युद्धग्रस्त लिबियामा लमजुङका तीनसहित ४ जना नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

युद्धग्रस्त लिबियामा लमजुङका तीनसहित ४ जना नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

libiya

काठमाडौं- रोजगारीका लागि लिबियाको बाटो हुँदै इटली हिँडेका ४ जना नेपाली लिबियाको शसस्त्र समूहको अपहरणमा परेका छन् । अपहरणमा परेपछि ती युवाले नेपालस्थित आफन्तहरुलाई खबर गरेपछि यो विषय सार्वजनिक भएको हो ।

अपहरणमा पर्ने नेपालीहरुमा लमजुङका पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेको बताइएको छ ।  एक हप्ताअघि विद्रोही शसस्त्र समूहको अपहरणमा परेका उनीहरुलाई यातना दिनुका साथै हातखुट्टाका नङसमेत तानेर उप्काइदिएको छ।  उनीहरुलाई लिबियाको राम्रो कम्पनीमा र त्यहाँ नभए अस्पतालमा काम भएको र कमाई पनि निकै राम्रो हुने भन्दै एजेन्टले भिजिट भिसामा लिबिया पुर्याएका थिए।

नेपाल सरकारले नेपालीहरुलाई लिबिया जान प्रतिबन्ध लगाएको छ। वैधानिक रुपमा लिबिया जान नपाउने भएपछि उनीहरुलाई युएईको भिजिट भिसा बनाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडाइएको थियो।

युएईमा एक महिना होटलमा राखेर लिबिया पुर्याइएको थियो। नेपालबाट लिबिया जान उनीहरुले नेपाली ऐजेन्टहरुलाई प्रतिव्यक्ति ३ लाखभन्दा बढी बुझाएका थिए।  लिबिया पुगेपछि पनि भिसा सुरक्षाका लागि भन्दै पाकिस्तानी एजेन्टलाई ३ देखि ६ लाखसम्म बुझाएका थिए।

युद्धग्रस्त मुलुकमा पुगेका ती नेपाली युवालाई भनेजस्तो काम र तलब पनि थिएन। बम र बारुदको त्रासमा रहेर काम गरिरहेका थिए। सोही समयमा उनीहरुले बंगलादेशी एजेन्टलाई ३ सय डलर देखि ६ सय डलर तिरेर इटली जान लागेका थिए।

इटली जाने क्रममा पानीजहाजबाट नै ४ जना नेपालीसहित ३८ जना आप्रवासीलाई शसस्त्र समूहले अपहरण गरेको हो। जसमा ४ जना नेपाली, १२ जना बंगलादेशि र २२ जना नाइजेरियन रहेको जनाइएको छ।

लिबिया पुगेर अलपत्र परेपछि लिबियास्थित नेपाली शान्ति सेना, इजिप्टको कायरोस्थित नेपाली राजदूतावास र अन्तराष्ट्रिय आप्रवासी संगठनले उद्धार गरेर फर्काइएका सैनामैना-१०, रुपन्देहीका गणेशबहादुर थापाका अनुसार अपहरणमा परेका नेपाली युवा केहीदेखि लिबियामा कार्यरत थिए।

उनले भने, ‘हामी नेपाल आउने बेलमा जाउँ भनेको थियो, उनीहरू इटाली जाने भनेर आउन मानेनन्, अहिले पक्राउ परेछन्।’

एक हप्ता अगाडि पक्राउ परेका उनीहरु आइतबार परिवार तथा आफन्तहरुको सम्पर्कमा आएका थिए । थापाका अनुसार ती युवाहरुको सबै नङ निकालिएको छ, उनीहरुलाई शसस्त्र समूहले विभिन्न यातना दिएर जीवनमरणको दोसाधमा पुर्याएको छ।

योभन्दा अघि लिबियामा अलपत्र परेका २० जनाभन्दा बढी नेपाली कामदारहरुलाई इजिप्टस्थित नेपाली दूतावासलगायत अन्य संस्थाको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको थियो । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीका अनुसार लिबियामा समस्यामा रहेका नेपाली कामदारहरुका सम्बन्धमा इजिप्टस्थित नेपाली दूतावासले काम गरिरहेको छ। ‘अपहरणमा परेका नेपालीका सम्बन्धमा जानकारी प्राप्त भएसँगै उद्धारका लागि सक्दो पहल गर्न परराष्ट्रले दूतावासलाई खबर गरिसकेको छ,’ उनले भने।
nepallive.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds