पोखरा : आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी नपढाउने वडावासीलाई वडाले दिने सेवासुविधा रोक्ने चेतावनी दिएका छन् । पोखरा महानगर–२८ का वडाध्यक्ष निर्मल दियालीले गत २० चैतमा सूचना जारी गर्दै सरकारी विद्यालयमा नपढाउने वडावासीको सेवासुविधा रोक्ने जनाएका हुन् । वडामा १० वटा सरकारी विद्यालय सञ्चालनमा छन् । तर, उनले लेखनाथ आधारभूत विद्यालयमा मात्र आफ्ना सन्तान भर्ना गर्न र अन्यमा गरे सुविधा खोसिने जनाएका हुन् ।
वडावासीलाई सरकारी विद्यालयमा छोराछोरी पढाउन आग्रह गर्ने दियालीले भने करिब १५ किलोमिटर दूरीमा रहेको रामघाटस्थित एक निजी विद्यालयमा आफ्ना सन्तान पढाउँदै आएका छन् । सो विद्यालय अर्कै वडामा पर्छ । उनका छोरा ग्लोबल कलेजियट कक्षा ७ मा र अर्का फूलबारी मन्टेस्वरीमा अध्ययन गर्छन् ।
आफ्नो क्षेत्राधिकार बाहिर गएर वडाध्यक्ष दियालीले सूचना जारी गरेको भन्दै उनको आलोचना सुरु भएको छ । आफूले चाहेको स्थानमा लगेर आफ्ना सन्तान पढाउन पाउने नैसर्गिक अधिकार वडाध्यक्षले खोस्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडाध्यक्ष दियालीले २० चैतमा सूचना जारी गरेका हुन् ।
महानगरका प्रवक्ताले भने– सेवासुविधा रोक्ने अधिकार छैन
वडाध्यक्षले निकालेको सूचनाबारे महानगरका प्रवक्ता धनबहादुर नेपालीले आफू नै अचम्ममा परेको बताए । ‘यस्तो सूचना नआउनुपर्ने हो, वडाध्यक्षले आह्वान वा अनुरोध मात्र गर्ने हो, अभिभावकलाई आफ्नो सन्तान जहाँ लगेर पनि पढाउन छुट छ,’ प्रवक्ता नेपालीले भने, ‘हामीले सरकारी विद्यालयको अवस्था सुधार गरी गुणस्तरीय शिक्षा दिने वातावरण बनाएर अभिभावकलाई आकर्षित गरी भर्ना गर मात्र भन्ने हो, सेवासुविधा रोक्ने अधिकार हामीमा छैन र सक्दैनौँ पनि ।’
वडाध्यक्षको कार्यशैली तानाशाही–स्थानीय
वडाध्यक्षको कार्यशैलीको स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय केदारनाथ अधिकारीले वडाध्यक्ष दियालीको कार्य गलत रहेको बताए । ‘वडाध्यक्षले आफ्नो सन्तान निजीमा लगेर पढाउने अनि जनतालाई भने सरकारीमा पढाऊ नत्र तिमीहरूलाई सेवा दिन्नँ भनी ह्विप जारी गर्नु तानाशाही प्रवृत्ति हो,’ उनले भने ।
वडाध्यक्ष दियाली भन्छन्–मेरा सन्तान सरकारीमा पढाउन सक्दिनँ
वडावासीलाई सरकारी विद्यालयमा आफ्ना सन्तान भर्ना गर्न नभए वडाले दिने सुविधा खोस्ने चेतावनी दिएको विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष दियाली तर्किन खोजे । उनले ‘वडाका कर्मचारीले प्रिन्ट गर्दा मिस्टेक गरे होलान्’ भन्ने जवाफ दिए । आफ्नो परिवार पोखरा बस्ने भएकाले सजिलोका लागि निजी विद्यालयमा सन्तान पढाएको उनको भनाइ छ । वडाध्यक्ष दियालीले आफूले निजी विद्यालयबाट सन्तानलाई झिकेर सरकारी विद्यालयमा भर्ना गर्न नसक्ने स्पष्ट पारे ।
यस्तो छ सूचना
श्री लेखनाथ आधारभूत विद्यालय पोखरा २८ को च.न. २० मिति २०७५÷१२÷१५ को पत्रबाट अनुरोध भई आएअनुसार आ.व. २०७६ को शैक्षिक सत्रमा उक्त विद्यालय क्षेत्रभित्र पर्ने सामुदायिक विद्यालयमा नै भर्ना गराउनुहुन सबै अभिभावकमा वडा कार्यालय हार्दिक अनुरोध गर्दछ । यदि यस सूचनालाई बेवास्ता गरी अन्यत्रै भर्ना गर्न लगेको एवं आसपासको क्षेत्रमा भर्ना गर्न लगेको भनी लिखित सूचना यस वडा कार्यालयमा प्राप्त हुन आएमा निजहरूलाई यस वडाबाट प्रदान गरिने सेवासुविधामा समेत सोच्न बाध्य हुने यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
नयाँ पत्रिका दैनिकमा पत्रकार रोहितराज पराजुलीले खवर लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ