स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा

स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा

magar bhasha pratisthan

स्याङ्जा । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ४, ओरष्टे, कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा सम्पन्न भएको छ ।

२४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा मगर भाषाको विषय अध्यापन भइरहेको जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा “मातृभाषामा शिक्षा ः अवसर र चुनौती” विषयक अन्तरक्रिया समेत सम्पन्न गरिएको छ । ९९ प्रतिशत मगर समुदायका बालबालिका अध्ययनरत सो विद्यालयमा २०७३ सालदेखि मगर भाषाको पठनपाठन सुरु गरिएको शिक्षक लेखबहादुर आलेमगरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बिरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्माले विद्यालयमा मगर भाषाको पठनपाठनको निरन्तरताका लागि पालिकाले सक्दो सहयोग गर्ने वचन दिए । मातृभाषाको शिक्षासम्बन्धी पालिकास्तरीय कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष शर्माले पालिकाका मातृभाषी बाहुल्य विद्यालयमा यस विषयलाई अघि बढाउन सकिने धारणा व्यक्त गरे । अभिभावकले चाहेमा मातृभाषाको पठनपाठनलाई सहयोग गर्न पालिका तयार रहेको भन्दै उनले संविधानले दिएको हकअधिकार प्रयोग गर्ने कुरामा पछि नहट्न समेत आग्रह गरे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख कृष्णप्रसाद पौडेलले बालबालिकाका अभिभावकलाई मातृभाषाको शिक्षाको महत्वबारे बुझाउनुपर्ने आवश्यकता औंल्याए । मगर भाषाको विकासका लागि समुदायले पहिलो चासो दिनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायले पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । गण्डकी प्रज्ञा–प्रतिष्ठानले गण्डकी प्रदेशमा बोलिने मातृभाषाको संरक्षण र विकासका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको भन्दै प्राज्ञ पौडेलले मातृभाषा प्रशिक्षण र पठनपाठनका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने भनाइ राखे ।

नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा बचाउनका लागि जान्नेले भाषा बोल्नुपर्ने भन्दै बोल्न नजान्नेले सिक्नुपर्ने आवश्यकता औंल्याए । मगर भाषा मगर जातिको पहिचान भएको भन्दै उनले मातृभाषालाई लोप हुनबाट जोगाउन समुदायले नै विशेष चासो दिनुपर्ने बेला आएको बताए । तीनै तहका सरकारले मातृभाषाको संरक्षण र विकासका लागि आवश्यक योजना निर्माण र बजेटको व्यवस्था गर्नुपर्नेमा समेत उनले जोड दिए ।

मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय भाषिक उपाध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, मगर भाषा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष निर्मल थापामगर, पूर्व अध्यक्ष एवं सल्लाहकार रूद्रबहादुर हितानमगर, विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले मगर भाषाको संरक्षण र आवश्यकताबारे बोलेका थिए । सो अवसरमा मगर भाषा प्रतिष्ठान, कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर र सचिव मीना थापामगरले कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको थियो ।

९९ प्रतिशत मगर जातिको बसोबास रहेको सो ठाउँमा मगर भाषा भने नबोलिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानकी थापामगरले जानकारी दिए । अध्यक्ष थापामगरका अनुसार सो विद्यालयमा ३१ जना मगर समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँच सम्म अध्यापन हुने सो विद्यालयमा मगर भाषाको विषय पठनपाठनका लागि विशेष भूमिका निर्वाह गरेको भन्दै शिक्षक लेखबहादुर आलेमगरलाई कार्यक्रममा मगर भाषा प्रतिष्ठान कास्कीले सम्मान गरेको थियो । त्यस्तै, विद्यार्थीहरूलाई मगर भाषा प्रतिष्ठान कास्की र गण्डकी प्रज्ञा–प्रतिष्ठानको तर्फबाट स्टेशनरी समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ