यौन दुव्र्यवहार बिरुद्ध आवाज उठाएकी नुसरतलाई जिउँदै जलाइयो

यौन दुव्र्यवहार बिरुद्ध आवाज उठाएकी नुसरतलाई जिउँदै जलाइयो

death body

एजेन्सी– नुसरत जहान रफीमाथि मट्टीतेल खनाइयो र जीवित नुसरतलाई आगो लगाइयो । र, त्यो पनि उनको स्कुलमा ।  यो घटना हो बंगलादेशको । दुई साताअघि जस्तो नुसरतले आफ्नै स्कुलका प्रिन्सिपलविरुद्ध यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।  नुसरतले आफूमाथि भएको यौन दुव्र्यवहारबारे बोल्ने जुन हिम्मत जुटाइन्, उनीमाथि जसरी आगो लगाइयो, यी सब कुराहरुले अहिले बंगलादेशमा चर्को रुप लिएको छ र विरोध प्रदर्शनहरु चर्किएका छन् ।

यतिमात्र होइन, विश्वले एसियाली देशहरुमा यौन उत्पीडनको अवस्था अत्यन्त कमजोर भएको भन्दै आवाज उठाउन थालेको छ ।  नुसरत १९ वर्षकी मात्र थिइन् । बंगलादेशको राजधानी ढाकाबाट १६० किलोमिटर दक्षिण पर्ने सानो गाउँ फेनीकी नुसरत मद्रासा अथर्वा इस्लामिक स्कुलमा पढ्दै थिइन् । २७ मार्चमा नुसरतले हिम्मत जुटाएर भनेकी थिइन्– मलाई प्रिन्सिपलले अफिसमा बोलाए अनि मेरा संवेदनशील अंगहरुमा छुन थाले, म त्यहाँबाट भागेँ ।

परिवार र समाज दुवैले आफूमाथि थप आशङ्का गर्ने र आफ्नो बेइज्जती हुने डरले बंगलादेशमा धेरै युवतीहरु यस्ता विषयमा बोल्न चाहँदेनन् । तर, नुसरतले आफूमाथि भएको दुव्र्यवहारबारे बोलिनन् मात्र, परिवारको सहयोग खोजिन् र प्रहरीकहाँ उजुरी दिन गइन् । स्थानीय प्रहरी चौकीमा उनले यसबारे बताएकी थिइन् । उनले आफूमाथि भएको दुव्र्यवहारबारे बोल्दा प्रहरी कार्यालयका अधिकारीले आफ्नो मोबाइलमा उनको भिडियो खिचिरहेका थिए ।

भिडियोमा नुसरतले आफ्नो अनुहार छोप्ने बारम्बार प्रयास गरिरहेकी छिन् । प्रहरीले चाहिँ ‘खासै ठूलो कुरा नभएको’ भन्दै उनको भिडियो खिचेका छन् । यही भिडियो स्थानीय सन्चारमाध्यममा आएपछि नुसरतको यो कुरा बाहिर आएको हो । नुसरत जहान रफी एउटा सानो गाउँकी मध्यम परिवारकी किशोरी थिइन् । उनको परिवार पुरातनवादी सोचको भएकाले उनी धार्मिक विद्यालयमा पढ्न थालिन् । २७ मार्चमा नुसरत प्रहरीकहाँ गएपछि उनको स्कुलका हेडमास्टर पक्राउ परे ।

त्यसपछि नुसरत झन् समस्याहरुमा फँस्न थालिन् । पक्राउ परेका हेडमास्टरको रिहाइका लागि धेरैले आवाज उठाए । स्थानीय नेताहरुले हेडमास्टर रिहाइ गर्नु पर्ने विरोधको समर्थन गरे । अनि मानिसहरुले नुसरतविरुद्ध अनेक आरोपहरु लगाउन थाले ।  जसले जति आलोचना गरे पनि ६ अप्रिलमा नुसरत आफ्नो परीक्षा दिन स्कुल गइन् । उनले आफूमाथि भएको दुव्र्यवहारबारे बोलेको ११ दिन मात्र भएको थियो । दाइ महमुदुल हसन नोमानसँग गएकी नुसरतलाई स्कुलको कम्पाउन्डभित्र छिर्न नै दिइएन ।

पछि नुसरत त स्कुलभित्र छिरिन् तर उनका दाइलाई भित्र जान दिइएन ।  पछि नुसरतले भनेअनुसार उनलाई स्कुलको छैटौं तलामा लगिएको थियो । त्यहाँ बुर्का लगाएका केही महिलाले उनलाई पिटेनन् मात्र, उनले लगाएको आरोप फिर्ता लिन पनि दबाब दिए । तर, उनले मानिनन् ।

नुसरतले हेडमास्टरविरुद्धको त्यो आरोप फिर्ता लिन नमानेपछि उनीमाथि मट्टीतेल खनाइएको र आगो लगाइएको नुसरतले बताएकी थिइन् ।  यसलाई नुसरतको आत्महत्या जस्तो बनाउन खोजिएको तर नुसरतले मृत्युअघि दिएको बयानका आधारमा उनको हत्या गर्न खोजिएको पुष्टि भएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । तर, अस्पतालमा पुर्याइएकी नुसरतको ८० प्रतिशत शरीर जलेको त्यहाँका चिकित्सकहरुले बताएका छन् । नुसरतले अस्पताल जाने बाटोमा एम्बुलेन्समा आफू बाँच्दिनँ होला भन्ने आशंकाका साथ दाइको मोबाइलमा नै यो बयान पनि रेकर्ड गराएकी छिन् ।

 ‘त्यो शिक्षकले मलाई छोएकै हुन्,’ उनले भनेकी छिन्, ‘म मेरो अन्तिम सास रहुन्जेल लडिरहनेछु ।’ उनले आफूमाथि आक्रमण गर्ने केही विद्यार्थीको नाम पनि लिएकी छिन् । १० अप्रिलमा नुसरतले अन्तिम सास फेरिन् । त्यसयता प्रहरीले १५ जनालाई पक्राउ गरिसकेको छ । उनको निधनको समाचार स्थानीय सन्चारमाध्यमहरुमा आएपछि उनको अन्तिम संस्कारमा हजारौँ मानिसहरु सहभागि भएका थिए ।

प्रधानमन्त्री शेख हसिनाले नुसरतको परिवारलाई भेटेकी छिन् । ती हेडमास्टर प्रहरी हिरासतमा छन् भने नुसरतको भिडियो बनाएका प्रहरी पनि कारवाहीमा परेका छन् ।  र, बंगलादेशमा अधिकांश मानिसहरु यतिबेला सामाजिक सन्जालमा एउटै दुखेसो पोखिरहेका छन्– मलाई डर छ, मेरो घरमा पनि छोरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ