तीन भारतीयद्वारा पृथ्बीचोक स्थित बास बसेकै होटलका संचालकको अपहरण गर्ने प्रयास

तीन भारतीयद्वारा पृथ्बीचोक स्थित बास बसेकै होटलका संचालकको अपहरण गर्ने प्रयास

kidnap-apaharan-

पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेलको अपहरणमा परेको केही समयमै उद्धार भएको छ । बैदाम प्रहरीले अपहरणमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ ।

पौडेललाई अपहरण गर्ने भारतीय विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय पक्राउ गरिएको डिएसपी कोमल शाहले जानकारी दिए ।

वडा प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेको हो । डिएसपी शाहका अनुसार अपहरणमा परेको जानकारी पाउनसाथ स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलामा रोकिएको थियो । अपहरणकारी र उनीहरुले प्रयोग गरेको बी आर १ सी डब्लू ५२७४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर धर्म केसीले जानकारी दिए ।

अपहरणमा परेका पौडेलको अहिले पोखराको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।

अपहरणको कारण खुल्न बाँकी छ : प्रहरी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले होटल सञ्चालक पौडेलको अपहरणको कारण खुल्न बाँकी रहेको बताए । ‘बिल कै कारण यसरी अपहरण गरेको हुन नपर्ने हो, प्रारम्भमा बिलकै कारण हो जस्तो देखिएपनि अन्य कारणपनि हुन सक्छन्, यसको सुष्मरुपमा अध्ययन गर्छौँ’, उनले भने । अपहरणकारी उपर शारिरीक बन्धक तथा अपहरण मुद्दा चलाइने उनले बताए ।

होटल सुरु गरेको १८ दिनमै अपहरण

पौडेलले उक्त होटल नयाँ वर्षको दिनदेखि सञ्चालन गरेका थिए । स्याङ्जा पुतलीबजार १३ मुसिडाँडा स्थायी घर भएका २९ वर्षीय पौडेल यस अघि बैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका थिए ।

पृथ्वी होटल व्यवसायी समिति पोखराका उपाध्यक्ष बालकृष्ण न्युरेले यस घटनाले व्यवसायीमा थप असुरक्षाको महसुस भएको बताए । भारतीय पर्यटकहरुको दादागिरी अति नै हुनेगरेको भन्दै उनले प्रशासनलाई सुरक्षा दिनसमेत आग्रह गरेका छन् ।

यस्तो छ घटना विवरण

भारतको विहारबाट पोखरा आएका सुनिलकुमार तिवारी, सुन्दरम तिवारी र अविजित राय मंगलबार साँझ ५ बजे होटल निलकमल पुगेका थिए ।

होटलमा रात बिताएका उनीहरुले झन्डै २५ हजार बराबरको रकम तिर्नु पर्ने थियो । बिहान ७ ः४५ बजे आफुसँग पैसा नभएकोले एटिएमबाट पैसा निकालेर दिने भन्दै उनीहरुले पौडेललाई गाडिमा राखेर सृजना चोकतर्फ लागे ।

उनीहरु राष्ट्र बैंक चोक हुँदै ड्यामसाईड पुगेर होटल केसीमा चिया खाएको पौडेल बताउँछन् । पृथ्वीचोकबाट ड्यामसाईडसम्म पुग्दा आफुलाई शंका लागेकोले पौडेलले तिमीहरुले के गर्न खोजेको भन्दै प्रश्न गरे । पौडेलले प्रहरी र आफन्तलाई फोन गर्न खोज्दा उनीहरुले मोबाईल नियन्त्रणमा लिएर मुख थुनेर कुट्दै घाँटी अठ्याएका थिए ।

गुडिरहेको गाडिबाट चिच्याउँदै उनले खुट्टाले कारको ढोकामा हान्दा ढोका खुलेर ग १ ज १८८९ नंम्बरको ट्याक्सिसँग ठोकिएको थियो । ट्याक्सिका चालक तोयनाराण ढकालले ‘मलाई बचाउ’ भन्ने आवाज सुनेपछि अपहरणकारीले गुडिरहेको गाडिबाट पौडेललाई बाहिर हुत्याइ दिएका थिए ।

सडकमा बजारिएका पौडेललार्ई स्थानीयले उद्धार गरी छोरेपाटन प्रहरी चौकी पु¥याइ बैदाम प्रहरीलाई खबर गरेका थिए । तत्कालै केही युवाले उक्त गाडिको पिछा गरेका थिए । पौडेललाई अपहरण गरेर भागेको कार भोटे क्याम्प हुँदै प्रहरी चौकी छलेर स्याङ्जाको फेदीखोला पुगेको थियो । फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारीलाई समातिएको हो ।

साभार : नयाँपत्रिका दैनीक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ