‘पुतली बाजे’को अन्त्येष्टि, पुतली संग्रहालय परिसरमै अन्तिम श्रद्धाञ्जली [तस्वीर]

अलबिदा 'पुतली बाजे'

‘पुतली बाजे’को अन्त्येष्टि, पुतली संग्रहालय परिसरमै अन्तिम श्रद्धाञ्जली [तस्वीर]

राष्ट्रिय झण्डा र महानगरको झण्डा ओढाएर सम्मान

Putali Baje (1)

तस्वीरः प्रेम थापा

स्वर्गीय कलिन स्मिथ ‘पुतली बाजे’ को सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । बेलायती नागरिक तथा सम्मानित नेपाली नागरिक उनको क्रिश्चियन परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख डा. जर्ज जोन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, पृथ्वीनारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. मीनराज लम्साल, एमाले नेता रश्मी आचार्य, कवि रमेश श्रेष्ठ, एक्यापका प्रमुख डा. रबिन कडरिया, लगायतको उपस्थितिमा उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो ।

मेयर आचार्यले नेपालको झण्डा र पोखरा महानगरको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।  उनलाई अन्तिम श्रद्धासुमनका लागि उनका विद्यार्थी तथा सहपाठीको बाक्लो उपस्थिति रहेको थियो । महानगर प्रहरीले अन्तिम सलामी अर्पण पनि गरेका थिए ।

स्व. कलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण बटरफ्लाई म्युजियमको प्राङ्गणमा राखिएको थियो ।  जहाँ उनले संग्रहित गरेका नेपालमा पाइने विभिन्न प्रजातीका पुतलीहरु संरक्षण गरेर राखिएको छ । त्यसपछि शवयात्रासहित क्रिश्चियन परम्परा अनुसार उनको अन्तिम संस्कार भएको हो । सङ्ग्रहालयमा कोलिनले सङ्कलन गरेका पाँच सय ८७ प्रकारका पुतली राखिएको छ । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले  सङ्ग्रहालय व्यवस्थापन गर्दै आएको छ ।

महानगरप्रमुख आचार्यले पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको अतुलनीय योगदान रहेको स्मरण गरे । उनले भने, “नेपालको डाँडाकाँडा, भिरपाखा र पखेरा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।”

आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उनको आकाङ्क्षा अद्वितीय रहेको प्रमुख आचार्यको भनाइ छ ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पसप्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको बताए। उनले भने, “ नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्दछ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्दछ भन्ने धारणाको विकासमा स्व कोलिनले योगदान गरेको बताए । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उनको जीवन व्यतित भएको उनले स्मरण गरे ।

“कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्दछ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौँ,” कडरियाले भने ।

पुतली बाजेको शनिबार बिहान ८७ वर्षको उमेरमा उपचारका क्रममा हरियो खर्क अस्पतालमा निधन भएको हो । सन् १९३६ मा जन्मिएका कलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । त्यसपछि ५७ वर्ष उनी नेपाल रहे । पोखरालाई नै घर बनाए । ३० वर्ष अघिदेखि उनले नेपाली नागरिकताका लागि आवेदन दिए । आजभन्दा ४ वर्षअघि २०७६ सालमा मात्र उनलाई सम्मानित नागरिकता प्रदा नगरिएको थियो ।

सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन् । नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर सात सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन् ।

पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनले अतुलनीय योगदान गरेका छन् । कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षणसमेत गरे ।

कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानित नागरिकको दर्जा दिँदै सम्मानार्थ नागरिकता समेत प्रदान गरेको हो । नेपाल सरकारबाट सम्मानार्थ नागरिकता पाउनेमा उनी भूगोलविद टोनी हेगन, सगरमाथा आरोही एडमन्ड हिलारी पछिका तेस्रा व्यक्ति बने ।

उनी विगत लामो समयदेखि पोखरा १८ लामागाउँमा बस्दै आएका थिए । पेटको रोगबाट ग्रसित स्मिथ लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत थिए । जहाँ उनले शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देह त्याग गरे ।

तस्वीर: प्रेम थापा

सम्बन्धित समाचारः

रहेनन् ‘पुतली बाजे’, ८७ वर्षमा अस्ताए

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ