आफ्नै भिनाजुसँग मिलेर पतिको हत्या !

आफ्नै भिनाजुसँग मिलेर पतिको हत्या !

death body

बुटवल : बुटवल मैनावगर बस्दै आएका फिरोज खानको जीवनमा सुखै थियो। करिव २० वर्षअघि भारतको विहारबाट नेपालमा रोजगारीका लागि पसेका उनी गाडीमा सुनौला रङ भर्थे। उनी ज्योति इन्जिनियरिङका हेड मिस्त्री थिए। विहानै जागिरमा जाउनु, काम गर्नु, साँझ घर फर्किनु उनको दैनिकी थियो। बुटवल आएपछि उनले साहीन खातुनसँग विवाह गरे। दुई छोरा रहिन र राहेश जन्मे।

चैत १२ गते फिरोजका लागि सधैजस्तै रहेन। घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर साढु दाई ( श्रीमतीका भिनाजु) आएका थिए। गढी टोलमा भाडामा लिएको घरमा छोराहरूसँग उनी बस्थे। फिरोज सधैजस्तै काम सकेर घर फर्किएका थिए। तर घरभित्र पस्नै नपाइ पछाडीबाट कसैले गोली चलायो। पछाडीबाट हानिएको गोली छाती छेडेर बाहिर निस्कियो। रगतको आहाल बग्यो। फिरोज भुईंमा ढले।

छोराहरु चिच्याउदै बाहिर निस्किए। छिमेकीको जमघट भयो। तर भारतीय नम्बर प्लेटको मोटरसाइकल गायव भइसकेको थियो। अस्पताल नपुग्दै प्राण त्यागेका फिरोजलाई लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरे। उनको हत्या कसरी भयो भन्ने अनुमान लगाउन प्रहरीले ढिला गरेन। उनैकी श्रीमती साहीन खातुनप्रति लख् काट्यो। अनुसन्धानमा प्रमाण समेत फेला पर्‍यो। श्रीमतीसँग कहिल्यै झगडा नगरेका फिरोज तिनै श्रीमतीबाटै मारिए। कारण थियो, साहिन र उनको भिनाजु कादीर अन्सारीबीच प्रेम।

प्रहरीले साहिनको मोबाइल जाँच गर्‍यो। भिनाजुलाई कल गरिएका केही नम्बर डेलिट भइसकेका थिए। केही नम्बरले शंका उब्जायो। कल डिटेल हेर्दा उनीहरुको सम्बन्ध लामो समयदेखि रहेको प्रमाणीत भयो। अन्सारीले साहिनकी दिदीको मृत्यु भएपछि सालीतर्फ आँखा लगाएका थिए। फिरोजको सोझोपनको फाइदा उठाउँदै साहिन भिनाजुसँग मोहित भएकी थिइन्। प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले कच्चा खेल खेल्दै निर्दाेष फिरोजको लिला सकाउने योजना बनाएका थिए।

प्रदेश प्रहरी प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार फिरोजको हत्या श्रीमती र श्रीमतीका भिनाजुको पूर्व योजनाअनुसार गरिएको अनुसन्धानमा भेटियो। हत्यामा संलग्न ३५ वर्षीय कादिर अन्सारी फरार छन। उनको खोजी भइरहेको छ। साहिन जेल परेकी छन्। नावालक दुई छोरा भारतको बिहार फर्किएका छन्।

प्रदेश ५ मा पछिल्लो छ महिना यता यस्ता चार वटा हत्याका घटना भएका छन्। श्रीमान् श्रीमतीको बेमेल, श्रीमान्को अन्य महिलासँग लसपस, श्रीमतीको परपुरुषसँग सम्बन्ध र अन्तरजातीय प्रेमले जघन्य अपराध जन्माएका छन्। यस्ता अपराधमा साना हतियारको प्रयोग बढेको छ। वारी गोली हान्ने र पारी लुक्ने प्रवृति दोहोरीएको छ। सुरक्षा निकाय खुला सीमानालाई दोष दिँदै आएका छन्।

कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले खुला सीमा, सिमित सुरक्षा जनशक्ति र कमजोर उपकरणका कारण अपराधी हतियारसहित नेपाल प्रवेश गर्ने गरेको बताउँछन्। कपिलवस्तुमा छ महिनामा छ वटा हत्याका घटना भएका छन्। सबैमा साना हतियारको प्रयोग भएको छ। प्रदेश ५ प्रहरी कार्यालय दाङका अनुसार फिरोज खानकै जस्तै हत्याका तीन घटनाा पछिल्लो दुई महिनामा भएका छन्।

श्रीमानकै निर्देशनमा फागुन ११ गते कपिलबस्तुका बाणगंगाकी अनिता पौडेलको हत्या भएको थियो। शुक्रबारको दिन पौडेलको घरमा दुई व्यक्ति पाहुँनाका रुपमा पसे। घरमा पाहुँना बनि दुई व्यक्ति आएपछि अनिताले मासु खान पकाएर खुवाउने योजना बनाइन्। नजिकैको पसलबाट कुखुराको मासु ल्याइन्। पाहुना आएका दुई व्यक्तिले आफ्नो जन्मदिन भन्दै अनिताका दुई छोरा र छोरीलाई केक खुवाए। केकसंगै ती व्यक्तिले फ्रुटी दिएको अनिताकी ९ बर्षिय छोरी दिया पौडेलले प्रहरीलाई बताएकी छन्। केक र फ्रुटी खाएपछि उनीहरू अर्धचेत भए। बालबालिका त बिहान उठे तर अनिता कहिल्यै नउठ्ने गरी सुतिन्। पाहुना आएकाले उनको हत्या गरेका थिए।

पाहुना अरु कोही नभई भिनाजु श्रीहरी गौतम र आफन्त पर्ने गुनाखर गौतम थिए। जुन उनकै श्रीमान विष्णु पौडेलको आग्रहमा अनिताको हत्या गर्न आएका थिए। प्रहरीले करिव डेढ महिनापछि तथ्य सार्वजनिक गरेको हो। सम्पत्तिको लागि उनको हत्या भएको प्रहरीले जनाएको छ। मृतक अनिता र उनका श्रीमान विष्णु पौडेलबीच लामो समयदेखि विवाद थियो।

विष्णु अनितासँग सम्बन्धविच्छेद गर्न चाहन्थे तर, अनिताले त्यो कुरा अस्विकार गर्दै आएकी थिइन्। अनिताको नाममा सम्पत्ती थियो। विष्णुले भारतमै अर्काे विहाह गरेका थिए। त्यो सम्पत्ती कान्छी श्रीमतीलाई दिन उनले अनिताको हत्या गराएका थिए।

पाल्पा रिम्दीकोटकी ५० वर्षीया ओमकुमारी घर्तीको त्यसैगरी हत्या भयो। जसको कारण पनि प्रेम नै थियो। घर्ती स्थानीय ४६ वर्षिय नुरबहालुर विश्वकर्मासँग प्रेम गर्थिन्। बुढ्यौली प्रेम तर विश्वकर्माले उनलाई प्रयोगमात्रै गरे। घर्तीले बिहे गरौं भनेर दबाब दिएपछि विकले ओमकुमारीलाई भागेर बिहे गरौ भन्दै लगेर हत्या गरेका थिए। विश्वकर्मालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ।

चैत १७ गते कृष्णनगर नगरपालिका–१० विद्यानगरका पारस पुरीको पनि गोली हानी हत्या भयो। रुपन्देहीको देवदहमा २२ वर्षिया अनिस पुरीको पनि हत्या भयो। यी हत्या छिटो पैसा कमाउने र कच्चा प्रेम्सम्बन्धका कारण भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ल भन्छन, ‘छिटो पैसा कमाउने लालचले समाजका कतिपय व्यक्ति अपराधमा होमिएका छन्।’  अन्नपूर्णपोष्टका लागि लक्ष्मण पोखरेलले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ