राजमार्गमा हुने दुर्घटना न्युनिकरण गर्न तनहुँको जामुनेमा युवा क्लबको सक्रियतामा अतिक्रमित पुराना घर भत्काइयो

राजमार्गमा हुने दुर्घटना न्युनिकरण गर्न तनहुँको जामुनेमा युवा क्लबको सक्रियतामा अतिक्रमित पुराना घर भत्काइयो

Jamune4

किरण श्रेष्ठ, तनहुँ । पुरानो सडक त्यही माथि वर्षेनी थपिएको हजारौं सवारि साधनका भार सडक लाई थाम्न गाह्रो भईरहेको छ ।

करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ जामुनेमा सडक अतिक्रमण गरि बनाइएका बजार क्षेत्रका पुराना घर भत्काइएको छ ।

उक्त अभियानको अगुवाई भने जामुनेको स्थानीय न्यु भिजन युवा क्लबले गरेको छ । सडक नजिकै घर भएको हुदाँ धेरै दुर्घटना हुने गरेको स्थानिय बताउछन ।

सडक साँघुरो भएकाले पृथ्वी राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सडक विस्तारको कामलाई अघि बढाइएको न्युन भिजन युवा क्लबको अध्यक्ष सन्दिप रानाभाटले बताए । गत शनिबार र आइतबार उक्त १२ वटा घर भत्काईएको रानाभाटले बताए ।

सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक सामान्य मर्मत गरेपनि पूर्ण स्तरोन्नती भएको थिएन । यसका लागि सडक बोर्डले राजमार्गको मापदण्ड अनुसार जग्गा अधिग्रहण गरिसकेको छ । अब भने पहिलो पटक स्तरोन्नी हुने भएको छ ।

चार वर्षअघिदेखि क्लबको अतिक्रमित सडक हटाउने अभियानले सार्थकता पाएपछि गत शनिबार स्थानीयको समेत सहभागितामा सडक क्षेत्रका अतिक्रमित पुराना घर भत्काइएको छ ।

क्लबको अगुवाईमा जामुने टोल विकास समिति, भिमसेन टोल आमा समूह, न्यु भिजन प्रगतीशिल दिदी बहिनी समूहले समेत क्लब संग उक्त अभियानमा सहकार्य गरेको थियो ।

जामुनेका युवा, महिला तथा वृद्ध–वृद्धाको मध्य कसैको हातमा घरका पुराना चौकोस थियो त कसैको हातमा जस्तापाता ।

प्रत्येक घरधुरीबाट एक-एक जना गाउँले जुटेर पृथ्वी राजमार्गलाई फराकिलो बनाउने अभियानमा जुटेका थिए ।

राजमार्गको दायाँ–बायाँ ९ मिटर सडक फराकिलो पारेर आसपासका क्षेत्रलाई आकर्षक बनाउन वृक्षारोपण सहितको योजना अघि बढाइएको क्लबकी सदस्य संगिता श्रेष्ठले बताइन्।

जामुने टोल विकास समितिका अध्यक्ष धुर्व कुमार श्रेष्ठका अनुसार सडक फराकिलो बनाएर दुवैतर्फ वृक्षारोपण गर्ने तयारी छ । पहिलो चरणको मुख्य काम सडक बिस्तार भएकाले काम शुरु गरेको अध्यक्ष श्रेष्ठले बताए ।

पृथ्वी राजमार्गको जामुने बजार क्षेत्रमा सडकका दुवै तर्फका ९ मिटर परिधिभित्र रहेका १२ वटा घर भत्काइएको न्यु भिजन युवा क्लबका अध्यक्ष सन्दिप रानाभाटले बताए ।

‘पहिलो चरणमा वैकल्पिक घर भएका स्थानीयको घर भत्काएर सडक फराकिलो पार्ने काम गर्‍यो,’ उनले भने, ‘बाँकी ३ वटा घरलाई पनि एक हप्ताको समय सीमा दिएका छौ ।’ अब आउने शनिबार उक्त ३ वटा घर समेत भत्काईने उनले बताए ।

अबको १ वर्षमा करिब १६ वटा घर भत्काउने लक्ष्य रहेको रानाभाट बताउछन । २-३ घर लाई भने तत्काल सर्न समस्या भएको हुँदा क्लबले नै आफैले भाडा तिरेर २-३ महिना नयाँ घर नबने सम्म बस्ने व्यवस्था मिलाउने उनले बताए ।

सडक विस्तारको क्रममा घर भत्काउँदा पछिल्लो खण्डको जग्गा आफ्नो नभए पछिल्लो घरधनीले अघिल्लो घर धनीलाई केही रकम सहयोग गर्ने गरेका छन् ।

आफ्नै करिब ३ लाख रुपैयाँ खर्चमा क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष रानाभाटले बताए ।

यस अघि क्लबले सि सि क्यामेरा जडान, तिज गित कार्यक्रम, बजार सरसफाइ कार्यक्रम, दुखी गरिबलाई सहयोग, मिर्गौला पीडितलाई सहयोग, सडक बत्ती लगाएत विभिन्न साँस्कृतिक कार्यक्रम गरेको अध्यक्ष रानाभाटले बताए ।

पृथ्वी राजमार्ग ४ लेनको हुने

पृथ्वी राजमार्गको सडक निर्माणका लागि एडीबीले सहमति जनाईसकेको छ । केही समयमा नै सम्झौता गरेर टेण्डर प्रक्रियामा लैजाने सडक बोर्डका तर्फबाट एडीबीका प्रोजेक्ट डाईरेक्टर दीपक श्रेष्ठले जानकारी दिए । ‘शहरी क्षेत्रमा ६ लेनको सडक बन्छ । अरु ठाउँमा डेडिकेटेड ४ लेन हुन्छ,’ उनले भने, ‘एडीबीले ऋण दिन सहमति जनाएको छ । छिटै प्रक्रियामा जान्छ ।’

शहरी क्षेत्रमा भने ६ लेनको सडक बन्नेछ । दुईतिर सर्भिस लेन, फुटपाथ सहित बजारी क्षेत्रमा ४२.५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकीलो बाटो बन्नेछ । ८८ किलोमिटर लामो सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नती गरिने उनले सुनाए । ‘पहिलो फेजमा आँबुखैरेनी देखि पोखरासम्मको ८० किलोमिटर सडक स्तरोन्नती हुन्छ । यसको डिजाईन तयार भैसकेको छ,’ उनी भन्छन्, ‘आँबुखैरेनीदेखि मुग्लीनसम्मको खण्डमा काम गर्न निकै कठिन छ । यसको पनि डिजाईन बन्दैछ । तर फाइनल भएको छैन ।’

उनका अनुसार मुग्लीन–आँबुखैरेनी खण्डमा अहिले भैरहेको बाटो भन्दा फरक ट्रयाक बनाउने तयारी छ । मुग्लीनबाट दुई लेनको सडक गोरखा छिराएर मस्र्याङदी पावर हाउस नजिक जोड्ने गरि डिजाईन बनिरहेको श्रेष्ठले बताए । पूरा लम्बाईमध्ये ६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ ।

यो सडक पूर्ण रुपमा स्तरोन्नती गर्न करिब २८ अर्व लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । यसमध्ये ४ अर्व रुपैयाँ मादी र सेतीमा आकर्षक पुल बनाउन लगानी लाग्ने छ भने पहिलो चरणमा सडक स्तरोन्नतीमा ६ अर्व लाग्नेछ भने दोश्रो चरणमा ८ अर्व लाग्ने अनुमान छ ।

३ बर्ष निर्माण समय र पछिल्लो ५ बर्ष मर्मत गरी ८ बर्षको लागि ठेक्का सम्झौता हुने बताईएको छ । सडकमा करिब २७ लाख घनमिटर निर्माण सामग्री आवश्यक पर्छ । यो सामग्री कोत्रे, मादी र मस्र्याङदी नदी किनारबाट निकाल्ने प्रश्ताव गरिएको छ ।

हजार घर हटाउनुपर्ने

सडक विस्तारको क्रममा मापदण्डभित्र पर्ने करिब १ हजार घर टहरा हटाउनुपर्ने अध्ययनले देखाएको छ । यस्ता घर सबैभन्दा धेरै दमौलीदेखि खैरेनीटार खण्डमा छन् । यो खण्डमा मात्रै २ सय ६७ घर टहरा हटाउनुपर्ने छ भने खैरेनीटार–पोखरा क्षेत्रमा २ सय ५८, मुग्लिनदेखि डुम्रे खण्डका २ सय ३७ र डुम्रेदेखि दमौलीसम्मका ९८ घर टहरा भत्काउनुपर्ने अध्ययन रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ