टी–२० सिरिजः कतारमाथि नेपालको ऐतिहासिक क्लिन स्विप

टी–२० सिरिजः कतारमाथि नेपालको ऐतिहासिक क्लिन स्विप

mahila-cricket

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको ३ खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको छ ।

बिहीबार कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको अन्तिम टी–२० मा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो बनाएको हो ।

नेपालले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ मात्र रन जोड्न सक्यो । जसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १–१ विकेट हात पारे । यसअघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

यो टी–२० राष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । नेपालको लागि सीता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ७२ बलमा ७ चौका प्रहार गरिन् । यता ज्योति पाण्डेले २४ रन र डोली भट्टले १२ रन बनाए, भने काजल श्रेष्ठ १२ रनमा आउट भइन् । सरिता मगर १७ रनमा अविजित रहिन् ।

त्यस्तै कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १–१ विकेट लिए ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।

पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।

एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ