पहिलो टी–२०: कतारमाथि नेपालको सानदार जित

पहिलो टी–२०: कतारमाथि नेपालको सानदार जित

mahila-cricket

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८÷८ रन जोडिन् । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् ।

कतारका पाँच खेलाडी शून्य रनमा आउट भए । कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर र सीता राना मगरले २÷२ तथा करुणा भण्डारीले १ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिईन् । टी–ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।

सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन् । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको हो ।

अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।

नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ