तत्कालीन माओवादीले गराएको विष्फोटमा ४२ जनाको ज्यान गएको १४ बर्ष पूरा

तत्कालीन माओवादीले गराएको विष्फोटमा ४२ जनाको ज्यान गएको १४ बर्ष पूरा

Badarmudhe-ghatana

चितवन । चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १४ बर्ष पुगेको छ । वि.स २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विस्फोटमा पर्दा घटना स्थलमै ३८ जनाको ज्यान गएको थियो । ७५जना घाइते भएका थिए । घटनामा परी घाइते भएका ४ जनाको पनि मृत्यु भइसकेको छ ।

घटना पश्चात पीडितको राहतका लागि विभिन्न समयमा बोलिएका, कार्यक्रम गरिएका प्रयास असफल हुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन् । घटना घटेको एक बर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परि आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।

तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटकपटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुन सक्ने गरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।

तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन । मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने समहमती भएको थियो ।

घाइतेको अवस्था हेरी औषधी उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृती दिने सहमती थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमुना संग्राहलय बनाउने अर्को सहमती पनि भएको थियो । अहिले यी सहमती कुनै पनि पुरा भएका छैनन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि पिडित परिवारले घटना स्थलमा धुपबत्ती बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । बिगतका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उनले बताए ।

घटना भएको १४ वर्ष पुग्दा पनि पिडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पिडित परिवारले केहि पाउन नसकेको गुनासो गरे । घटनामा घाईते भएका १५ जनाले अहिले पनि औषधी खाइरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।

वाँदरमुढेमा पार्क निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन तयार गरि बजेट माग गरिएको बताउँदै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले आउँदो आर्थिक वर्षबाट काम गर्ने गरी बजेट विनियोजन भएको भन्ने सुनिएको बताए । स्वरोजगार कार्यक्रमअन्तर्गत २५ पिडित परिवारलाई रु १ लाखका दरले अनुदान दिन लागिएको ढकालले बताए ।

मृतकको सम्झनामा घटनास्थल बाँदरमुढे खोलामा स्थानीय प्रशासन, नेपाली सेना र स्थानीयबासिन्दाबाट उठाएको सहयोग रकमबाट स्मारक निर्माण गरिएको छ । बम बिस्फोट गराउनको लागि माओबादी कार्यकर्ताहरुले कासधारी हुँदै ३ सय मिटर भन्दा बढीतार बिछयएका थिए । यात्रुहरु बोकेर बस भरतपुर तर्फ आउँदै थियो । राजधानी दैनिक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ