आफन्तै हिंस्रकः रक्सीको नसामा परिवारभित्रैका सदस्यको हत्या

आफन्तै हिंस्रकः रक्सीको नसामा परिवारभित्रैका सदस्यको हत्या

Sudden depature

दोलखा । जिल्लाको जिरी नगरपालिका–१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन् । पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो । चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन् ।

रक्सीको नशामा आइपुगेका ङिमाले सो दृश्य देखेपछि पत्नीप्रति शंका गर्न थाले । पतिले पत्नीमाथि नाजायज सम्बन्धको आरोप लगाएपछि उनीहरूबीच सुरु भएको विवादले उग्र रूप लियो । ङिमा पत्नीमाथि कुटपिटमा उत्रिए। लगत्तै फुर्लमुले दाउराको चिर्पटले जवाफी हमला गरिन् । भुइँमा ढलेका ङिमाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । फुर्लमु अहिले पुर्पक्ष थुनामा छिन् ।

त्यस्तै गौरीशंकर गाउँपालिकाको झ्याँकु गाउँका छिरिङ शेर्पा र खम्सु शेर्पा दाजुभाइ हुन् । उनीहरू खुब मिल्थे । भाइ खम्सुलाई गाह्रोसाह्रो पर्दा दाजुले नै सहयोग गर्थे । भाइ पनि दाजुलाई सुखदुःखमा साथ दिन्थे । भाइ बिस्तारै रक्सीको लतमा फसे । ज्यालादारी काम गर्दै आएका उनले काममा ध्यान दिन छाडे । कमाइ कम भएपछि रक्सी पिउन पैसा पुग्न छाड्यो ।

त्यसपछि उनले छिमेकीको सामान चोर्दै बेच्न थाले । गाउँमा परिवारकै बदनाम हुन थालेपछि छिरिङले खम्सुलाई सम्झाउन थाले । रक्सीको नशामा रहेका खम्सुले धारिलो हतियारले हानेर दाजुको हत्या गरे। खम्सु अहिले कारागारमा छन् । यी घटना प्रतिनिधिमूलक घटना र पात्र हुन् । यस्ता घटनाले परिवारमा भित्रभित्रै झाँगिँदै गएको अपराध कर्मको वास्तविकता चित्रण गर्छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्दा शाखामा वर्ष दिनयता दर्ता अपराधका घटनाहरूको फेहरिस्त हेर्दा कर्तव्य ज्यानदेखि, करणी उद्योग हुँदै सार्वजनिक अपराधसम्म गम्भीर प्रकृतिका अधिकांश घटना परिवारभित्रै भएका देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ । -नागरिक दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ