काठमाडौं- ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्।
अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ।
आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ, बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो । हाम्रा नानीहरूले विद्यालय पढ्न जाँदा पनि जुत्ता चाट्नुपर्ने ? दलित भनेर हेपियो, न्याय खोज्न कहाँ जानु ? सभ्य र शिक्षित बनाउन छोराछोरी विद्यालय पठाएको यस्ता घृणित कार्य त घरमै बसेका भए पनि गर्दैनथे होलान्।’
शिक्षक सुजन सुनुवारले भने जुत्ता चाट्न नलगाएको दाबी गरेका छन्। उनले खुट्टा ढोग्न लगाएको भने स्वीकार गरेका छन्। टेलिफोनमा उनले जुत्ता चाट्न लगाएको आरोप सही नभएको बताउँदै खुट्टा ढोग्न लगाउनु पनि आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।
पम्फाले भने विद्यालय गएर आफूले कुरा उठाएपछि शिक्षक सुनुवारले गल्ती स्विकार्दै माफी मागेर बाहिर नभन्न अनुरोध गरेको बताइन्। ‘सुजन सरले मेरो गल्ती भयो, माफ गर्नुहोला भन्दै यो कुरा अरूलाई नभन्नु भन्नुभएको छ,’ उनले भनिन्, ‘छोराछोरीले पढ्न जाँदा जुत्ता चाट्नुपरेको कुरा म कसरी अरूलाई नभनूँ ?’
पीडित विद्यार्थीका अभिभावकले शिक्षक सुजनलाई कारबाहीको माग गर्दै सोमबार विद्यालय र वडा कार्यालयमा उजुरीसमेत दिएका छन्। गाउँको कुरा गाउँमै मिलाउन भन्दै दबाब आए पनि आफूले उजुरी दिएको पम्फाले बताइन्।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’