उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन् । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कुटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई ‘चाँडै भेटौंला’ भन्दै ट्वीट गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले सैन्य अभ्यास गरेको तस्वीर सार्वजनिक गरेको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमा आणविक निःशस्त्रीकरण सम्बन्धी वार्तामा जतिसक्दो चाँडो सहमति भएको हेर्न चाहेको पनि बताएका छन् । बैंककमा आयोजित एसियाली रक्षामन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी रक्षामन्त्री मार्क एस्परले आइतबार अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सामान्यीकरण गर्न र वार्ताको वातावरण बनाउन दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास स्थगित गरिएको बताएका थिए ।

उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ । उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुवै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।
अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिए । उनले भने– ‘कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो ।’
थाइल्याण्डको राजधानी बैंककमा एशिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरूको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरे । उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुवै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए ।
स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुवै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो । वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।
उत्तर कोरियाले तीन दिनको अन्तरालमा दुई वटा सैन्य अभ्यास गरेको प्रचार गरेको छ । शनिबार प्रकाशित एक रिपोर्टमा किमले लडाकू बिमानका पाइलटहरुलाई शत्रुका अखडामा जस्तोसुकै आक्रमणका लागि तयार रहन निर्देशन दिएका थिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’