देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

म्याद थपेर चैतभित्र सक्ने दाबी

ramdi-pul-new-pic-scaled-1-960×570

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदीको रामनदी (राम्दी) पुल निर्माण सुस्त गतिमा अघि बढिरहेको छ । तीन वर्षभित्र सक्ने गरी सुरु गरिएको देशकै पहिलो नमुना मोटरेबल पुल सम्झौतामै तोकिएको समय सकिँदा अझै २५ प्रतिशत काम अधुरो रहेको छ ।

विसं. २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनले पुल सेक्टर पोखरासँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा सम्झौता गरेको थियो । तर, अहिले पुलको आर्च, फाउन्डेसन र पिल्लर हाल्ने काम मात्रै सम्पन्न भएको छ । हाल ह्याङगर बनाएर हाल्ने अन्तिम चरणको काम भइरहेको पुल सेक्टर पोखराका इन्जिनियर विनोद पौडेलले बताए ।

उनका अनुसार नयाँ डिजाइनका कारण सुरुवातमै एक वर्ष ढिलाइ भएको थियो । “थाइल्याण्डका डिजाइनरले तयार पारेको सीएफएसटी स्टिल ट्युब आर्च ब्रिज नेपालकै पहिलो हो,” पौडेलले भने, “सेलेप (स्टिल आर्चका भाग) भारतमा निर्माण गर्नुपरेकोले समय लागेको हो ।”

निर्माण कम्पनीले हालसम्म १३ करोड १२ लाख ९२ हजार रुपैयाँ भुक्तानी पाइसकेको छ भने थप पाँच करोड ५४ लाख २१ हजारको माग गरेको छ । सम्झौताको अवधि सकिएपछि कम्पनीले पुल सेक्टर पोखरासँग आगामी चैत ३१ गतेसम्म म्याद थपेको छ ।

यो पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर लामो नयाँ पुल ४० मेट्रिक टन भार बहन गर्न सक्षम हुनेछ । २०२२ सालमा थालिएको र २०२८ सालमा तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेको पुरानो पुलको पूर्वपट्टि नयाँ नमुना पुल निर्माण भइरहेको हो ।

पुल पूरा भएपछि राम्दी हुँदै स्याङ्जा, पाल्पा र गुल्मी तर्फको यातायात सहज हुने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ