ल्याण्डफिल साइटका श्रमिक महिलालाई सुरक्षा सामाग्री, ‘पहिलो पटक मन्त्रीलाई देख्न पाएँ’

ल्याण्डफिल साइटका श्रमिक महिलालाई सुरक्षा सामाग्री, ‘पहिलो पटक मन्त्रीलाई देख्न पाएँ’

mantri basnet

पोखरा । ल्याण्डफिल साइटमा फोहोरको थुप्रो हुन्छ । फालिएका फोहोरबाट पुनःउपयोग गर्न मिल्ने वस्तु संकलन गर्न थुप्रै खटिन्छन् । तर आफ्नो ज्यानको सुरक्षामा उनीहरु कति संवेदनशील छन् ? प्रत्यक्ष ल्याण्डफिल पुगेर हेर्ने हो भने सुरक्षातर्फ ध्यान दिएको पाईंदैन ।

यसै कुराले नारी जागरण अभियान पोखरालाई लाग्यो, त्यहाँका श्रमिक महिलाका लागि सुरक्षा सामाग्री प्रदान गरौं । अभियानकी संयोजक अञ्जु केसी सहितका टोली विहीबार पोखरा महानगरपालिका वडा नं. १४ (साविक १८) बाच्छे बुडुवा पुग्यो । साथमा थिए, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत ।पहिलोपटक काम गर्ने ठाउँमै मन्त्री सहित टोली आउँदा महिलाहरु औधी रमाए । प्रत्यक्ष मन्त्रीलाई देखेको र बोल्न पाएको भन्दै उनीहरु खुशी थिए । नयाँवर्षको शुभकामना आदानप्रदान सहित राखिएको कार्यक्रममा श्रमिकहरुलाई सेफ्टी सामाग्री मास्क, पन्जा, गमबुट जस्ता सामाग्रीहरु बितरण गरिएको संयोजक केसीले गण्डकन्यूलाई बताईन् ।

मन्त्री बस्नेनले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने व्यक्तिहरुबाट मानव स्वास्थ्यका लागि हानिकारक सुक्ष्म जिवाणुहरु फैलने भएकाले मजदुरहरुका लागि स्नान गृह तथा चेन्जिङ रुमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्यको बिषय संवेदनशील भएको बताउँदै सबैलाई आफ्नो स्वास्थ्यमा सचेत भई काम गर्न सुझाव दिए ।

शहरमा बसेकाहरु नै जथाभावी फोहोर फाल्ने गरेकाले वातावरण प्रदुषित बन्दै गएकाले विभिन्न रोग फैलन सक्ने सम्भावना समेत उनले औंल्याए । ‘शहरमा बस्ने धनी र सुकिलामुकिला भनाउँदाले आफ्नो घर चौबिसै घण्टा सफा राखेर, घरबाट निस्केको फाहोर सडकमा फालेर बाताबरणलाई प्रदुषित गरी रोग फैलाउन प्रयासरत छन्’ मन्त्री बस्नेतले भने, ‘त्यसरी जथाभावी फालिएका फोहोरले मानिसलाई विभिन्न खालको रोग लाग्न सक्ने सम्भावना उच्च हुन्छ । यसतर्फ सबै नागरिक सचेत हुन आवश्यक छ ।’

मेहनती मान्छेका लागि काम कुनै पनि ठूलो सानो नहुने भन्दै मन्त्री बस्नेतले आफूले गरेको काममा सबैले गर्व गर्नुपर्ने धारणा ब्यक्त गरे । ‘कुनै पनि काम सानो ठूलो भन्ने हुँदैन’ उनले भने, ‘काम सानो ठूलो हैन । कुन काम कसले कसरी गरिरहेको छ भन्ने मात्रै हो । सबैले आ–आफ्नो काम व्यवस्थित तरिकाले गर्नुपर्छ ।’

नजिकै बसोबास गर्ने युवायुवती आर्थिक अभावकै कारण ज्याला मजदुरीबाट आएको कमाईले पढ्नुपरेको बाध्यता बुझेपछि मन्त्री बस्नेतले उनीहरुलाई उच्च शिक्षाका लागि आफूले सक्दो सहयोग गर्ने बताए । सँगै रहेका वडाअध्यक्षलाई यस सम्बन्धमा ध्यानाकर्षण गराएपछि कार्यक्रममा वडा नं १४ का अध्यक्ष प्रेम बहादुर कार्कीले ल्याण्डफिलमा काम गर्दै विज्ञान विषय अध्ययन गर्दै गरेकी श्रमिक छात्रा मिनाकुमारी रानालाई आगामी शैक्षिक शत्रका लागि २० हजार रुपैँया सहयोगको घोषणा गरे ।

श्रमिक महिलाहरु आफ्नो मनकै कुरा मन्त्रीले बोलेपछि हर्षविभोर बने । ‘अहिले सम्म हामीले मन्त्रीलाई देखेका थिएनौँ । तर, आज आफ्नै सामु प्रत्यक्ष देख्न पाएँ, बोल्न पनि पाएँ । मलाई अचम्म लागेको छ’ श्रमिक महिला लक्ष्मी परियारले भनिन् ।

नारी जागरण अभियानका संयोजक अञ्जु केसीले आफ्ना आवाजहरुलाई बाहिर ल्याउन नसकेका व्यक्तिहरुसँग निरन्तर हातेमालो गरी आम नागरिकका अत्यावश्यक आवश्यकताहरु परिपूर्तिसँगै उज्ज्वल भविष्य बनाउन तत्पर रहेको प्रस्टाईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ