स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ६ चिन्नेवासमा निर्माण गरिएको बिरुवा आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको उद्घाटन गर्दै सेवा विस्तारका लागि प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जनाए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन अस्पताल महत्वपूर्ण आधार बन्ने बताए । अस्पतालले ओपीडी, आकस्मिक सेवा, एक्स–रे, भिडियो एक्स–रे, सिबिसी, एलएफटी, आरएफटीलगायतका प्रयोगशाला परीक्षण सेवा नियमित रूपमा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँमै स्वास्थ्य चेतना वृद्धि, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गराउन अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले बताए । “स्वस्थ नागरिक नै विकासको मेरुदण्ड हो, अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट अझ सुदृढ बनाउँदै लैजानेछौँ,” अध्यक्ष कुँवरले भने । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि पोखरा वा अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।
सञ्चालनमा आएको अस्पतालको भवन साबिक चिन्नेवास गाविसका स्थानीयहरू संगठित भएर स्थापना गरेको “सामाजिक विकासका लागि सहयोगी हातहरू” नामक संस्थाले निर्माण गरी चिन्नेवास स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको थियो । त्यसै भवनलाई आवश्यक भौतिक पूर्वाधार थपेर अस्पतालका रूपमा विकास गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा आवश्यक थप पूर्वाधार निर्माण गरी १० बेड क्षमताको यो अस्पताल सञ्चालनमा ल्याएको हो । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल सहयोगी संस्था र पालिकाको संयुक्त लगानीमा एक करोड ७४ लाख ८० हजार रुपैयाँ खर्च गरेर निर्माण भएको हो ।
अस्पतालमा हाल एमबीबीएस डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फार्मेसी सुपरभाइजरसहित नौ जना स्वास्थ्यकर्मी कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले जानकारी दिए । आकस्मिक सेवा, गर्भवती महिला तथा बालबालिकाको उपचार गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता आएको उनले बताए ।
गाउँपालिकाले आगामी वर्ष अस्पतालमा अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको छ । यसले बिरुवाबासीको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?