पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ ।
सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि मागी खाने भाँडो भएको बताए ।
“यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको छ । काँग्रेस, एमाले र माओवादी मिलेर देश बेचिसके । देशको अस्मिता जोगाउने जिम्मेवारी अब हाम्रो काँधमा छ ।”, उनले भने ।
गुरुङले संघीयता देशका लागि घातक साबित भएको उल्लेख गरे । खासगरी उनले प्रदेश संरचनाको औचित्य माथि प्रश्न उठाएका हुन् । उनले काँग्रेस, एमाले र माओवादी लगायतका दललाई देशको चिन्ता नभएको बताए । तीन करोड नागरिकको भविष्यमाथि खेलवाड भइरहेको अभिव्यक्ति उनको छ । देशलाई गणतन्त्र नभई प्रजातन्त्रको आवश्यकता रहेको उनले बताए ।
नागरिक सच्चिएर परिवर्तनको बाटो तर्फ अग्रसर हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पार्टीलाई बलियो बनाउन केन्द्र देखि वडा तहको संरचनालाई बलियो बनाउनुपर्ने भनाई उनको छ । “हिजो हाम्रो देश विदेशका नागरिकलाई रोजगार दिने देश थियो । आज हाम्रा युवा साथीहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । यो कस्ले बनायो ? आजको गणतन्त्रवादीहरुले । त्यसैले यो गणतन्त्र सबैका लागि अभिसाप भएको छ ।”
गण्डकी प्रदेश सांसद विन्दु पहारीले गणतन्त्र पार्टीको सिद्धान्त विपरित भएको बताइन् । उनले जाती र धर्मका नाममा अहिले देश टुक्राउने खेल भएको उल्लेख गरिन् । “जाती र धर्मका नाममा देश टुक्राउने खेल भएको छ । यसमा हामी सचेत हुनुपर्छ । देश जोगाउने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ । सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।”
राप्रपाका केन्द्रिय सदस्य डा.महेन्द्र बहादुर कार्कीले गणतन्त्रवादीहरुलाई राष्ट्रबाट लखेट्नुपर्ने बताए । उनले पार्टी सुदृढिकरणमा केन्द्र देखि वडा स्तरमा नै सुधार आउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
केन्द्रिय सदस्य जयलाल पुनले काँगे्रस, एमाले र माओवादी विदेशको एजेण्ट भएको उल्लेख गरे । उनले भने, “काँग्रेस, एमाले र माओवादी विदेशका एजेण्ट हुन् । चीन, भारत, अमेरिका लगायतका बाह्य मुलुकले उनीहरुलाई परिचालन गरेका छन् । देश बेचेर उनीहरुले खाइसके । हामी सचेत हुन आवश्यक छ ।”, उनले भने । राप्रपाको सिद्धान्त बिना देश अगाडि नबढने भनाई उनको छ । प्रत्येक वडामा संगठन विस्तार गरी राप्रपालाई अझ सशक्त बनाउँदै लैजानुपर्ने उनले बताए ।
महिलाहरुको प्रतिनिधित्व गर्दै सुशिला केसी अधिकारीले देशमा राजा किन भन्ने विषयलाई युवाहरु माझ लानुपर्ने आवश्यकता रहेको बताइन् । युवाहरुको प्रतिनिधित्व गर्दै राप्रपाका केन्द्रिय सदस्य अर्जुन खनालले गणतन्त्रका मतियारहरुले राष्ट्रियता माथि प्रहार गर्दै गणतन्त्र दिवस मनाएको बताए । उनले देश बेच्ने दलालीहरुको बिगबिगी रहेको उल्लेख गरे । देशको अस्मिता माथि प्रहार हुँदा राप्रपा अब चुप लागेर बस्न नहुने भनाई उनको छ । छोटे राजाहरुको हालीमुहालीले देश खोक्रो बनेको उनले बताए ।
राप्रपा पोखरा महानगरपालिकाका अध्यक्ष महेश्वर आचार्यले २०८४ को आम निर्वाचनमा दुई तिहाई ल्याएर राप्रपाको एकल सरकार बनाउने र गणतन्त्र दिवस खारेज गर्ने ध्येयका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
राप्रपा महिला संघकी केन्द्रिय महासचिव रञ्जु सेनले हिजोको गल्तीलाई सच्याउँदै आगामी योजना तय गर्नुपर्ने बताइन् । भातृसंस्थाहरुलाई बलियो बनाए नै पार्टी बलियो हुने भन्दै उनले आफुहरु नेताको झोले नभई पार्टीको सिद्धान्त र विचारमा अडिक रहेको उल्लेख गरिन् । राप्रपा भूपूसैनिक संघका अध्यक्ष गणेश बहादुर पौडेल क्षेत्रीले गणतन्त्रको नाममा लुटपाट मच्याउने हरुलाई धपाउनुपर्ने बेला आएको बताए । गणतन्त्र मुर्दावाद प्रजातन्त्र जिन्दावाद भन्दै फुटेर नभई जुटेर लाग्न उनको अनुरोध छ ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले युवाहरुलाई पार्टी भित्र आर्कषित गराई परिमार्जित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टी भित्र अनुशासन कायम हुनुपर्ने भन्दै आफुहरु नविन राप्रपाको अभियानमा दत्तचित्त भएर लागिरहेको भनाई उनको छ ।
सो अवसरमा ४५ जनाले राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रवेश गर्दै सुरज हमालले पार्टीको सिद्धान्त र विचार मन परेका कारण नै आफु आबद्ध भएको उल्लेख गरे ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले संचालन गरेको कार्यक्रममा राप्रपा युवा संघ कास्कीका अध्यक्ष सोपन भूजेल र राप्रपा कास्कीका उपाध्यक्ष शालिकराम घिमिरे लगायतले बोलेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना आज भन्दा ३४ वर्ष अगाडि २०४७ साल जेठ १५ गते भएको थियो ।
सम्बन्धित खबर
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ