पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

khel

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन् । गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए ।

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ र इ सेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाइले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिए ।

‘खेल र खेलाडीलाई सम्मान गर्न १९ वर्षदेखि आयोजना हुनु सह्रानीय काम हो । मेरो व्यक्तिगत तर्फबाट पनि यस कार्यका लागि धन्यवाद भन्न चाहन्छु । यो आयोजना अझ राम्रोसँग अघि बढोस भन्ने शुभकामना दिन चाहन्छु । एनएसजेएफसंग इ–सेवाको यो तेस्रो वर्षको हो । पिपल्स च्वाइस अवार्ड खेलप्रेमी समर्थकहरूले खेलाडीहरूप्रति देखाउने मायाको माध्यम हो ।’ इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।

यो वर्षको अवार्ड ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् । यो अवार्डको मुख्य प्रायोजन हंसराज हुलासचन्द एण्ड कम्पनी हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds