विश्व एड्स दिवस विविध जनचेतनामूलक कार्यक्रम

‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’

विश्व एड्स दिवस विविध जनचेतनामूलक कार्यक्रम

नेपालमा ३० हजार बढी एचआईभी संक्रमित, गण्डकीमा झण्डै ३ हजार उपचाररत

HIV aids press meet (1)

पोखरा । शुक्रबार डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस । नेपालमा पनि ३६ औं एड्स दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकार, प्रदेश सरकार, सरोकारवाला सरकारी तथा गैरसकारी संस्थाले संयुक्त रुपमा पोखरामा पनि यो दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेको हो ।

राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालले पोखरामा विहीबार पत्रकार सम्मेलन आयोजना गरी दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने जानकारी दिएको हो । महासंघका केन्द्रीय सदस्य मनोज कुमार गुरुङका अनुसार शुक्रबार बिहान साइकल र्‍याली हुनेछ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट सुरु हुने र्‍याली न्यूरोड हुँदै लेकसाइड पुगेर समापन गरिनेछ ।

यस्तै, ४५ जना एचआईभी संक्रमित बालबालिकालाई स्वास्थ्य निर्देशनालय गण्डकीको सहयोगमा न्यानो कपडा वितरण गरिनेछ । उच्च जोखिम क्षेत्र बसपार्क एरिया, पृथ्वीचोक र लेकसाइड क्षेत्रमा स्टल राखेर एचआईभी परीक्षण पनि गरिनेछ । साथै, सचेतनामूलक पर्चा, पम्प्लेट, ब्रोसर वितरण गरिने कार्यक्रम छ ।

दिउँसो ३ बजे बसपार्कमा स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक लगायतको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु गरिने महासंघका गण्डकी प्रदेश सुपरभाइजर शान्तबहादुर रानाले जानकारी दिए ।

डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘समुदायको नेतृत्वमा एड्स  अन्त्य गरौँ’ रहेको छ ।

विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित पत्तालागेदेखि २०२२ को अन्त्यसम्म ८ करोड ५६ लाख व्यक्तिहरु एचआईभी संक्रमित भइसकेका छन् । तीमध्ये ४ करोड ४ लाख व्यक्तिहरुको मृत्यु भइसकेको छ । गत वर्षसम्म ३ करोड ९० लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ । विश्वमा हरेक दिन ३६ सय मानिसहरु एचआईभी संक्रमित हुने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा गत वर्षसम्म ३० हजार व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ । गण्डकी प्रदेशमा कूल २ हजार ८ सय ३६ जना अस्पताल पुगी औषधि सेवा लिनेको संख्या रहेको छ ।

तथ्यांक अनुसार नेपालमा हरेक दिन १ जना व्यक्तिमा एचआईभी संक्रमण हुने गरेको छ । यद्यपी, पछिल्लो समय संक्रमण दरमा कमी आएको रेकर्ड छ । नेपालमा सने २३० सम्मा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ ।

सरकारले सन् २०३० भित्र पूर्ण नियन्त्रण हुने गरी एड्स रोग नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । केन्द्रले एड्स रोगबाट बच्न सावधानी अपनाउन पनि सबैलाई आह्वान गरेको छ ।

प्रत्येक वर्ष एचआइभी–एड्सको रोकथाम, हेरचाह र उपचार सेवाका लागि यो दिवस मनाउने गरिन्छ । केन्द्रीय सदस्य मनोज कुमार गुरुङले आफू पनि २०–२२ वर्षदेखि एचआईभी संक्रमित अवस्थामा सहज जीवनयापन गरिरहेको बताउँदै यसका लागि समुदायले सकारात्मक नजरले हेर्न अनिवार्य रहेको बताए ।

‘यस वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने छ । अर्थात्, समुदायले संक्रमितलाई स्वीकार गरी सहज जीवनयापनका लागि सघाएमात्रै पनि संक्रमितमा हौसला बढ्छ र उसले सहजै जीवन जिउन सक्छ ।’ उनले भने – ‘संक्रमितहरुलाई नडराइकन गाडि आएर निरन्तर औषधि सेवन गर्न मेरो सुझाव छ । हामी खुलेर आउनेहरु अझै पनि स्वस्थ भएरै बाँचिरहेका छौँ ।’ गुरुङले यस क्षेत्रमा सबैभन्दा पहिले सार्वजनिक भएको पनि स्मरण गरे । उनले आफू, आनन्द आले (क्यानडा), सुरेश लामा तीन जना पुनर्स्थापना केन्द्रबाट बाहिरिएपछि एड्स संक्रमितका रुपमा सार्वजनिक भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा एचआईभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ अन्तर्गत सीएलएम प्रोजेक्ट, कास्कीका फोकल पर्सन प्रतिक शेरचनले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागूपद्धार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदीहरु, पुरुष समलिंगीहरु तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु हुन् । यी मध्ये सुईद्वारा लागुपद्धार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ । असुरक्षित यौन सम्पर्कपछि समयमै औषधि प्रयोग गर्न सके एचआईभी संक्रमणबाट बच्न सकिने पनि उनले बताए ।

उनले भने – ‘औषधि सेवन गरेमा सर्न र ज्यान जानबाट जोगाउन सकिन्छ । समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्थामा पुग्नुपर्दैन । र, एड्स लागिसकेपछि पनि नियमित औषधिले भाइरल लोड कम गर्दै भाइरसलाई निष्प्रभावी बनाउन सकिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ