भीरकोटमा भत्ता पचाउन न्यायिक समितिको अनेक हर्कतः कानुनको खिल्ली उडाउँदै लाखौँ रकम खर्च

कुशासन

भीरकोटमा भत्ता पचाउन न्यायिक समितिको अनेक हर्कतः कानुनको खिल्ली उडाउँदै लाखौँ रकम खर्च

कार्यविधि विपरित मनलाग्दी बैठक, दिनमै तीन पटकसम्म

Bheerkot-NP-Syj

नेपालको संविधानले पालिकाभित्र विवाद समाधान र कानुनी सचेतनामार्फत न्याय प्रवाह गर्ने जिम्मा दिएको न्यायिक समिति पनि स्याङ्जाको भीरकोटमा ‘भत्ता खाने मेसिन’ बन्न पुगेको खुलासा भएको छ ।

संविधानको धारा २१७ अनुसार तीन सदस्यीय समिति बनाइनुपर्ने भए पनि यहाँ बैठकको नाममा १४ जनाले भत्ता बुझेका छन् । अझ अचम्म त के छ भने, कार्यविधि नै नबनाई मनपरी रूपमा बैठक देखाएर भत्ता बाँडिएको पाइएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा २१ वटा मुद्दा टुंग्याइएकोमा २१ पटक बैठक देखाएर कुल ९२ हजार ६५० रुपैयाँ बैठक भत्ता लिइएको छ । यति मात्र होइन, एकै दिन तीन–तीन पटकसम्म बैठक बसाएको देखाएर भत्ता खाने चलनले कानुन भन्दा बढी भत्ता प्राथमिकता पाएको प्रष्ट हुन्छ ।

भीरकोट नगरपालिकाकी उपप्रमुख एवं न्यायीक समिति संयोजक भगवती रेग्मी अर्याल, सदस्य श्यामकाजी अधिकारी र नन्दलाल खनालले मात्र १७ हजार ५ सय रुपैयाँ पाएको र न्यायिक सहजकर्ता शान्ति कुमारी ढुङ्गानाले १० तथा रोशनी बरालले १४ गरी २४ वटा बैठकसम्मको भत्ता बुझेको पाइएको छ । तर समितिले जम्मा २१ बैठक मात्रै बसेको थियो ।

यसैगरी, कार्यालय सहयोगी, नगर प्रहरी, लेखा अधिकृतदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मलाई पनि बैठकमा ‘हाजिर’ गराएर भत्ता बाँडिएको छ । प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुलीले समेत पाँच बैठकमा मात्र उपस्थित भएर नौ वटा बैठकको भत्ता बुझेका छन् ।

भत्ता खानकै लागि ‘बैठक’

भदौ ५ र फागुन १७ गते तीन–तीन पटकसम्म बैठक देखाएर भत्ता खाइएका छन् । असार १८ गतेको बैठकमा त ८ जनासम्म उपस्थित देखाइएकाले एकै दिन ८ जनाले भत्ता पाएका छन् ।

न्यायिक समितिका सदस्य नन्दलाल खनालले आफूलाई अकस्मात् भत्ता आएको र पछि फिर्ता गरेको स्वीकार गर्दै कार्यविधि नै नबनाई भत्ता खाएको गल्ती भएको बताएका छन् । तर संयोजक रेग्मी अर्यालले भने “अन्य पालिकामा खाइएकाले हामीले पनि खायौं” भन्ने जवाफ दिएकी छन् ।

तालिम पनि भत्तामै लठ्ठ

मेलमिलापकर्ताहरुलाई एक दिने पुनर्ताजगी तालिममा समेत भत्ताको खेल भएको छ । तालिममा १५ जना मात्र मेलमिलापकर्ता सहभागी भए पनि ५६ जनाले यातायात खर्च बुझेका छन् । यसरी ‘भरपाई’ मार्फत २६ हजार ६५० रुपैयाँ वितरण गरिएको छ ।

न्याय र मेलमिलापको नाममा बनेको समिति भत्ता बाँड्ने निकायमा परिणत हुनु न्यायिक समितिको उद्देश्य र संविधानकै खिल्ली हो । भीरकोटमा देखिएको यो चरम लापरबाहीले कानुनी शासन भन्दा बढी ‘भत्ता शासन’ चलिरहेको प्रमाणित भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds