काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापामाथि यतिबेला सबैतिरबाट प्रहार भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको बाटो काट्दै गरेको फोटो राखेर उनले ‘को कस्तो तस्बिर काफी छ’ भन्ने स्टाटस सामाजिक संजालमा राखेपछि सबैतिरबाट उनिमाथि प्रहार भएको छ ।
यहि विषयलाई लिएर उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदी (विमसु) ले पनि सूर्य थापाको उक्त स्टाटसमाथि टिप्पणी गर्दै उनकै कारण प्रधानमन्त्री सबैतिरबाट बद्नाम हुनु परेको भन्दै उनलाई सम्मानित दर्जाबाट मुक्ति दिलाएर पार्टी र सरकारको इज्जत बचाउनु पर्ने बताएका छन् ।
पत्रकार समेत रहेका सुवेदीको स्टाटस यस्तो छ:
साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क. वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ ।
उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षकाविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।
सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ? पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ?
०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ ।
यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ । कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?
खासमा यो सूर्य थापा भनेको कुनै संगठन प्रणालीबाट विकास भएर आएको नेता होइन । जनताको बीचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन । काठमाडौं आउँदा (०४९ सालतिर) सरस्वती क्याम्पसको पढाई खर्च धान्नका लागि कांग्रेससम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेपरेकर्ड काण्ड लागेको मान्छे । ०५१ मा मनमोहन सरकार बनेपछि गोरखापत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ति भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो ।
पार्टीको मुखपत्र नवयुग मुद्रणमा भएको घोटाला काण्ड फेरि पनि खोतलियोस् । हामी पार्टीलाई लेबी तिर्छौ, यो केटाले तलबले नपुगेर चोरेर खान पनि भ्यायो । अखिलको क्याम्पस प्राकमा सचिवसम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बीचमा राजनीति नगरी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो ।
माधव नेपाल शक्तिमा आए उनैको भक्ति, झलनाथ आए उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह लगाइयोस् भन्ने माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ ।
यसबाहेक यो मान्छेका अरु व्यक्तिगत स्वभावका टिप्पणी नगरौँ । हामी उसले नेताहरुलाई बद्नाम गर्ने धन्दा चलायो भन्ने नाममा उसका निकृष्ट व्यक्तिगत चरित्रतर्फ जाँदैनौं । मात्रै, यस्ता मान्छेलाई सम्मानित दर्जाबाट मुक्ति दिलाए पार्टी र सरकारको इज्जत बच्ने थियो ।
बामदेवको तस्बिर राख्दै ओलीका सल्लाहकारले भने – को कस्तो ? तस्बिर काफी छ !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा विवादलाई बल्झाउने गरि एक फेसबुक स्टाटस पोष्ट गरेका थिए ।
यद्यपी त्यो पोष्ट चर्को आलोचनापछि उनले डिलिट गरिसकेका छन् । उनले पार्टीका उपाध्यक्ष बामदेव गौतमको विवादित तस्बिर राख्दै को कस्तो ? तस्बिरबाटै बुझिने लेखेका थिए । नेकपाभित्र विवाद बल्झिरहेको बेला उनले गौतमलगायतका नेताहरुलाई इंकित गर्दै स्टाटस सेयर गरेका हुन् । उनको स्टाटस सामाजिक सञ्जालमा निकै चर्चा छ ।
पछिल्लो समय सत्तारुढ नेकपाभित्र चरम विवाद छ ।कतिपयले थापाको पोष्ट निकै अमर्यादित भएको पनि टिप्पणी गरेका छन् ।
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा