पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा पर्यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मार्यो। तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।
आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो ।
बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पार्यो ।
नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।
महिलातर्फ म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा एपीएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।
एपीएफले पहिलो सेट २५–१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २–० को अग्रता बनाएको थियो ।
तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।
महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको थियो ।
प्रतियोगिताका अधिकांश खेल ३–० मै टुंगिएका थिए । प्रतियोगिताअवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो