‘उपनिर्वाचनबाट निर्वाचित बनेपछि थालेका काम र रविन्द्रका सपना पूरा गर्ने धोको’

‘उपनिर्वाचनबाट निर्वाचित बनेपछि थालेका काम र रविन्द्रका सपना पूरा गर्ने धोको’

7

पोखरा, १ मंसीर । तत्कालीन सांसद तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन पछि २०७६ मा भएको उपनिर्वाचनमा कास्की २ मा विद्या भट्टराई उम्मेदवार बनिन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई हराएर उनी सदन गइन् ।

अहिले उक्त सदनको कार्यकाल सकिएको छ, नयाँ निर्वाचन संघारमा छ । यसअघिको सदनमा सबैभन्दा बुलन्द आवाज उठाउने सांसदमध्ये एक थिइन्, विद्या भट्टराई । ५ वर्षे कार्यकालमा साढे २ वर्षमात्र सांसद भएकी विद्याले सदनमा जनताका सामान्य तर निकै महत्वपूर्ण विषयहरुलाई उठान गरिन् । उठान मात्र गरिनन्, समस्या हलका लागि पटकपटक नेतृत्वलाई घच्घचाइन् ।

विद्या उम्मेदवार बनेको क्षेत्र रविन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्र हो । रविन्द्रले यस क्षेत्रका लागि देखेका सपना पूरा गर्न आफू एक कार्यकाल सांसद बन्न चाहेको विद्या बताउँछिन् । उपनिर्वाचनबाट निर्वाचित बनेपछि थालेका काम र रविन्द्रका सपना पूरा गर्ने आफ्नो धोको रहेको उनको भनाइ छ । विद्यार्थी राजनीतिबाट उदाएकी भट्टराई २०५६ मा अधिकारीसँग बिहे गरेपछि क्रमशः पर्दा पछाडि पुगिन् । परिस्थितिले राजनीतिक मैदानमा उतारेको उनको ठम्याई छ ।

अहिले विद्या चुनावी घरदैलोमा व्यस्त छिन् । उनी कसैलाई नपिरी, नचिढ्याई, गाली नगरी सबैको प्यारा भएर रवीन्द्रले जसरी जिते, उसैगरि कोहि प्रतिष्पर्धी पार्टी र उम्मेदवारलाई गाली नगरी चुनावी अभियान जारी राखेको बताईन् । एमाले विरुद्ध गठबन्धन भएका बेला पनि आफू जित्न सक्ने उनको आत्मविश्वास छ ।

रवीन्द्रका नाममा बिरासतको राजनीतिको गरेको भन्दै गठबन्धन दलले अराजनीतिक टिप्पणी गरेकोमा उनको गुनासो छ । ‘विद्या भट्टराईको राजनीतिक जीवन र योगदानबारे थाहा पाउन म आग्रह गर्दछु,’ उनले भनिन्, ‘म रवीन्द्र पत्नी भएको कारण मात्र पार्टीले अघि सारेको होइन । म आफैं सक्षम छु ।’ उनले आफू सक्षम रहेको भन्दै ३३ वर्षदेखि राजनीतिमा अनवरत रहेको बताईन् । रवीन्द्रलाई राष्ट्रिय राजनीतिमा अग्रपंक्तिमा लैजान सहयोग पुर्याउन पर्दापछाडि रहेपनि राजनीतिबाट अलग नभएको स्पष्ट पारिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ