

राजस्थानको घटनाः

मोना र सन्तोषले जुन कुरा हाँसीहाँसी बताइरहेका थिए त्यसले कहिलेकाँही गम्भीर नतिजा पनि निम्तिन सक्छ ।

केही दिनअघि राजस्थानको अजमेरमा एउटा घटना सार्वजनिक भएको थियो जसमा एक महिलाले आफ्ना तीन सन्तानलाई इनारमा फ्याँकेकी थिइन् । यीमध्ये एकको मृत्यु भएको थियो ।

जब राजस्थान उच्च न्यायालमा मुद्दा चल्यो तब महिलाका वकिलले उनी त्यतिबेला पीएमएसबाट गुज्रिरहेकाले उनले कस्तो कदम उठाइरहेको छु भन्ने थाहा नभएको बताए ।

अदालतले महिलाको वकिलसँग सहमती जनाउँदै उनलाई रिहा गरिदियो ।

के हो पिएमएस ?

महिलाको महिनावारी सुरु हुनु पाँचदेखि सातदिन अघिको समयलाई  पिएमएस भनिन्छ । यतिबेला महिलाको व्यवहारमा केही परिवर्तन हुने गर्छ ।

उनीहरुलाई केही विशेष कुरा खाने इच्छा हुन्छ वा उनीहरुको व्यवहारमा चिडचिडापन देख्न सकिन्छ । यतिमात्र होइन, केही महिलालाई त यो अवस्थामा आत्महत्या गर्ने विचारसमेत पैदा हुनथाल्छ ।

दिल्लीकी स्त्रीरोग विशेषज्ञ डा. अदिती आचार्य पिएमएसलाई सम्झाउँदै भन्छिन्, ‘महिलाको शरिरमा हुने हर्मोन परिवर्तनका कारण पिएमएस हुने गर्छ । यतिबेला महिलालाई शरिरमा पीडा हुन थाल्छ, विशेषगरी पेट र स्तन वरिपरि । यसबाहेक महिलाको मूडमा पनि अचानक परिवर्तन आउन थाल्छ, उनीहरु अचानक रिसाउने र खुसी हुने गर्छन् । स–सानो कुरामा रुनेसमेत गर्छन् । ’

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नल PLosONE  मा पिएमएसमा एक अनुसन्धान प्रकाशित गरिएको थियो । सन् २०१७ को अप्रिलमा छापिएको अनुसन्धान अनुसार ९० प्रतिशत महिला पिएमएसको अनुभव गर्ने गर्छन् ।

यीमध्ये ४० प्रतिशत महिलालाई यो बेला तनाव महसुस हुन्छ र यीमध्ये दुईदेखि पाँच प्रतिशत महिला अत्यधिक तनावको शिकार हुने गर्छन्  जसले उनीहरुको दैनिक जीवनमासमेत असर पुर्याउने गर्छ ।

पुरुषमा जानकारीको अभावः

यहाँ एउटा कुरा के याद गर्नुपर्छ भने यतिबेला महिलालाई सबैभन्दा धेरै मानिसक विश्रामको आवश्यक पर्छ । महिलाहरु आफ्नो साथीले आफ्नो समस्या बुझून्,  मुश्किल समयमा उनीहरुको साथ दिउन् भन्ने सोच राख्छन् ।

स्नातक अन्तिम वर्षमा अध्ययनरत आयुष आफ्नी प्रेमिकाको परिवर्तन भइरहने मूडका कारण चिन्तित थिए ।

उनी भन्छन्, ‘हाम्रो सम्बन्ध दुई वर्ष पुरानो हो । तर सुरुवातमा मलाई थाहा थिएन कि महिलाले यस्तो समस्या झेल्नुपर्छ । एक दिन मेरी प्रेमिका बिना कारण रिसाउन थालिन् र सानो कुरामा नै रुन थालिन् । म पनि त्यतिबेला रिसाएर त्यहाँबाट निस्किएँ ।’

आयुषका अनुसार पछि उनलाई गुगलमार्फत् यसबारे जानकारी भयो । आयुष भन्छन्, ‘अब जब प्रेमिकाको मूड अचानक परिवर्तन भयो भने उनको महिनावारी कहिले सुरु हुँदै छ भनेर सोध्ने गर्छु ।’

डाक्टर अदितीले आयुषको कुरा सम्झाउँदै भन्छिन्, ‘मसँग यस्ता थुप्रै जोडी आउँछन् जसमध्ये पुरुषलाई महिनावारीबारे धेरै जानकारी हुँदैन । उनलाई थाहा नै हुँदैन कि उनका पार्टनरले कस्तो पिडा र अवस्थाको सामना गरिरहेका हुन्छन् । त्यसकारण उनीहरु आफ्नो पार्टनरको परिवर्तित व्यवहारका कारण रिसाउँछन् जसले थप समस्या निम्त्याउने गर्छ ।’

पार्टनरको भूमिकाः

मोना आफ्नो विवाहको सुरुवाती दिन र अहिलेको समयलाई याद गर्दै उनको श्रीमानको व्यवहारमा निकै परिवर्तन भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरा श्रीमानका बहिनीहरु पनि छन् तर उहाँलाई महिनावारीबारे धेरै जानकारी थिएन । उहाँलाई मेरो मूड किन परिवर्तन भइरहन्छ भन्ने थाहा नै थिएन जसका कारण उहाँ आफैं रिसाउनु हुन्थ्यो तर अब धेरै कुरा बुझ्न थाल्नुभएको छ । उहाँको साथ पाएपछि पिएमएसजस्तो मुश्किल समय पनि निकै सजिलै कट्ने गर्छ ।’

PLosONE  रिपोर्ट अनुसार हेट्रोसेक्सुअल जोडीको तुलनामा लेस्बियन जोडीको पिएमएस निकै आरामसँग बित्ने गर्छ । यस अनुसार लेस्बियन जोडीमा दुबै पार्टनर महिला हुने भएकाले उनीहरु एक अर्काको समस्यालाई पनि निकै राम्रो तरिकाले बुझ्ने गर्छन् त्यसकारण मुश्किल समस्यामा आफ्नो साथीलाई राम्रो तरिकाले सपोर्ट गर्न सक्छन् ।

डाक्टर अदिती यसबारे भन्छिन्, ‘पुरुष पार्टनर पनि यदि आफ्नी महिला साथीलाई राम्रो तरिकाले बुझ्न थाले भने आधा समस्या समाधान हुन्छ  । साधारणतया पिएमएसमा अत्यधिक मूड स्विंग हुन्छ तर यदि कसैले अत्यधिक तनावको सामना गरिरहेका छन् भने उनीहरुले डाक्टरको मद्दत लिनुपर्छ ।’

डाक्टर अदिती थप्छिन्, ‘जब पुरुष आफ्नो साथीको पीडा बुझ्न थाले भने उनीहरुको केयर गर्न थाल्छन् जसका कारण सम्बन्ध गहिरिन थाल्छ ।’

महिलाको शरिरमा आउने परिवतर्नको जानकारी दिँदै डाक्टर अदिती भन्छिन्, ‘पिएमएसको क्रममा महिलाको पेट, स्तन र निजी अंगमा रगतको मात्रा बढ्ने गर्छ र उनीहरुलाई पीडा महसुस हुन्छ । अब सोच्नुहोस्, नीजि अंग वरिपरि पीडा भइरहेको छ भने तपाईं कसरी खुसी हुन सक्नुहुन्छ ? यस्तोमा यदि तपाईंको पार्टनरले तपाईंको पीडा बुझिरहेको छ भने कति आनन्द आउला ?’

आफ्नी श्रीमती मोनासँगै बसेर सन्तोष हाँस्दै भन्छन्, ‘सुरुमा त मलाई लाग्थ्यो कि श्रीमतीको महिनावारी सुरु हुनै लाग्दा श्रीमानले सुरक्षा कवच लगाउनुपर्छ । तर अब लाग्छ कि यो मुश्किल घडीमा हामीले उनको सुरक्षाकवच बन्न आवश्यक छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ