काठमाडौँ । दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ ।
कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।
कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ ।
बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले एसइई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो ।
एउटा गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ ।
यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।
सम्बन्धित खबर
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ