काठमाडौँ — गोवास्थित आफ्नै निवासमा गम्भीर हृदयघात (कार्डियाक अरेस्ट) भएपछि उपचारका लागि अस्पताल लगिएका अभिनेता नाना पाटेकरको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार बिहान ५:२० बजे डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन्।
अस्पताल स्रोतका अनुसार अचेत अवस्थामा अस्पताल पुर्याइएका नानालाई बचाउन चिकित्सकहरूले करिब ४५ मिनेटसम्म लगातार ‘सीपीआर’ दिई बचाउने प्रयास गरेका थिए ।
सन् १९७८ मा फिल्म ‘गमन’बाट बलिउडमा अभिनय यात्रा सुरु गरेका नानाले चार दशकभन्दा लामो करियरमा तीन पटक प्रतिष्ठित ‘नेसनल फिल्म अवार्ड’ जितेका छन्।उनी फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेता (क्रान्तिवीर), सर्वश्रेष्ठ सहायक अभिनेता (परिन्दा) र सर्वश्रेष्ठ खलनायक (अङ्गार, अपहरण) गरी तीनवटै विधामा पुरस्कार जित्ने एक्ला अभिनेता हुन्।सन् २०१३ मा भारतको चौथो उच्च नागरिक सम्मान ‘पद्मश्री’ ले सम्मान गरिएको थियो ।
नाना पाटेकरले पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर ‘ओ’रोमियो’मा अभिनय गरेका थिए । यस फिल्ममा शाहिद कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । फेब्रुअरी २०२६ मा रिलिज भएको यस फिल्ममा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरो प्रमुख इस्माइल खानको भूमिका निभाएका थिए ।
त्यस्तै अनिल कपूरको ‘सुबेदार’ मा पनि पाटेकरले अभिनय गरेका थिए । उक्त फिल्म प्राइम भिडियोमा मार्च २०२६ मा प्रिमियर भएको थियो । त्यसअघि उनी ‘हाउसफुल-५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिएका थिए । पाटेकरले २०२६ मा प्रकाश झाको राजनीतिक ड्रामा सिरिज ‘संकल्प’बाट ओटीटीमा पनि डेब्यु गरेका थिए । उक्त सिरिजमा उनले माट साहेब/कन्हैया लालको केन्द्रीय भूमिका निभाएका थिए ।
नानाले ‘नटसम्राट’, ‘वजूद’, ‘परिन्दा’, ‘अब तक छप्पन’, ‘यशवन्त’, ‘शक्ति: द पावर’, ‘अपहरण’ र ‘ट्याक्सी नम्बर ९२११’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेर दर्शक तथा समीक्षकको मन जितेका थिए। उनले सन् १९९१ मा भारतीय सेनाको पृष्ठभूमिमा आधारित ‘प्रहार: द फाइनल अट्याक’ चलचित्रको निर्देशन र अभिनय दुवै गरेका थिए।विशेषगरी सन् २००७ को सुपरहिट कमेडी फिल्म ‘वेलकम’ र यसको सिक्वेल ‘वेलकम ब्याक’मा उनले निभाएको ग्याङ्स्टर ‘उदय शेट्टी’को भूमिका निकै लोकप्रिय छ।
अभिनेता, निर्देशक तथा समाजसेवी नाना पाटेकर (विश्वनाथ पाटेकर) को जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगड जिल्लास्थित मुरुड-जञ्जिरामा भएको हो। उनले १३ वर्षकै उमेरमा सिनेमाका पोस्टर पेन्ट गरेर र अन्य ससाना काम गरेर गुजारा चलाएका थिए। उनले मुम्बईस्थित सर जेजे इन्स्टिच्युट अफ एप्लाईड आर्टबाट कमर्सियल आर्ट्समा डिप्लोमा गरेका थिए।
नानाका पिता दिनकर पाटेकर कपडा व्यापारमा थिए र आमा निर्मला पाटेकर गृहिणी थिइन्। उनले सन् १९७८ मा बैंक अधिकृत तथा थिएटर कलाकार नीलकान्ती पाटेकरसँग विवाह गरेका थिए। पछि उनीहरू अलग बस्न थाले पनि औपचारिक सम्बन्धविच्छेद भने भएन। उनीहरूका दुई छोरामध्ये जेठा छोरा दुर्वासाको २ वर्षको उमेरमा निधन भएको थियो। कान्छा छोरा मल्हार पाटेकर चलचित्र क्षेत्रमै सक्रिय छन्।
महाराष्ट्रका खडेरीपीडित किसानहरूलाई सहयोग गर्न र आत्महत्या रोक्न उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’ स्थापना गरी अर्बौँ रुपैयाँको राहत तथा पुनर्मान कार्य गरेका थिए।करोडौँका मालिक भए तापनि उनी मुम्बईको सामान्य फ्ल्याटमा साधारण जीवन बिताउन र पुने नजिकैको फार्महाउसमा खेतीपाती गर्न रुचाउँथे।
सम्बन्धित खबर
भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
अब त्रिभुवन विश्वविद्यालयका परीक्षामा सीसी क्यामरा
यो पनि पढौँ
बेगनास तालमा डुबेर युवकको मृत्यु
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी