एमाले पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

एमाले पदाधिकारीमा गण्डकीबाट ४ आकांक्षी

Uml gandaki leaders

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ । पार्टी पदाधिकारीमा गण्डकी प्रदेशबाट ४ आकांक्षी छन् । १० बुँदे पक्षधर र पूर्व माओवादीका नेताहरुसहित एकताको सन्देश दिन सर्वसम्मत गर्ने भनिएकाले पनि सिधै उम्मेदवारी घोषणा गर्न अझै सकेका छैनन् । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेको र अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसम्मत नै गर्नुपर्छ भन्नेमा आफू नरहेको जनाउ दिएपछि चुनाव हुने सम्भावना पनि उत्तिकै छ ।

पार्टीका गण्डकी प्रदेश संयोजक किरण गुरुङले फेरि उपाध्यक्षकै दाबी गरेका छन् । गण्डकीका पूर्व मूख्यमन्त्रीसमेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङ साविकको पदभन्दा उपल्लो पदमा जान चाहन्छन् भने केन्द्रीय सदस्य खगराज अधिकारी र पद्मा अर्याल सचिवमा आकांक्षा व्यक्त गरेका छन् । यी सबै नेताहरु अध्यक्ष ओली समूहकै हुन् । सर्वसम्मत भएमा कसरी समेट्छन् भन्ने चासोको विषय बनेको छ । गण्डकीमा पार्टीलाई एक ढिक्का राख्न सफल भएकाले पनि गण्डकीले राम्रो स्थान पाउनुपर्ने नेताहरुको भनाई छ ।

किरण गुरुङको उपाध्यक्षमा दाबी

नेकपा एमाले गण्डकीका संयोजक एवं स्थायी कमिटि सदस्य किरण गुरुङ यसअघि नवौं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए । त्यतिवेला झिनो मतान्तरले पराजित उनी ओलीलाई अध्यक्ष बनाउन निर्णायक भूमिकामा रहेका थिए । त्यसैले यसपटक आफ्नो दाबी स्वभाविक भएको उनको ठम्याई छ ।

बामदेव गौतमलाई ओलीको लाईनमा ल्याउन पनि निर्णायक भूमिका किरणले निर्वाह गरेका थिए । घनश्याम भूषाल र योगेश भट्टराईले बामदेवलाई माधव नेपालकोको लाईनमा लैजाने प्रयास गर्दा किरणकै निर्णायक भूमिकाका कारण बामदेव ओलिको पक्षमा आउन बाध्य भएका थिए र एमालेको नेतृत्वमा ओली स्थापित भएका थिए ।

प्रादेशिक हिसाबले सन्तुलन मिलाउँदा गण्डकी प्रदेशबाट कम्तिमा दुई पदाधिकारी पाउनुपर्ने र त्यसभित्र आफू स्वभाविक हिसाबले पर्ने पनि किरणको अपेक्षा छ । समान सहभागिताको हिसाबमा १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष बाहेक प्रत्येक प्रदेशबाट दुई–दुई जना पदाधिकारी नेतृत्वमा हुनुपर्ने माग भइरहेको छ ।

नेकपा माले पृष्ठभूमिका किरण संस्थापक कमिटीमा रहेर काम गरेका थिए भने भूमिगत कालदेखि अहिलेसम्म पार्टी निर्माणमा लाग्ने नेतामध्येका उनी यहाँका पाका नेता पनि हुन् ।

पार्टीभित्रको आन्तरिक लडाईमा पनि किरणले अध्यक्ष ओलिलाई नै साथ दिदै आइरहेका छन् । यसले गर्दा पनि किरण उपाध्यक्षको प्रवल दावेदारको रुपमा देखिएका छन् । त्यसो त किरण पार्टीभित्र क्रियाशिल र सांगठानिक नेतृत्वको हिसावले पनि अरुभन्दा अग्रज नै हुन् ।
नेता किरण आफु भने पार्टी अध्यक्ष ओलिको सल्लाहमा नै आफ्नो उम्मेदवारी टुंगो लाग्ने वताउछन् । नेपाल सरकारमा वन मन्त्री भइसकेका उनी गण्डकी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

सचिव पृथ्वीसुब्बा माथिल्लो पदको आकांक्षी

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले महासचिवका लागि लबिइङ गरिरहेका छन् । यद्यपी, अध्यक्षबाहेक सचिवभन्दा माथिको जुनसुकै पदमा आफ्नो दाबी स्वतः रहने उनको भनाई छ ।

गण्डकी प्रदेशको सफल मुख्यमन्त्री भएको र सचिवको भूमिका कुशलतापूर्वक समपन्न गरेकाले महासचिवमा उनको उम्मेदवारी हुनुपर्ने माग कार्यकर्ताको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट बहिर्गमनमा परेका गुरुङले महासचिवमा दाबी गर्नु स्वभाविक छ ।

उनले सचिवमा आफूले नदोहो¥याउने तर त्योभन्दा माथिको जुनसुकै पदमा आफ्नो दाबी रहेको दोहो¥याएका छन् । ‘सचिवहरुमध्ये सफल मध्येको हुँ,’ उनले भने, ‘त्योभन्दा माथिकै पदमा उठ्छु ।’ पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने, व्यावहारिक, वैचारिक, भावनात्मक, संगठनात्मक रुपले एकताबद्ध पार्टी बनाउन आफूले सक्ने उनको भनाइ छ । ‘महासचिव भनेको टिममा अध्यक्षको मुख्य मान्छे हो । अध्यक्षको सहमति भयो र मलाई अगाडि बढाउनुभयो भने म यो काम गर्न योग्य छु र एकदमै उत्साहित छु भनेर उहाँ (ओली) लाई भनेको छु,’ उनले भनेका छन् ।

ओलीका विश्वासपात्र खगराजको सचिवमा दाबी

केन्द्रीय सदस्य खगराज अधिकारीले सचिवमा दाबी गरेका छन् । पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, अनुशासन आयोग लगायतमा रहेका काम गरिसकेका कारण पनि अब आफ्नो पदाधिकारीमा दाबी रहने अधिकारीको भनाइ छ । नवौं महाधिवेशनमा अधिकारी केन्द्रीय सदस्यमा थोरै मतान्तरले मात्रै पराजित भएका थिए ।

उनी ओलीका विश्वासपात्र हुन् । कुनै समय माधवकुमार नेपाल समूहको नेतृत्व गण्डकीमा हाबी बन्दा ओली पक्षमा रहेर गण्डकी धान्ने नेता खगराज हुन् । उनलाई गृहमन्त्री समेत बनाए । तर अदालतको आदेशले २ सातामै पदमुक्त भए ।

अध्यक्ष ओलीले लिएको नीति र उनको कमाण्डलाई आत्मसात गर्दै पार्टीका विभिन्न तहमा रहेर काम गरेको खगराज अब ताउँछन् । अब स्वभाविक हिसाबले पदाधिकारीमा आकांक्षा रहने उनको जिकिर छ ।

संघीय सरकारको स्वास्थ्यमन्त्रीसमेत भइसकेका खगराजले पार्टीभित्र सन्तुलन मिलाउन आफूले भूमिका खेल्ने बताएका छन् ।

गण्डकीकी महिला नेतृ पद्मा अर्यालको आँखा सचिवतिर

एमाले केन्द्रीय सदस्य पद्मा अर्याल पनि ओलीले पत्याएकी नेतृ हुन् । अर्याललाई ओलीले आफ्नो क्याबिनेटमा पालैसँग् दुईवटा महत्वपूर्ण मन्त्रालय दिएर राखेका थिए । पद्मा अहिले सचिवमा आकांक्षी हुन् ।

समावेशी हिसाबले सन्तुलन मिलाउँदा पनि आफू पदाधिकारीमा सर्वसम्मत हुने उनको विश्वास छ । सर्वसम्मत हुन नसके विधि, प्रक्रियाअनुसार नै अघि बढ्ने उनले बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएर काम गरेकी अर्यालले पार्टीलाई समावेशी बनाउनुपर्ने चुनौति रहेको बताइन् । परिस्थितिको मूल्यांकन गरेर आफू पदाधिकारीमा आकांक्षा राख्ने उनको भनाई छ ।

गण्डकीबाट केन्द्रीय सदस्यको आकांक्षी नेता पनि थुप्रै छन् । पूर्व खेलकुद तथा युवा मन्त्री जगत विश्वकर्मा नवौं महाधिवेशनबाटै केन्द्रीय भइसकेका हुन् । उनले फेरि केन्द्रीय सदस्य दोहो¥याउन चाहेको उनीनिकट स्रोत बताउँछ । सीता गिरी र भीम कार्की पनि केन्द्रीय सदस्य छन् । फेरि केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्छन् । प्रदेश सांसद तथा युवा नेता राजीव पहारी, प्रदेश सांसद तथा कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जाबाट प्रदेश सांसद मोहन रेग्मी, लमजुङका जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद धनञ्जय दवाडी, टुका हमाल र प्रदेश सभामा एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, तनहुँका एकबहादुर राना र टुकराम सिग्देल, बागलुङका गोविन्दबहादुर नेपाली, लीलबहादुर थापा, मना केसी, म्याग्दीका भूपेन्द्र थापा र गोरखाका नेता तथा प्रदेश सांसद रामशरण बस्नेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेताहरुमा रहेको एमाले स्रोत बताउँछ । पर्वतका पदम गिरी, बागलुङका ईन्द्रलाल सापकोटा लगायत पनि केन्द्रीय सदस्यको आकांक्षी भएको बताइन्छ ।

एमालेको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने व्यवस्था छ । १५ पदाधिकारीका लागि झण्डै दोब्बरको संख्यामा उम्मेदवार हुने देखिएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदै छ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट ४५ सदस्यीय स्थायी कमिटी बनाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ