आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । अफिमसहित चार जना पक्राउ परेसँगै नेपालमा हुने अफिम खेतीमा भारतीय लगानी रहेको खुलेको छ । नेपालगञ्जमा अफिम ल्याई पुर्याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो ।
“पिछा गर्दै जाँदा प्रहरीले बिहान मात्र ठूलो परिमाणमा अफिमसँगै तस्करीमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्यो”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले भने, “भारतीय तस्करको लगानीमा यहाँका पहाडी जिल्लामा अफिम खेती हुने गरेको खुलेको छ, हामी अनुसन्धान गर्दैछौँ, अहिले नै सबै भन्न मिल्दैन ।”
लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने कच्चा पदार्थ अफिम खेती नेपालका पहाडी जिल्लामा हुने गरेको छ । दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लामा लुकिछिपी अफिम खेती गर्ने गरिएको छ । नेपालमा अफिमको खेती गरी उक्त अफिम भारतमा लगेर ब्राउनसुगर बनाएर पुनः नेपालमा भित्रिने गरेको छ । जुन घातक लागुऔषध हो ।
साविकको मध्यपश्चिमका पहाडी जिल्लामा हुने अफिम तथा चरेस खेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको छ । पक्राउ परेकाले भारतीय व्यापारीले अफिमको बीउ र त्यसलाई हुर्काउने, बढाउने र प्रशोधन गर्ने तरिका सिकाएर स्थानीयलाई अवैध काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
भारतीय लागुऔषध माफियाले नेपालका दुर्गम गाउँमा अफिमको अवैध खेती विस्तारमा लगानी गरिरहेका छन् । भारतीय लागुऔषध तस्करहरुले अफिमको बीउ र पैसा नेपालको पहाडी जिल्लामा पठाउने र स्थानीयले अफिमको खेती गरेर चोप निकाली पैसा लगानी गरेका तीनै भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
भारतमा अफिमलाई ब्राउनसुगर र पाकिस्तानलगायतका मुलुकमा ह्वाइट सुगर बनाउन प्रयोग गर्ने गरिएको छ । विश्वमा सबैभन्दा बढी यसको अवैध खेती अफगानिस्तानमा हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार म्यानमारमा अफिमको खेती फस्टाएको छ । अफिम खेती, उपयोग र व्यापार विश्वमा गैरकानूनी मानिन्छ ।
नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ८४ को ६ (३) मा भएको व्यवस्थाअनुसार १०० ग्रामभन्दा माथि लागुऔषध कारोवार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।काशीराम शर्मा/रासस
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला