सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । साल्ट ट्रेडिङ कर्पोरेसन्ससँग करिब १ हजार टन मात्रै मौज्दात भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ ।
सरकारी मौज्दात घट्दै गएकोबारे जानकार चिनी उद्योगीहरूले मूल्य बढाएका हुन् । उनीहरूले फ्याक्ट्री गेट मूल्य २ रुपैयाँ बढाएका छन् । ‘पाँच दिनअघि प्रतिकिलो ७८ रुपैयाँ (भ्याटसहित) मा खरिद गरिरहेका थियौं, अहिले प्रतिकिलो ८० रुपैयाँ परेको छ,’ होलसेल व्यवसायी सञ्जय फुयालले भने, ‘सबै उद्योगी मिलेर एउटै रेट बनाए । एक हिसाबले सिन्डिकेट नै हो ।’ उनका अनुसार विगतमा चिनी उद्योगीहरूले फरकफरक मूल्य राख्ने गरेका थिए ।
होलसेलमा प्रतिकिलो ७८ रुपैयाँ हुदा खुद्रा व्यवसायीले प्रतिकिलो ८१–८२ रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले सर्वसाधारणलाई ८५ देखि ८७ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । फ्याक्ट्री मूल्य बढेपछि सर्वसारधणलाई प्रतिकिलो ९० रुपैयाँभन्दा बढी पर्ने खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘उद्योगीले बढाएपछि त्यसको असर एक–दुई दिनमै होलसेलमा देखिन्छ, त्यसैको आधरमा खुद्रामा बढ्ने हो,’ श्रेष्ठले भने ।
अहिले उखुको सिजन हो । उद्योगीहरूले धमाधम उखुको क्रसिङ गरिरहेका छन् । क्रसिङ चैतसम्म हुन्छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकिसकेको छ । गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ बढाएपछि उद्योगीहरूले पनि चिनीको मूल्य बढाएका हुन् ।
यद्यपि सरकारले तोकेकै मूल्य सबै किसानले पाएका छैनन् । बिक्री भएको उखुको मूल्य पाउन धर्ना दिनुपर्ने बाध्यता भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ‘चिनीको मूल्य बढेको बढ्यै छ तर किसानले कहिलै उचित मूल्य पाउँदैनन्,’ उनले भने । चिनी उत्पादक संघका महासचिव राजेश केडियाले १र२ रुपैयाँ घटबढले फरक नपर्ने बताए । ‘चिनीको गुणस्तर, खरिद गर्ने क्रममा डिपोजिटमा पनि फरक पर्छ । अहिले ७६ देखि ७८ रुपैयाँसम्ममा बिक्री भइरहेको छ,’ उनले भने, ‘प्रतिकिलो १०र२० रुपैयाँ बढ्दा सोधपुछ हुन्छ । १र२ रुपैयाँ बढ्दा कुनै मान्यता हुँदैन । २र४ प्रतिशत बढ्नु सामान्य हो, त्योभन्दा बढी बढ्नु गलत हो ।’ चिनीको हकमा बजारभाउ नियन्त्रण गर्न साल्टले सहुलियत दरमा चिनी आयात गर्छ । यद्यपि यसपटक पर्याप्त कोटा नदिँदा सहुलियत चिनी अभाव भएको हो ।
साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार चाडबाडलाई लक्षित गरी ५० हजार टन माग गरिएकामा करिब २० हजार टन मात्रै स्वीकृत भएको थियो । सरकारले १० हजार टनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिए पनि आयात गर्न सकेन । त्यसपछि साल्टले थप ३० हजार टन माग गरेको थियो । ‘दसैंअघि नै माग गरेका थियौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै पत्र अर्थ मन्त्रालयसम्म पुगेको छ,’ उनले भने, ‘साल्टसँगको मौज्दातले एक दिनलाई मात्रै पुग्छ । पर्याप्त मौज्दात नहुँदा बजारभाउ बढेको देखियो ।’ हाल साल्टले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले क्रसिङको सुरुवाती चरणमै मूल्य बढ्नु शंकास्पद रहेको बताए । ‘उद्योगीहरूको कार्टेलिङ नै हो । सरकारले कार्टेलिङ तोडेर बढी मूल्य लिनेलाई कानुनी दायरामा ल्याउनुपर्यो,’ उनले भने, ‘विगतमा चिनी उद्योगीबाट सरकार नै ठगियो । सरकारले अनुगमन र नियमनमा कडाइ गर्नुपर्यो ।’ यता बजार अनुगमन गर्ने जिम्मा पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले क्षमताअनुसार अनुगमन र कारबाही भइरहेको बताए । ‘दैनिक ३र४ वटा टोलीबाट अनुगमन भइरहेको छ,’ उनले भने, ‘कसुरअनुसार कारबाही पनि गरेका छौं ।’
विभागले कारबाहीको दायरामा ल्याएको दाबी गरे पनि बजार सुधार हुन सकेको छैन । केही महिनाअघि खानेतेल, निर्माण सामग्रीको भाउ बढाएका व्यवसायीहरूले चामलको मूल्य पनि बढाएका छन् । उनीहरूले बोरामै १ सयदेखि २ सय रुपैयाँसम्म बढाएका छन् । डेढ सातायता केराउमा पनि १० रुपैयाँ बढेको खुद्रा व्यापार संघले जनाएको छ ।
आजको कान्तिपुर दैनिकबाट
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित