बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ। हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याई नभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ। पैसा भएपनि भने जस्तो सहज यात्रा भने ती यात्रुहरुले गर्न पाएका छैनन्।
यात्रा निकै कष्टकर र महंगो पनि छ तर दशैंमा परिवार, आफन्त तथा ईष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुदैन।
कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अँझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ तथापि घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहानाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ।
अमेरिका, युरोप भन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कने प्रदेशीहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिडिरहेका छन्।
वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि दसैँ तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन्।
भारत बैंगलोरबाट घर फर्केका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलहालबाट गाउँ फर्कदाँ शान्तिभूमि पुगेको अनुभूति भएको बताए।
दसैँ मनाउन आफु गाउँ पुगिसकेको बताउँदै उनले भने, ‘गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन्। बिडम्बना, सहरमा घरहरु जोडिएका भएपनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ। मानव सम्बन्धमा दरार जस्तो देखिन्छ।’
उनले दसैँको यो अवसरमा सहर भन्दा गाउँमा निकै रमाईलो सुरु भएको बताए। शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरुहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पीङ खेल्दै र दुःख सुख बाँड्दै रमाईलो लिने काम भइरहेको छ।
यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ।
यद्यपि काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ।
सुर्खेत—दैलेख—कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गर्नुभएका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगेको बताउए।
परियारले भने, ‘दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिड्नु पनि पर्यो। आज बिहान मात्र घर पुगिएको छ। सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ। मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ।’
नागरिकहरु दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्के पछि सहरमा मानसिहरुको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ।
सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ। विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ। ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुखाईलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताए।
‘रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,’ उनले भने, ‘सामाजिक अपराध, चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाँउ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभास हुन्छ।’
यात्रु सिंहले यतिबेला सहर भन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादशैंको बहारले उमंगित र रंगीन बन्दै गएको बताए।
सम्बन्धित खबर
‘दसैँ गाउँमा नै रमाइलो’
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो