राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ ।
यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए ।
विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो । तर, विद्यालयहरूले कार्यविधिविपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो ।
तर, बोर्डले विद्यालयले पठाएकै नम्बरलाई मान्यता दिएको नतिजाबाट पुष्टि भएको छ । विद्यालयले बढाएर नम्बर दिएपछि त्यसलाई ढाकछोप गर्न बोर्डले यस वर्ष कति विद्यार्थीले कुन–कुन जीपीए प्राप्त गरे भन्नेलगायत तथ्यांक सार्वजनिक गरेन । ‘विशेषगरी सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’ शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले भने ।
विद्यालयले इकाइमा र इकाइले बोर्डमा प्राप्तांक पठाउँदा नम्बर बढाएर दिएको भेटिएको थियो । स्रोतका अनुसार तराईसहित २४ जिल्लाले अस्वाभाविक रूपमा नम्बर दिएपछि फिर्ता पठाउने विषयमा पनि बोर्डमा छलफल भएको थियो तर फिर्ता नपठाई नतिजा सार्वजनिक गरिएको हो । कान्तिपुर दैनिकले लेखेको छ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो